प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा ठुलीजात सम्पन्न



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला अन्तर्गत आज ठुलीजात सम्पन्न भएको छ । निंगलाशैनी भगवतीको भण्डार घरबाट शुक्रवार मन्दिरमा भण्डार भित्र्याएसंगै जात्रा शुरु भएको थियो । जात्रामा चार दिन सम्म मन्दिरमा पूजाआजा लाग्ने गर्दछ ।

भाद्र शुक्ल पूर्णिमाको बिहान मंगलवारसम्म सञ्चालन हुने जात्रामा नेपाल तथा भारत विभिन्न स्थानबाट दर्शनार्थी आएका मेला व्यवस्थापन समितिका अध्यक्ष बहादुर सिंह बोहराले बताए । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलाका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा मेला भर्नेहरुको घुइचो लागेकोे छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा बिशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिइने गरिएको छ । मेलाको अवसरमा मन्दिरमा तीनरात बस्ने उभिएर बत्ती बाल्ने महिला भक्तजनहरुको घुइचो लागेको हो ।

निंगलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा बिशेष पूजाआजा समेत हुने गरेको छ । यो मेलालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रही आएको छ ।
यो जात्रामा बलि नहुने र यो जातलाई ठूली जातको रुपमा मनाउने गरेको छ ।

 

प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको छ । भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसीर शुक्ल पूर्णिमा, चैतको अष्टमीको दिन गरी चार पटक बिशेष जात्रा हुने गरेको छ ।

 

मेलालाई भव्य र सभ्य रुपमा सफल पार्न मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेलामा कसैले मदिरा सेवन तथा जुवातास खेलेको पाइएमा कानुन अनुसार कारवाही हुने दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।

मेलामा देउडा प्रतियोगिता पनि सञ्चालन हुने बताईएको छ । सुदूरपश्चिमको मुख्य खेल देउडा खेलका लागी पनि यो मेलालाई विषेस रुपमा हेर्ने गरिन्छ । जिल्ला भित्र तथा जिल्ला बाहिरका देउडिया समेत यहाँ आउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्