दशैँका लागि अग्रिम टिकट बुकिङ भोलिबाट



काठमाडौं ।
नेपाल यातायात व्यवसायी महासंघले भोलि मंगलबारबाट अग्रीम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ ।
महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको महासंघका सचिव सुरेन्द्र सिटौलाले जनाउनुभयो । महासंघले चाडबाडका समयमा यात्रुलाई कुनै समस्या नआओस् भनेर वरिष्ठ उपाध्यक्ष हरिशरण केसी (हुस) को संयोजकत्वमा अनुगमन विशेष उपसमिति पनि बनाएको छ ।

 

त्यस्तै गोंगबु नयाँ बसपार्कमा यात्रुलाई व्यवस्थित गर्नका लागि वरिष्ठ उपाध्यक्ष बिजयबहादुर स्वाँरको संयोजकत्वमा सचिव सिटौलासमेत रहेको ६ सदस्यीय समिति बनाइएको सचिव सिटौलाले जानकारी दिनुभयो ।

यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाइसकेपछि अचानक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि महासंघले अग्रीम टिकट बुकिङ बन्द गर्ने निर्णय गरेको थियो । सरकार र व्यवसायीबीच सहमति भएपछि १० प्रतिशत भाडा बृद्धि भएको छ । सिटौलाले ६ वर्षअघिबाट गाडी भाडा नबढेको सरकारलाई व्यवसायी समस्या बुझिदिनसमेत आग्रह गरेका छन् । ‘ हामीले जति नै राम्रो गरेपनि सधैं आलोचना गरिएको छ, सरकार पनि व्यवसायीमैत्री बन्न सकेन, हामीले पनि आफ्ना समस्या यात्रु तथा सेवाग्राहीलाई बुझाउन सकेनौं ’ सिटौलाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्