सदरमुकाममै कच्ची सडक



पर्वत,  निर्माण भएको दुई दशकभन्दा बढी समयसम्म पनि सदरमुकाम कुश्माबजारभित्रका विभिन्न सडक मर्मत हुन सकेका छैनन् । यहाँ सडकको अवस्था ग्रामीण क्षेत्रका कच्ची सडकभन्दा फरक देखिँदैन ।

मर्मत नहुँदा सडकमा जताततै खाल्डाखुल्डी मात्रै छन् । कुश्मामा सडक मर्मतमा सम्बद्ध निकायको ध्यान नपुग्दा स्थानीयवासीले हिलो र धूलोको सास्ती खेप्नुपरेको छ । कुश्माको जिरो किलोमिटरदेखि पुरानो बजार हुँदै बडागाउँसम्म करीब एक हजार दुई सय मिटर मुख्य सडक छ । यस बाहेक अन्य शाखा सडकको लम्बाइ करीब चार किलोमिटर छ । सबै शाखा सडकमा अहिले पुरानो कालोपत्र एक चौथाइ पनि छैन ।

कुश्माको शिवालयचोक, बान्द्रेबीडी, लोकतन्त्रचोक, खत्रीचोक, मेलमिलापचोक र न्यूरोड सबैतिर कालोपत्र उप्किएको छ । बिच्छाइएका गिट्टी बजारमा छरिएका छन । सडकका गिट्टी बाहिर निस्किएर कालोपत्र उप्किएका ठाउँमा खाडल परेका छन् । सडक लथालिङ्ग भएको वर्षौं बित्दा पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीको आरोप छ । “हिउँद–बर्खा जहिल्यै समस्या छ”, प्रगतिचोकका भगवती पौडेलले भन्नुभयो । सडकको हिलो घरभित्रै पस्ने गरेको उहाँको गुनासो छ ।

कुश्माका गोविन्द अधिकारी भन्नुहुन्छ, “पैदल हिँड्दा नजीकैबाट गुड्ने सवारीसाधनले हिलो छ्यापेर जान्छन ।” सडकका खाल्डाखुल्डीका कारण सवारीसाधन हाँक्नै मुस्किल भएको चालक दीपक परियारको भनाइ छ । सडक मर्मत तथा कालोपत्र गर्न तत्कालीन जिल्ला विकास समितिले तीन वर्षअघि योजना बनाएको थियो । स्थानीय बजेटले नपुग्ने भएका कारण केन्द्रलाई गुहार्नु पर्ने बाध्यता छ । नगरप्रमुख रामचन्द्र जोशी बजारको सडक मर्मत र कालोपत्रका लागि रु नौ करोड विनियोजन गरिएको बताउनुहुन्छ ।

डोजर प्रयोग निषेध 

डाँडा डाँडाका छरिएका घरघरमा सडक पु¥याउन डोजरको प्रयोग गरिँदा पहिरोको जोखिम बढ्दै गएको छ । पैयुँ गाउँपालिका–१ टकलाकले डोजर प्रयोगमा रोक लगाएको छ । विसं २०७४ साउनयता गाउँमा डोजर निषेध गरिएको छ । गत आवदेखि सडक मर्मत, नाली निर्माण, सिँचाइ कुलो, खानेपानी, सरकारी र सामुदायिक भवन निर्माणमा स्थानीय बासिन्दाले काम गर्दै आएका छन् ।

“युवाको सीप निर्धारण गरेर सोहीअनुसारको काममा लगाउने गरिएको छ,” वडाध्यक्ष पीताम्बर भुसालले भन्नुभयो । अघिल्लो वर्ष सो वडामा विकासतर्फ रु ५० लाख बराबरको रकम विनियोजन गरिएको थियो । दुई सय ८२ घरधुरी भएको उक्त वडाबाट ५५ युवा वैदेशिक रोजगारीमा गएका छन् । चालु आवमा गाउँसभाले टकलाकका लागि रु ४० लाख बजेट छुट्याएको छ । टकलाकमा करीब १७ किलोमिटर सडक छ । गाउँ कार्यपालिकाले नयाँ ट्रयाक खोल्न निषेध गरिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्