बेनी–जोमसोम सडकमा दुई हप्तापछि यातायात सेवा सुचारु



प्रताप बानियाँ, म्याग्दी  ।
हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक झण्डै दुई हप्तापछि आइतबार साँझबाट सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित काभ्रेभिरमा सडक माथिबाट आएको पहिरोका कारण बेनी–जोमसोम सडक गत भदौ २७ गतेदेखि अवरुद्ध बनेको थियो ।
बेनी–जोमसोम कालीगण्डकी करिडोर आयोजनाको पहलमा शर्मा गजुरमुखी जेभी कम्पनी प्रालिको मेशिन प्रयोग गरी नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ गरेर पहरा फुटाएपछि यातायात सेवा सुचारु भएको हो । पहिरोले अवरुद्ध बनाएको करिब ५० मिटरभन्दा बढी सडकको बिचमा पर्ने पहरा काटेर ट्¥याक खोलेपछि यातायात सञ्चालनमा आएको बेनी–जोमसोम कालीगण्डकी करिडोर आयोजनाका सुपरभाइजर ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो ।
गएको भदौ महिनाको अन्तिम साता परेको भारी वर्षाका कारण बेनी–जोमसोम सडकको विभिन्न भागमा पहिरोले क्षति पु¥याएको थियो । सडकको अन्य स्थानमा यसअघि नै मर्मत गरेर सडक खुलाइए पनि दानाको काभ्रेभिरमा भने सडक खुलाउन १२ दिनको समय लाग्यो । अहिले अवरुद्ध सडकको पहरा काटेर चौडा र फराकिलो बनाइएको छ । सडक सञ्चालनमा आएपछि आइतबारको साँझदेखि नै बेनी–जोमसोम सडकमा सिधा सवारी यातायात सञ्चालन भएको सुपरभाइजर शेरचनले बताउनुभयो ।
कुल ७६ किलोमिटर रहेको बेनी–जोमसोम सडकमा पहिरोले सडक भत्काएपछि मुस्ताङ पुग्ने यात्रुहरु जोखिम मोलेर वारपार गर्न बाध्य भएका थिए । बेनीदेखि काभ्रेसम्म सिधा यातायात सञ्चालनमा आएपनि काभ्रेको भिरमा सडक नखुल्दा मुस्ताङ जाने यात्रुहरु पैदल हिँडेर भीर पार गर्नुपर्दा ज्यान हत्केलामा राख्नुपर्ने अवस्था थियो । नेपाली सेनाले यात्रुहरुलाई आवतजावतमा सहयोग पु¥याएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दी आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, सर्वसाधारण र यात्रुले सास्ती बेहोरेका थिए ।
राहुघाट, रुप्से, घाँसा, लेते र काभ्रे भिरमा पहिरो तथा नदी कटानका कारण गत भदौ २७ गतेदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समेत समस्या भएको थियो । म्याग्दीको उत्तरी क्षेत्र हुँदै बेनी–जोमसोम सडकमा दैनिक ६०० भन्दाबढी सवारीसाधनहरु गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । बेनी–जोमसोम सडकमा दिनहुँ बस, जिप, स्कारपिओ, बोलेरो, ट्रक, ट्याक्सी, मोटरसाईकल र ट्याक्टर गुड्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्