महिला सिंगल्सको सेमिफाइनल समीकरण पुरा



नेपाल समाचारपत्र
ललितपुर
ललितपुरमा जारी बर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको सेमिफाइनल समीकरण पुरा भएको छ।

आइतबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको क्वार्टरफाइनल खेल जित्दै मायंका राणा, प्रेरणा कोइराला, अभिलाषा विष्ट र माहिका राणा अन्तिम चारमा पुगेका हुन्। मायंकाले अश्लेशा लिसानेभिचलाई ६–२, ६–२ ले हराएकी थिइन्। अश्लेशा धेरैपछि टेनिस कोर्टमा देखा परेकी हुन्। तर उनको सफल पुनरागमन भएन। जबकी उनले पहिलो चरणको खेल सजिलोसँगै जितेकी थिइन्।

अन्य खेलमा प्रेरणाले प्रकृति श्रेष्ठलाई ६–०, ६–१ ले हराएर अन्तिम चारमा पुगिन्। यस्तै माहिकाले एनी माथेमाको चुनौती ७–६ र ६–१ ले समाप्त पार्दा अभिलाषा आइरा रावत रिटायर्ड हर्ट भएपछि अन्तिम चारमा पुगिन्। तर खेलमा अभिलाषा ७–६, ४–२ को अग्रतामा रहेकी थिइन्।

पुरुष सिंगल्सतर्फ निक रासट्रपले प्रणब खनाललाई १–६, ६–३, ६–२ ले, निशान श्रेष्ठले सुब्रत बस्नेतलाई ७–६, ७–५ ले, प्रदीप खड्काले इभानहोइ लिसानेभीचलाई ६–२, ६–३ ले, कमल भण्डारीले भिष्मजंग गुरुंगलाई ६–१, ६–० ले, महेश श्रेष्ठले नीम वान राईलाई ६–०, ६–० ले र सन्तोष खत्रीले बिजय महर्जनलाई ६–०, ६–१ ले हराएका थिए। नबीन मगरविरुद्ध इन्द्रबहादुर शाहले र जितेन्द्र परियारविरुद्ध मुक्तिसेन गुरुङ्ले वाकओभर दिएका थिए। विजयी खेलाडी सबै क्वार्टरफाइनलमा पुगेका छन्।

यसैगरी पुरुष डबल्सतर्फ पनि अन्तिम चार पुग्ने जोडीको टुंगो लागेको छ। क्वार्टरफाइनल खेलमा सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले सुब्रत बस्नेत र मुक्तिसेना गुरुङको जोडीलाई ६–०, ६–१ ले हराएर अन्तिम चारमा स्थान सुरक्षित गर्यो। त्यस्तै अर्को खेलमा महेश श्रेष्ठ र मनोज राणाले आत्मराम कार्की र चेवांग लामाको जोडीलाई पन्छाउन ३ सेटमा संघर्ष गर्नुपरेको थियो। जबकी प्रदीप खडका र नवीन पुनले रोहित सुनवार र राजु श्रेष्ठको जोडीलाई हराउन कुनै गेम पनि गुमाउनु परेन। यस्तै कमल भण्डारी र प्रणब खनालको जोडीले इभानहोइ लिसानेभीच र सम्यक भूषण वज्राचार्यको जोडीलाई ६–३, ६–२ ले पन्छाए।

प्रतिक्रिया दिनुहोस्