जेष्ठ ब्याडमिन्टनमा दीपेशको वर्चश्व



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एपीएफ क्लबका दिपेश धामीले तेस्रो योनेक्स सनराइज जेस्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा वर्चश्व बनाएका छन्।

आइतबार बसुन्धरास्थित जेस्ट ब्याडमिन्टन एकेडेमीको कोर्टमा सम्पन्न भएको सो प्रतियोगितामा दिपेशले ३ उपाधि जितेर धाक जमाएका हुन्। उनले पुरुष सिंगल्सको फाइनलमा नेपालका नम्बर एक रत्नजीत तामाङलाई २–१ सेटले हराएर उपाधि जिते। योसँगै उनले आर्मीका रत्नजीतलाई उपाधिमा ह्याट्रिक गर्नबाट वञ्चितसमेत तुल्याए। रत्नजीतले अघिल्ला दुई संस्करणमै उपाधि जितेका थिए।

प्रतिस्पर्धात्मक फाइनल खेलमा दिपेशले पहिलो सेट २१–१३ ले जितेर रत्नजीतलाई दबाबमा राखेका थिए। तर दोस्रो सेटमा रत्नजीतले २१–१८ ले जित्दै खेल बराबरीमा ल्याए। निर्णायक सेटमा भने रत्नजीतले अग्रता जोगाउन नसक्दा दिपेशले २१–१८ ले सेट जित्ने मौका पाएका थिए। योसँगै दिपेशले पहिलो पुरस्कार ३० हजार प्राप्त गर्दा रत्नजीतको हातमा १५ हजार रुपियाँ परेको थियो।

यस्तै दिपेशले पुरुष डबल्समा पनि विजित थापामगरसँग जोडी बनाएर उपाधि जिते। यी जोडीले फाइनलमा रत्नजीत र नवीनको जोडीलाई हराएर २५ हजार रुपियाँको पुरस्कार रकम आफ्नो बनायो। दोस्रो हुने जोडीले १२ हजार नगद प्राप्त गरेको थियो। मिक्स डबल्समा दिपेश र पुजा श्रेष्ठले आफ्नै क्लबका विजीत थापा मगर र शोभा गौचनको जोडीलाई हराएका थिए। विजेताले २० हजार प्राप्त गर्दा उपविजेताले १२ हजार हासिल गरेका थिए।

यसैगरी महिला सिंगल्सको फाइनलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले जेसिका गुरुङलाई २–० सेटले हराएर एपीएफलाई क्लिन स्विप गर्नबाट रोकिन्। उनले सो खेल २१–१९, २१–१७ ले जित्दै पहिलो पुरस्कार २५ हजार नगद हासिल गरेकी थिइन्। जेसिकाले १२ हजार नगद प्राप्त गरिन्। यस्तै रसिलाले यु १५ गल्र्समा समेत कञ्चनपुरकी विष्णा विष्टलाई हराएर थप १६ हजार रुपियाँ पनि जितेकी थिइन्। विष्णाले ६ हजार नगद प्राप्त गरिन्। यु १५ का विजेता प्रिन्सले पनि १६ हजार नै प्राप्त गरे। दोस्रो भएका कैलालीका रोशन साउदले ६ हजारमै चित्त बुझाउनुपर्यो।

प्रतिक्रिया दिनुहोस्