माल्दिभ्सको निर्वाचनमा चीन र भारतको गम्भीर चासो, अमेरिका र ईयूको नाकाबन्दी लगाउने धम्की



माले, (एजेन्सी)
हिन्द महासागरको सुन्दर टापुहरुको समूह मिलेर बनेको माल्दिभ्समा आइतबार आम निर्वाचनको मतदान कार्य प्रारम्भ भएको छ। यस निर्वाचनलाई भारत र चीनले निकै चासोपूर्वक हेरिरहेका छन्।

कञ्चनजलीय क्षेत्र र रिसोर्टहरुका लागि विश्वमा नाम कमाएको यस राष्ट्रका सत्तारुढ सरकारलाई भने विपक्षीमाथि दमन गरिरहेको आरोप लाग्ने गरेको छ। राष्ट्रपति अब्दुल्लाह यामिनले चीनको समर्थन प्राप्त गरेका छन् भने विपक्षी नेता इब्राहिम मोहमद सोलिह भने भारत र पश्चिम जगत्तर्फ ढल्किएको बताइन्छ।

युरोपेली संघ (ईयू) र संयुक्त राज्य अमेरिकाले यस चुनावको स्वतन्त्रता र निष्पक्षतामाथि चिन्ता व्यक्त गरेका छन्। यी दुवैले यदि माल्दिभ्सको प्रजातान्त्रिक अवस्थामा सुधार नआएको खण्डमा नाकाबन्दी लगाउने चेतावनी दिइसकेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार चुनावको पूर्वसन्ध्यामा प्रहरीले विपक्षी पार्टीका प्रधान कार्यालयमा छापा मारेका छन्।

स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेदेखि मतदान शुरू भएको हो। १ हजार १ सय ९२ वटा टापु रहेको माल्दिभ्सको अर्थतन्त्र पूर्णरूपमा पर्यटन व्यवसायमा निर्भर रहेको छ। तर बढ्दो जलवायु परिवर्तनका कारण कुनै पनि बेला यो मुलुक सागरमा डुब्न सक्ने भएकाले यहाँका ४ लाख जनसंख्या खतरामा रहेका छन्।
केही वर्षयता यहँँ राजनीतिक अस्थिरता व्याप्त भएको छ। गत फेब्रुअरीमा सर्वोच्च अदालतले पूर्वराष्ट्रपति मोहमद नासिदलगायत विपक्षी राजनीतिक खेमाका ९ जना नेतामाथि लगाइएको अभियोग रद्द गरेको थियो। नासिदलाई सन् २०१२ मा पदच्युत गरिएको थियो।

तर राष्ट्रपति यामिनले त्यतिबेला संकटकाल लागू गर्दै दुईजना न्यायाधीशलाई गिरफ्तार गर्ने आदेश दिएपछि अदालतले पुनः निर्णय उल्ट्याएको थियो।

यामिनले आफ्नो अर्को पाँच वर्षीय कार्यकालका लागि जसरी भए पनि चुनाव जित्ने प्रयासमा लागिपरेकाले अहिले वासिङ्टन, लनडन र नयाँ दिल्ली उनको विपक्षमा उभिएका छन्।

कुनै बेला माल्दिभ्समा आफ्नै बोलबाला रहेकाले अहिले पनि छिमेकी मुलुकमा हस्तक्षेप गर्नका लागि भारतकै केही राजनेताहरुले आवाज उठाउन थालेका छन्। विगतमा नासिद स्वयंले पनि भारतलाई सैनिक हस्तक्षेप गर्न आह्वान गरेका थिए। चीनले अहिले हिन्द महासागरका सामरिक महŒव रहेका नयाँ जलमार्गमाथि आफ्नो पकड राख्नका लागि पाकिस्तान र श्रीलंकाका विशाल भौतिक पूर्वाधार परियोजनामा अर्बौं अमेरिकी डलर लगानी गरिरहेको छ।

विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार समूहले पनि सरकारको दमनकारी नीतिको आलोचना गरेका छन्। तर राष्ट्रपति यामिनले भने आफूमाथि लगाइएका भ्रष्टाचारलगायत सम्पूर्ण अभियोग अस्वीकार गर्दै आइरहेका छन्।

यामिनको सरकारले माल्दिभ्समा चिनियाँ लगानीको स्वागत गर्दै चीनसँग प्रमुख परियोजना र स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ। अहिले माल्दिभ्स पुग्ने सबैभन्दा बढी पर्यटक पनि चिनियाँ नै रहेका छन्।

यामिनकै सौतेनी भाइ मौमुन अब्दुल गयुमले तीन दशकसम्म माल्दिभ्समा एकछत्र अधिनायकवादी शासन चलाएका थिए। सन् २००८ मा त्यहाँ भएको पहिलो प्रजातान्त्रिक चुनावमा नासिदसँग पराजित हुन पुगेका गैयुमलाई त्यस वर्षको जुनमा कारगार पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्