औषधि उत्पादनमा केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल



चितवन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी जडीबुटीको प्रयोग गरेर औषधि उत्पादनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य खबर पत्रिकाको आठौँ वार्षिकोत्सव एवं नेपाल लाइभ डटकमको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित सेवाको सम्मान आठौँ हेल्थ अवार्ड २०७५ मा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालका जडीबुटी प्रयोग गरेर मित्रराष्ट्रले औषधि बनाउने गरेको भन्दै उहाँले यहाँ पाइने जडीबुटी प्रयोग गरेर स्वास्थ्य जीवनका निम्ति आवश्यक औषधि बनाउन सकिने जानकारी दिनुभयो । नेपालको भौगोलिक वातावरण स्वास्थ्य पर्यटनका लागि उपयुक्त रहेको भन्दै यसको सदुपयोग गर्दै विकासका कामलाई जोड्न सकिने बताउनुभयो ।

मुलुक नयाँ ठाउँमा प्रवेश गर्न लागेको, देश यतिबेला समाजको विकास र राजनीतिक विकासको नयाँ मोडमा आइपुगेको बताउँदै उहाँले यो मोड ऐतिहासिक चुनौती र अवसरको मोड रहेको बताउनुभयो । अध्यक्ष दाहालले सरकारको कामको समीक्षा गर्दै सबैलाई मिलाएर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद कृष्णभक्त पोख्रेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल उद्योग परीसङ्घका अध्यक्ष हरिभक्त शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न विधामा चिकित्सक, अस्पताल तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । जसमा उत्कृष्ट अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई सम्मान गरिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्