प्रधानमन्त्रीलाई ज्ञापनपत्र सहित चश्मा उपहार



रामधन राई, खोटाङ ।
कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषी पत्ता लगाई कानूनी कारबाही गर्न माग गर्दै आएका नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत सकारले दोषी पत्ता लगाएर कारबाही गर्न नसकेको भन्दै विरोध जनाउँदै आएको महिला संघले आईतबार सत्य–तथ्य पत्ता लगाएर न्याय सम्पादनको माग गर्दै प्रधानमन्त्रीलाई चश्मा पठाएको हो ।

निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बित्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै असोज १ गते दिक्तेलमा बिरोध ¥याली प्रदर्शन गरेको महिला संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्रका साथमा चश्मा पठाएको छ । निर्मलाको हत्या र बलात्कारको घटनाका विषयमा सत्य–तथ्य पत्ता लगाएर कानुनी कारबाही गर्ने क्रममा सरकारको ‘दृष्टिभ्रम नहोस्’ भन्ने अपेक्षासहित प्रधानमन्त्रीलाई ज्ञापनपत्रसहित चश्मा उपहार पठाइएको नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्