प्रभावकारी बन्दै खुत्रुके बाल बचत अभियान



पर्वत ।
पर्वतको मोदी गाउँपालिका ६ तिलाहारमा स्थापित एक सहकारीले सञ्चालन गरेको खुत्रुके बाल बचत अभियान प्रभावकारी बन्दै गएको छ । १६ बर्ष भन्दा मुनीका बालबालिकाहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको अभियानले सफलता पाएको हो ।

मोदी गाउँपालिका ६ तिलाहारको मोदी दिप बचत तथा ऋण सहकारी संस्थाले दुई बर्ष अघि देखि सञ्चालन गरेको खुत्रुके बाल बचत अभियानबाट अहिले मासिक दुई लाख रुपैँया संकलन हुने गरेको छ । शुरुमा १५ वटा खुत्रुकेबाट शुरु गरेको अभियान अहिले ६५ पुगेको र प्रत्येक महिना डेढ लाख देखि दुई लाख सम्म खुत्रुकेमा बचत संकलन हुने गरेको सहकारीका अध्यक्ष ठक्करप्रसाद शर्माले बताए ।

खुत्रुके अभियान सञ्चालन गरेपछि बालबालिकाहरुमा बचत गर्ने बानीको समेत विकास भएको उनले बताए । ‘पहिला पहिला हातमा पैसा पर्दा वित्तिकै केही नयाँ कुरा किनेर खान हिड्ने बालबालिकाहरु अहिले खुत्रुकेमा जम्मा गर्न हतारिने गर्दछन् ’ उनले भने ‘अहिले त अभिभावकहरु पनि बाल बचत कार्यमा सक्रिय हुन थालेका छन् ।’

पछिल्लो समयमा अभियान प्रभावकारी बन्दै गएपछि बालबालिकाका आमा बाबुले नै दैनिक खर्च जोगाएर भएपनि आफ्ना छोराछोरीको खुत्रुकेमा रकम जम्मा गरिदिने गरेको अध्यक्ष शर्माले बताए । २०६५ सालमा स्थापना भएको सहकारीले अहिले नौ सय १२ जना शेयर सदस्य पु¥याएको छ । सहकारीले बालबालिकाहरुलाई पनि सह अस्तित्व नै रहने गरी खुत्रुके बचत अभियान सञ्चालन गरेको संस्थाका सचिव कुलबहादुर केसीले जानकारी दिए । खुत्रुके अभियानमा बालबालिकाहरु प्रतिस्पर्धात्मक रुपमा नै रकम जम्मा गर्ने क्रम बढ्दै गएको उनले बताए । ‘खुत्रुकेको माग आइरहेकोले यो बर्ष पनि थप्ने योजनामा छौँ’ सचिव केसीले भने ।

एकातिर बालबालिकाका बाबुआमाले सहकारीमा दैनिक बचत गर्छन् भने अर्को तिर बालबालिकाले दैनिक रुपमा आफुसँग भएको रकम खुत्रुकेमा जम्मा गर्ने गर्दछन् । यसरी जम्मा भएको रकम सहकारीले मासिक रुपमा एक मुष्ट संकलन गर्ने गरेको छ । सहकारीमा यसरी जम्मा रहेको रकम स्वयम् बचतकर्ता बालबालिकालाई अप्ठ्यारो परेको बेला प्रयोग गर्नका लागि सहकारीले परिस्थिति अनुरुप व्याज सहित आवश्यक रकम फिर्ता गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्