दैलेखमा न्याय माग्दै प्रर्दशन



हिक्मत नेपाली, दैलेख ।
नेपाल महिला संघ दैलेखले बलात्कार, महिला हिंसा, हत्या र अत्याचारका घटनामा संलग्नलाई कारवाही र पिडितलाई न्यायको माग गर्दै प्रर्दशन गरेको छ । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको बास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानूनी कठघरामा उभ्याउन नसकेको भन्दै देशका ७७ वटै जिल्ला प्रशासन मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तरगत दैलेखमा पनि प्रदर्शन गरेका हुन् । न्यायको माग गर्दै महिला संघ दैलेखले दैलेख सदरमुकाममा प्रर्दशन संगै जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

स्थानीय गणेश चोबाट सुरु गरिएको विरोध प्रर्दशनमा सहभागि महिलाहरुले जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगि ३० मिनेट धर्ना दिएका थिए । धर्ना पश्चात दैलेखका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । न्यायको माग गर्दै प्रर्दशनमा उत्रिएका महिलाहरुले स्थानीय देवकोटा चोकमा कोण सभा समेत गरेका थिए । कोण सभामा बोल्दै नेपाल महिला संघका नेतृहरुले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको बास्तविक दोषीलाई सरकारले कानूनी कठघरामा उभ्याउन माग गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्नुहुँदै नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी रानाले सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कानूनी कानुनी कठघरामा उभ्याउन नसक्नु दुःखद् भएको टिप्पणी गर्नुभएको छ । उहाँले निर्मला हत्याका वास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप समेत लगाउनुभयो ।

नेपालमा दिनानुदिन महिला हिंसा, हत्या, अत्याचारको घटनाले मुलुक अन्तराष्ट्रिय स्तरमा समेत लज्जित हुनुपरेको छ, निर्मला पन्तको बलात्कार र हत्याको घटनामा सरकार नै मौन हुँदा नेपाल महिला संघ आक्रोसित हुनु स्वभाविक हो, उहाँले भन्नुभयो । अध्यक्ष रानाले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको हत्या, हिंसा र बलात्कार तथा मंहगी प्रति सरकार गम्भिर हुनुपर्ने बताउनुभयो । नेपाल महिला संघले गरेको आग्रहलाई सरकारले वेवास्ता गर्न खोजे तत्पश्चात उत्पन्न हुने परिस्थीतीको जिम्मेवार स्वंम सरकार हुने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्