चासोमा पर्याे एसियाको पहिलो मानवनिर्मित सुरुङमार्ग



हेटौंडा ।
योजना बनाएर पनि हेटौंडा उपमहानगर चुपचाप बसेपछि हेटौंडा–१५ मा पर्ने एसियाको पहिलो मानवनिर्मित सुरुङमार्गमा प्रदेश–३ सरकारले चासो दिएको छ ।
सन् १९१८ मा निर्माण सम्पन्न भएको हेटौंडा र ३ नम्बर प्रदेशको गौरव चुरिया सुरुङलाई राष्ट्रिय सम्पदा घोषणा गर्न÷गराउन २ वर्षदेखिको खोज, अनुसन्धान र मेहनतको परिणामस्वरुप पुरात्व विभागबाट पुरातत्वविद् सुशील गौतमले चुरिया सुरुङ क्षेत्रको स्थलगत अवलोकन, नापजाँच, निर्मित वस्तुहरुको ऐतिहासिकता परीक्षण गर्नुभएको थियो । तर, त्यहाँबाट पनि सुखद् नतिजा नआएपछि प्रदेश सरकार नै अगाडि बढेको हो ।

एसियाकै पुरातात्विक, ऐतिहासिक सम्पदालाई हेटौंडा उपमहानगरपालिकाले संरक्षण, सम्वद्र्धन गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना केही समय अघिदेखि चर्चा भए पनि हालसम्म उपमहानगरले योजना अघि नबढाएपछि प्रदेशको पर्यटन, उद्योग, बन तथा वातावरण मन्त्रालयले चासो देखाएको छ ।

चुरियामाई सुरुङमार्ग जीर्णोद्धार गरी पर्यटन प्रवद्र्धन गरिने मन्त्रालयले जनाएको छ । ऐतिहासिक स्थलको संरक्षण गरी पर्यटकीय क्षेत्रमा विकास गर्ने उद्धेश्यले बजेट व्यबस्था गरिएको प्रदेशका पर्यटन, उद्योग बन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिनुभयो । उहाँले ओझेलमा परेका सम्पदा संरक्षण र सम्वद्र्धनमा प्रदेश सरकारको ध्यान आकृष्ट भएको बताउनु भयो । मन्त्रालयले ऐतिहासिक सम्पदाका लागि ५ लाख रुपियाँ विनियोजन गरेको मन्त्रालयका सचिव शिवकुमार वाग्लेले बताउनुभयो ।

ऐतिहासिक सुरुङमार्ग हाल गुफामा परिणत भएको छ । करिब एक सय मिटर लम्बाईको सुरुङमार्ग केही वर्षसम्म सञ्चालनमा आएको थियो । सुरुङको दुवैतर्फ पाले घर निर्माण गरी गाडी आएको समयमा झण्डा हल्लाएर जनाउ दिने गरिएको तत्कालीन पाले वीरबहादुर भोलनका नाति रामकुमारले बताउनुभयो ।


नेपालको पहिलो सुरुङमार्गको अस्तित्व मेटिने अवस्थामा पुगेपछि जोगाउने तयारी सुरु भएको हो । महेन्द्र राजमार्गको हेटौंडा–पथलैया सडकखण्डमा रहेको चुरे पर्वत शृंखलामा निर्मित पहिलो सुरुमार्ग संरक्षणको अभावमा इतिहास मेटिने खतरा देखिएपछि प्रदेश सरकार तातिएको हो ।

हेटौंडा बजारबाट करिब १३ किलोमिटर दक्षिण चुरे पहाडमा अवस्थित सुरुङमार्ग तत्कालीन अबस्थामा उपत्यका प्रवेश गर्ने अन्य मार्ग निर्माण नभएकाले बढी चर्चामा थियो । राणाले अमलेखगञ्जसम्म रेलबाट ल्याएका सामान सुरुङमार्ग हुँदै लरी र साना सवारीसाधनबाट भीमफेदी पु¥याउने गरेका थिए ।

चुरियाको सुरुङमार्ग भएर हेटौंडा प्रवेश गर्ने कतिपय मानिस पूर्वपश्चिम राजमार्ग बनेपछि सुरुङ हेर्न पनि गएका छैनन् । तीनतिर अग्ला पहाडको ढिस्कोले दबिएर रहेको गुफाको प्रवेशमार्ग सडकबाट करिब ६०÷७० मिटर उचाईंमा छ ।

नेपाललाई राम्ररी चिनेका र सबै जिल्लामा हिँडेर पुगेका स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा सुरुङमार्गबारे स्पष्ट पार्दै नेपालभन्दा ठूलो भारतले सुरुङ प्रविधि भित्र्याउन नसकेको बेला नेपाल सफल भएकोमा खुशी व्यक्त गरिएको छ ।

१९८३ देखि अमलेखगञ्ज–भीमफेदी सडक सञ्चालनमा आएपछि सुरुङमार्ग हुँदै सवारीसाधन आवतजावत गराइएको बुढापाका बताउँछन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले निर्माण गरेको सुरुङमार्ग चुरे पहाड खोपेर बनाइएको थियो । पूर्वपश्चिम राजमार्ग निर्माणका क्रममा सुरुङको आधाभाग विस्फोट गराएर सडक निर्माण गरिएपछि सुरुङ ओझेलमा परेको हो ।

नेपालका प्रथम ग्राजुएट सिभिल इञ्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाको डिजाइनमा सन् १९१७ मा सुरुङ निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्