सन्दीपलाई हेटौंडामा सम्मान थाप्न भ्याइनभ्याइ



हेटौंडा ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरले आयोजना गरेको एक दिवसीय क्रिकेट प्रशिक्षणमा प्रशिक्षकका रुपमा सहभागी हुन आएका क्रिकेटका चर्चित राष्ट्रिय खेलाडी सन्दीप लामिछाने आइतबार हेटौंडामा निकै व्यस्त भए । उनी प्रशिक्षणसँगै सम्मान ग्रहण गर्न व्यस्त बनेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका म्यानेजर रमण शिवाकोटीसँग उनी हेटौंडा आएका हुन् । शनिबार साँझ हेटौंडा आइपुगेका लामिछाने आइतबार मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गरेको स्वागत तथा सम्मानमा सहभागी बने ।

मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले लामिछानेलाई स्वागत तथा सम्मान गरेको हो भने स्कुल अफ म्यानेजमेन्टले नगद एक लाख रुपियाँसहित उनलाई सम्मान गरेको छ । म्यानेजमेन्ट प्रमुख पुरनबहादुर जोशीले उनलाई नगद हस्तान्तरण गरे भने म्यानेजर शिवाकोटीलाई सम्मान गरेका थिए ।


नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई हेटौंडाको तासिर इङ्ग्लिस सेकेन्डरी स्कुलले पनि सम्मानित गरेको छ । आइतबार हेटौंडा–७, नागस्वतीस्थित विद्यालयमा आयोजित कार्यक्रममा युवा स्पिनर लामिछानेलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सम्बोधन गर्दै लामिछानेले विद्यार्थीहरुले देखाएको माया र सम्मानका लागि खुशी व्यक्त गरे । ‘म पनि तपाईंहरु जस्तै विद्यार्थी हुँ,’ उनले भने–खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन पाउँदा खुशी लागेको छ ।

उक्त अवसरमा सन्दीपले आफ्नो हस्ताक्षरसहितको बल विद्यालय संस्थापक राजन थापालाई हस्तान्तरण गरेका थिए । संस्थापक थापा तथा विद्यालय अध्यक्ष मिठ्ठेबहादुर कार्कीले संयुक्तरुपमा उनलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालय संस्थापक थापाले सन्दीप सम्पूर्ण विद्यार्थीका लागि प्रेरणाको स्रोत भएको बताए । आफ्नो खेल कौशलबाट देशको शिर उच्च बनाएका लामिछानेबाट प्रेरणा लिँदै अघि बढ्न उनले विद्यार्थीहरुलाई सुझाए ।


शिवाकोटीसहित सहभागी कार्यक्रममा लामिछानेले केही बेर विद्यालयको क्रिकेट क्लबका विद्यार्थीहरुसँग बलिङ तथा ब्याटिङ गरेका थिए ।
लामिछानेले दिउँसो करिब २ सय मकवानपुरे खेलाडी एवम् खेलप्रेमीलाई प्रशिक्षण दिएको मदन भण्डारी स्पोर्टस् एकेडेमी जिल्ला अध्यक्ष निरजसिंह ठकुरीले बताए ।
सन्दीपले २०१६ मा बंगलादेशमा भएको यु–१९ विश्वकप क्रिकेटमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीमा भने उनले २०१६ को सेप्टेम्बरमा नामिबियासँगको खेलमा डेब्यु गरेका थिए ।

१४ वर्षकै उमेरमै तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दाशानायकेले ट्यालेन्ट हण्टबाट उनको खेलमा प्रभावित भएर सन्दीपलाई काठमाडौं बोलाएका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य लामिछाने भारतीय क्रिकेट क्लब दिल्ली डेयरडेभिल्समा अनुवन्धित भएपछि देश तथा विदेशमा उनको चर्चा चुलिएको छ ।

१७ वर्षीय नेपाली लेग स्पिनर सन्दीपलाई आईपीएलको अक्सनबाट दिल्लीले अनुवन्धित गरेपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ । भारतको बेङ्लोरमा चलेको अक्सनको दोस्रो दिन सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपियाँमा किनेको हो ।

यससँगै सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । कलिलै उमेरमा राष्ट्रिय टोलीमा परेका सन्दीप सानै उमेरदेखि चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्