विराटनगरमा टाउको छिनेको शव फेला



सरोज यादव, विराटनगर ।
विराटनगरमा एक व्यक्तिको शव कुहिएको अवस्थामा भेटिएको छ । विराटनगर रानीस्थित छाला फ्याक्ट्री पूर्वपट्टि धान खेतको बीचमा शव भेटिएको हो । धानखेतको बीच भागमा उत्तरदक्षिण बग्ने पैनीमा रहेको होमपाइपभित्र शव लुकाएर राखिएको अवस्थामा भेटिएको छ ।

वडानम्बर १७ र १८ को सिमानामा रहेको होम पाइपभित्र शव राखेपछि दुवैतर्फ परालको बुजो बनाएर टालिएको अवस्था फेला परेको छ । शव कुहिएका कारण आसपासमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का उठाएको छ । शव कुहिएका कारण मृतकको पहिचान खुल्न सकेको छैन ।

मृतकको अनुहार पुरै कुहिएर खप्पर मात्र बाँकी रहेको छ भने शरीरको अन्य भागसमेत कुहिएको अवस्थामा फेला परेको छ । आपराधिक घटना घटाएर अज्ञात ब्यक्ति वा समुहले सो ठांउमा शव लुकाएको हुनसक्ने आशंका गरिएको छ ।

यस अघि विराटनगर १४ जतुवामा एक युवतीको निवस्त्र अवस्थामा शव फेला परेको थियो । हत्या गरी फालिएको अबस्थामा फेला परेको शवको अझै पनि पहिचान भएको छैन । आइतबार भेटिएको पुरुषको शवको बारेमा पनि प्रहरीले केही बोलेको छैन । एकपछि अर्को शव फालिएको अबस्थामा भेटिँदै जानु , हत्या भएर फालिएका ब्यक्तिहरुको पहिचान हुन नसक्नुले घटना थप रहस्यमय बन्दै जान थालेको छ ।
यस अघि भेटिएको युवतीको शव र यी पुरुषको भेटिएको शवको दुरी केही तल माथि र एकै क्षेत्रमा रहेको पाईएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान भईरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्