सेनापति शिवराम सिंह बस्न्यात र श्रीपाली वस्न्यातहरुको कूलपुजा



डा. निरञ्जनमान सिंह बस्न्यात ।

गोरखाका राजा पृथ्वी नारायण शाह र उनका अनुयायीहरुको अथक परिश्रमवाट नेपालको एकिकरण अभियान सञ्चालन भई आज यो देश नेपालको सृजना भएको हो । सो अभियानको सवल नेतृत्व राजा पृथ्वी नारायण शाहले गरेकोमा द्विमत छैन तर त्यस अभियान भित्र पनि धेरै व्यक्तित्वहरुले आ–आफ्नो स्थानवाट सैनिक र निजामती तर्फको क्षेत्रहरुमा महत्वपूर्ण योगदान र वलिदान दिएको हुनाले ती वीर योद्धाहरुको उल्लेख हुनु पर्दछ । कति वीरहरुले आफ्नो अथक परिश्रम र प्रयास मात्र गरेको होइन आफ्नो जीउज्यान नै नेपाल एकिकरणका लागि समर्पित गरेको इतिहासमा पाइन्छ ।

राणकाल र शाहकालका बारेमा लेखिएका इतिहासका पुस्तकहरुमा राणा शासक र शाह राजाहरुको मात्र गुणगान गरी केही अतिरञ्जीत गरिएकोे पाईन्छ । जब नेपालमा २००७ सालमा प्रजातन्त्रको उदय भयो त्यस अघि खुम्चिएर बसेका इतिहासकारहरुले साहस देखाएर धेरै सत्यतथ्यहरु वाहिर ल्याएका छन् । त्यसमा सूर्य विक्रम ज्ञवाली, इतिहास शिरोमणी बाबुराम आचार्य, योगी नरहरी नाथ र नयराज पन्त तथा उहाँका शिष्यहरु नै अग्रणी भूमिकामा देखिनु भएको छ । नेपालको आधुनिक कालखण्डको इतिहास लेख्दा अझै पनि केही कुराहरु प्रमाणको अभावमा यसै नै हो भनि ठोकुवा गरी भन्न सक्ने अवस्था छैन । तर पनि समग्रमा नेपालको इतिहासको आधारभुत रुपमा खाका चाहि तयार भई सकेको छ ।

यसै सिलसिलामा नेपालको एकिकरणको अभियानमा अग्रणी भूमिका खेल्ने भारदारहरुमा एक महत्वपूर्ण भारदारसेनापति बडाबीर शिवराम सिंह वस्न्यात हुन् । त्यसबखतको कागजपत्रमा उनको नामको अगाडि बडाबीर लेख्ने गरेको पाइन्छ । उनी राजा पृथ्वी नारायण शाहका अत्यन्त भरपर्दा भारदार भएकोले पृथ्विनारायण शाहले आफ्ना पिता नरभूपाल शाहको निधन पछि २५ चैत्र १७९९ वि.सं. मा गोरखा राज्यको राजगद्धिमा राज्यारोहण गरेको केही महिना पछि बनारस (वि.स. १८०० को माघमा) को यात्रामा गएका थिए ।

वनारस जाँदा शिवराम सिंह वस्न्यातलाई पनि साथै लगेका थिए । त्यसको मुख्य उद्देश्य आफ्ना पिताको वि.स. १७९४ मा नुवाकोटमा गरेको आक्रमण र पछि आफूले पनि नुवाकोट जित्ने उत्कट ईच्छा हुँदाहुँदै वि.सं. १८०० को आक्रमण विफल भएको हुँदा अब केही आधुनिक हतियारको जोहो गर्ने हिसावले, तीर्थस्नान तथा आफ्नो गोत्र परिवर्तन गर्ने उद्देश्य लिएर त्यहाँ गएका थिए ।

सो भ्रमणमा अन्य प्रमुख व्यक्तीहरुमा चौतारिया चन्द्र प्रगाश शाह, लक्ष्मी नारायण पाडे, भानु जोशी अर्याल, ज्योतीर्विद कुलानन्द ढकाल, विराज बखेती, आदी गरी जम्मा ३६ जना गएको इतिहासमा पाइन्छ । तर एक अनुमान अनुसार द्धारे, भरिया र अंगरक्षकहरु समेत गरी झण्डै एक सय जना गएको समेत वताइएको छ ।

बंशावली लेखक खरदार बुद्धिमान सिंहले वनारस जानुको मुख्य कारण गुरु अवस्ती सँगको भेट नै हो भनेका छन । आफ्नो अनुपस्थितीमा गोरखाको सम्पूर्ण देखभाल गर्ने जिम्मा जेठी मुमा चन्द्रप्रभावती, मठयाहा भाई काजी रणरुद्र शाह र काजी कालुपाण्डेलाई दिई राजा पृथ्वी नारायण शाह वनारसको यात्रामा गएका थिए ।

वनारसमा रहँदा पृथ्विनारायण शाहले दुई वटा धर्मपत्रहरु गरेका थिए । एउटा जाजरकोटका राजा हरि शाहसँग र अर्को सिरमोरका राजासँग । जाजरकोटसँगको धर्म पत्रले पछिसम्म गोरखालाई सहयोग प्राप्त भएको थियो । साथै वनारसमा उनले केही आधुनिक हात हतियार खरिद गरे । तर कति मात्रामा र कस्ता हतियार खरिद गरे यस विषयमा इतिहासमा स्पष्ट छैन ।

वनारसको वसाईमा गोरखालीहरुले त्यहाँका पण्डाहरु र स्थानीय गुण्डाहरुको सामना गर्नु परेको थियो । एक तत्कालिन अनुमान अनुसार त्यहाँ ६००० गुण्डाहरु भएको कुरा लेखिएको छ । बाबा विश्वनाथको दर्शन गर्न पण्डा र गुण्डाहरुले वाधा अड्चन पु¥याउदाँ टोलीमा सँगै गएका भारदारहरु मध्ये शिवराम सिंह बस्न्यात, विराज बखेती आदि ले तीनीहरुलाई दमन गर्न भूमिका खेलेको थिए । त्यस पश्चात गोरखालीहरुले बाबा विश्वनाथ मन्दिर र अन्य महत्वपूर्ण तीर्थहरुमा सजिलै प्रवेस पाएको देखेर जाजरकोटका राजा हरि शाह र पर्वत राज्यका एकजना सरदार जो त्यस वखत त्याही पुगेका थिए, प्रभावित भएका थिए ।

कति दिन अथवा महिना यो गोरखाली टोली वनारसमा बस्यो भन्ने यकिन तथ्य र मिति हाल सम्म पत्ता लागेको छैन तर अन्दाजी यो टोली त्याहाँ दुई महिना सम्म बसेको अनुमान हुन्छ । बाबुराम आचार्यले वि.सं. १८०० को चैत्र महिनाको १५ गते अगाडि गोर्खा फर्केको लेखेका छन् । आउदा जाँदा पनि केही दिन त लाग्ने नै भयो ।

बनारसबाट नेपाल तर्फ फर्किदा गोमती नदीको किनारमा रहेको स्थानिय भन्सारमा राजा पृथ्विनारायण शाहको टोलीको माल सामन चेक जाँच गर्दा मुसलमान भंसार अधिकारीहरुले हप्की दप्की गरी हेप्दा पृथ्वी नारायण शाहले आफ्ना भारदारहरुलाई तरवार चलाउन आदेश दिए पछि केही मुसलमानहरु मारिएका थिए । त्यस घटनामा पनि सँगै गएका शिवराम सिंह बस्न्यात, विराज बखेती, जय बानिया आदी सरिक थिए । यस ठाउँमा खासगरी वनारसवाट किनेर ल्याएका हतियार जफत गर्ने प्रयास भएको बुझिन्छ । अवधमा नवाव सआदत खान का अधिनमा वाराणसी पर्दथ्यो र एकजना भुईहार ब्राम्हण वलवन्त सिंहलाई वाराणसी र वरीपरीका क्षेत्र जमिन्दारी दिइएको थियो ।

गोमती किनारको भंसारको घट्ना पछि वलवन्तासिंहको मान्छे आई टोलीलाई आक्रमण गर्न सक्ने भएको आपसमा छलफल गरी केही समय विराज वषेती पृथ्वीनारायण शाह जस्तै भई वस्ने निधो भए पनि पछि जय वानिया सँग अनुहार मिल्छ भनि उसैलाई पृथ्वी नारायण शाहले चढने गरेको घोडा चढन दिएको भन्ने वयान पनि पाइन्छ । तर जे सुकै होस पृथ्वी नारायण शाहको यो टोली सबै प्रकारको विध्न वाधा छिचोल्दै बुटवलमा आई विश्राम लियो ।

त्यती वेला पाल्पाका राजा मुकुन्द सेन (द्धितिय) पनि बुटवलमा हिउदमा घाम ताप्न भनी बसेका थिए र सो समयमा पृथ्वि नारायण शाह र उनको त्याहाँ भेट भएको प्रसँग पाइन्छ । पाल्पाका सेन राजाहरु पृथ्वीनारायण शाहका नातेदार पर्दथे र मुकुन्द सेन द्धितिय बुढा भएकाले पृथ्विनारायण शाहका दाजु पर्दथे । त्याहाँ केही दिन विश्राम गरे पछि गोरखाली टोली रिडीघाट र आधिखोला पार गरी गोरखा राज्यमा फर्केको थियो ।

यसको एक वर्ष पछि अर्थात वि.सं १८०१ आश्वीन १५ गतेका दिन सबै तयारी र आधुनिक हातहतियार साथ गोरखाले नुवाकोट माथी तेश्रो आक्रमण गरेको थियो । पहिले गरेका दुई आक्रमणहरु –एउटा राजा नर भुपाल शाहको पालामा र अर्को पृथ्वीनारायण शाहको पालामा) विफल भएका थिए । यस आक्रमणमा पृथ्वी नारायण शाह आफै यूद्धमा गएका थिए । आक्रमणका समयमा नुवाकोटका उमराव जयन्त राना काठमाडौं गई रहेका थिए र उनका छोरा शंखमणी रानाले नुवाकोटको रक्षा गरि रहेका थिए । सायद यसै मौका छोपी गोरखाले तीन तीर बाट आक्रमण गर्दा पृथ्वी नारायण शाहका साथै गएका भाई दलमर्दन शाहले, जो साढे १३ बर्षका मात्र थिए, शंखमणी राना माथी जेठी तरवार चलाई गोरखाको विजय भएको थियो ।

सो लडाईमा चौतारिया महोद्याम कीर्ति शाह, काजी कालु पांडे, शिवराम सिंह वस्न्यात, चन्द्र प्रगास शाह, वीरभद्र बस्न्यात, दलमर्दन शाहको प्रमुख भूमिका रहेको थियो । आफ्नो छोराको मृत्यूको समाचार कान्तिपुर मै सुनेका जयन्त राना तुरुन्तै नुवाकोट आई नजिकै वेलकोटमा आएर वसेका थिए । त्यो कुरा राजा पृथ्वी नारायण शाहले थाहा पाई केही सेना लिई तुरन्तै वेलकोट आक्रमण गर्न गएका थिए जसमा धेरै गोरखाली सेना हताहत भई सकेकोले पछि हट्ने निर्णय लिन लागेका थिए ।

तर काजीकालु पाडेले ठूलो फौज लिई सोही वेला पृथ्वी नारायण शाहको सहायताकालागि पुगेका थिए । उनले अहिले पछि हट्न बुद्धिमानी नहुने कुरा गरी बेलकोट आक्रमण गर्दा जयन्त राना को हार भएकोले उनलाई जीवीतै समाती नुवाकोट ल्याईएको थियो । पछि उनलाई छाला काढी मार्ने कठोर सजायँ दिइएको थियो । नुवाकोट विजय गोरखालीहरुको एकीकरणतर्फ एउटा ठूलो पहिलो कदम थियो ।

राजा पृथ्विनारायण शाहले नुवाकोट विजय पछि नेपाल तिब्बत व्यापारको मूख्य बाटो केरुङ्ग गोरखाको नियन्त्रण आयो । पछि शिवराम सिंह लाई सेनापति नियूक्त गरी नालदुम र महादेव पोखरी आक्रमणमा पठाए । यसो गर्नुको प्रमुख उद्देश्य तिब्बतको व्यापारमा पूर्ण रुपले नियन्त्रण गर्नु नै थियो किन भने नुवाकोट पछिको काठमाडौं उपत्यकाका मल्ल राजाहरुको कुतीबाट हुने व्यापार यही क्षेत्रबाट सञ्चालन भई रहेको थियो । त्यसैले यसलाई पनि नियन्त्रणमा लिए पछि काठमाडौं उपत्यकाको आम्दानीको श्रोत समाप्त हुने थियो ।

त्यसवेला कान्तीपुरका तर्फवाट नालदुम र महादेव पोखरी क्षेत्रमा उमरावमा रुपमा काशीराम थापा थिए । उनि र उनका भाई परशुराम थापाले उक्त क्षेत्रको पूर्ण रुपमा नियन्त्रणमा लिएका थिए । तर नुवाकोट फेरि गोरखालीहरुबाट कान्तिपुरमा फिर्ता ल्याउने दिलासा राजा जय प्रकाश मल्ललाई दिलाई उनको आदेशमा वि.सं. १८०२ फागुनमा काशिराम थापाले करिव १३०० फौज लिई नुवाकोटमा आक्रमण गरेका थिए तर गोरखालीबाट उनको नराम्रो हार भयो ।

यस आक्रमणमा गोरखातर्फको नेतृत्व खुद राजा पृथ्वीनारायण शाहले गरेका थिए । त्यसपछि यी थापाले राजा जय प्रकाश मल्ललाई अनुहार देखाउन नसकी आफ्नो घर पलाञ्चोकमा गई बसेका थिए । राजा जय प्रकाशवाट तीन चार पटक बोलाउन पठाउदा पनि नआएकोले राजा रिसले चूर भएका थिए । यसै वेला वि.स. १८०३ श्रावण २१ गते जनै पूर्णिमाको दिन गौरी घाटमा काशिराम थापा र साथीहरु आएको थाहा पाई आफ्ना नगरकोटी सेनाहरुलाई उनले मार्ने आदेश दिएका थिए । त्यसरी उनीहरु मारिएका थिए ।

यस घटनाको लगत्तै पछि राजा जय प्रकाश मल्लको विरोधी भएर काशीराम का भाई परशुरामले कान्तीपूर छोडी रणजीत मल्ल सँग मिल्न गई त्याहाँ का सेनापति भएका थिए । साथै वि.सं. १८०३ भाद्रमा गोरखा गई राजा पृथ्वि नारायण शाहलाई परशुराम थापाले भेटी जय प्रकाश मल्ल विरुद्ध उकास्ने काम गरेका थिए । पृथ्वी नारायण शाहले पनि थापाको कुरा सुनी आफ्ना मितवावा राजा रणजीत मल्लसँग कुरा गरी साँखु चाँगु आदि क्षेत्र भक्तपुरलाई छोड्ने सर्तमा त्यस क्षेत्रमा कान्तिपुरको अधिनमा रहेको श्रेत्रलाई बाँडी चुडी लिने योजना बनाए ।

सोही योजना अन्तरगत नै राजा पृथ्वि नारायण शाहले शिवराम सिंह बस्न्यातलाई ९०० सेना दिई वि.सं १८०३ को असोज महिना तिर पठाएको अनुमान गरिएको छ । राजा पृथ्वि नारायण शाह पनि ती सेना सँगै आएर उक्त सेनाले नालदुम गढीमाथी अधिकार जमाए पछि भक्तपुर गई राजा रणजीत मल्ल सँग भेटघाट गरेका थिए भनि बाबुराम आचार्यले लेखेका छन् । (नेपालको संक्षिप्त वृतान्त, द्धितिय संस्करण, पेज ११७) साथै कान्तिपुरका काजी तौढिक प्रधान आफ्ना दाजु दाटी प्रधानलाई राजा जयप्रकाश मल्लले मारी दिएका हुनाले रिसाई पाटनका काजीहरुसँग मिलेर वि.सं १८०३ असोज दशैंको महानवमीको दिन कान्तीपुर दरवार घेरी राजालाई पदच्यूत गराएका थिए ।

रानी दयावतीको संरक्षकत्वमा उनका आठ बर्षका छोरा ज्योती प्रकाश मल्ललाई राजा तुल्याई दिएका थिए । भक्तपुरको सेनापति भई बसेका परशुराम थापाले संझौता अनुसार गोरखालाई मद्दत गर्नु पर्नेमा काजी तौढिकको गोप्य संदेश पाएर कान्तिपुर र ललितपुरका सेनालाई मद्दत गरी वि.सं. १८०३ फाल्गुन १६ गते (२४ फेब्रुअरी सन् १७४७) शुक्रवार राती आक्रमण गर्दा गोर्खाली सेनाको नेतृत्व गरेका केही सैन्य सहित शिवराम सिंह बस्न्यातको साँगाचोक भन्ने स्थानमा वीरगती प्राप्त गरेका थिए ।

हाल त्यस ठाउँलाई जहर सिंह पौवा भन्ने नामले चिनिन्छ । गोरखालीहरुको यो हार परशुराम थापा र राजा रणजित मल्लले राजा पृथ्विनारायण शाहलाई दिएको एउटा ठूलो धोका थियो । त्यस पछि पृथ्विनारायण शाह राजा रणजीत मल्ल सँग धेरै रिसाएका थिए । बंशावली अनुसार राजा रणजीत मल्ल सँग रिसाएर यो कुरा राख्दा उनले मैले धोका दिएको होईन परशुराम थापाले हो भनेर भनेका थिए ।

राजा पृथ्वी नारायण शाहले त्यसो भए मलाई परशुराम थापालाई सुपुर्र्दगी गर्नुहोस् त्यसपछि त्यसलाई म जे गर्नुपर्छ गरौला भनेका थिए भनि उल्लेख गरिएको पाइन्छ । साथै एक पटक राजा पृथ्वी नारायण शाहले काजी कालु पाडे लाई राजा रणजीत मल्ललाई पक्रन भनी पलाञ्चोक पठाएकोमा कसैले पूर्व सुचना दिएकाले रणजीत मल्ल बनेपा बाटै भक्तपुर फर्किएको कुरा पनि उल्लेख गरेको पाइन्छ ।

आफ्ना सेनापति शिवराम सिंह बस्न्यातको वीरगती पछि राजा पृथ्वी नारायण शाहले ठूलो पाठ सिकेका थिए । पछि गएर उनले राजा रणजित मल्ल र परशुराम थापा चौविसे राज्यहरुसँग मिलि लमजुङ्ग र पर्वत द्धारा गोरखालाई आक्रमण गर्ने योजना बुनेको पत्ता लगाइ केही पैसाको सहायता लिई चौविसी राज्यहरुलाई मद्दत गर्न पोखरा पुगेका परशुराम थापाका भाईलाई मार्न झागल गुरुङ्गलाई माझीका भेषमा पठाई मार्न लगाएका थिए । यो कुराको उल्लेख उनले दिब्य उपदेशमा पनि गरेका छन् ।

सेनापति शिवराम सिंह बस्न्यात नेपाल एकिकरण अभियानका गोरखा राज्यका पहिलो सेनापति थिए र उनी भक्तपुरले दिएको ठूलो धोकावाट मारिएका थिए भनि पूष्टी हुन्छ । उनी नेपालको एकिकरण अभियानमा पहिलो वीरगती प्राप्त गर्ने एउटा कुशल योद्धा थिए । पछि गएर उनी जत्तिकै सक्षम र इमान्दार उनका चार छोराहरु क्रमशः काजि नाहर सिंह, काजी केहर सिंह, काजी अभीमान सिंह र काजी धोकलसिंह राजा पृथ्वी नारायण शाहको मरवट नीति अनुरुप हुर्के बढेर नेपाल एकिकरण अभियानमा संलग्न भई नेपाल राज्य विस्तार र सुदृढ गर्न मा निकै महत्वपूर्ण योगदान दिएको बारे नेपालको इतिहासमा उल्लेख भएको पाइन्छ ।

श्रीपाली बस्न्यातहरुको कुलपुजाः

सेनापति शिवराम सिंह बस्न्यात श्रीपाली बंशका भारद्वाज गोत्रीय खस क्षेत्री थिए । राजा पृथ्वी नारायण शाहले काल खण्ड तथा मल्ल र लिच्छवी काल भन्दा पनि अधि सुदुर पश्चिम मा रहेको पाँच राज्य मध्ये एक शक्तीशाली श्रीपाल राज्य थियो र त्याहा वस्ने वासिन्दाहरु श्रीपाली कहलिन्थ्यो । त्यस पछि द्रब्य शाहले गोरखामा वि.सं. १६१६ मा राज्य स्थापना गर्दा यिनका पुर्खाहरु पनि साथै गोरखाका शाह राजाहरुलाई मद्दत गर्ने भारदार भई गोरखा आएको ईतिहाशमा पाईन्छ ।

श्रीपाली बस्न्यातहरु हरेक बर्ष भाद्र शुक्ल पूर्णिमाको दिन आफ्नो कुल देवताको पूजा आराधना गर्ने परम्परा रही आएको छ । यिनीहरु सूर्यबंशी हुन् र कुलपुजा गर्ने आफ्नै विशेष प्रकारको रिति रिवाज, तौर तरिका र पुजा बीधि छ । शिशाकोटी महादेव र महाकाली यस कुलका प्रमुख देवी देवता हुन् । बा¥ह भाई मष्टो देवता मध्ये आदी मष्ट अथवा ढंडार मष्ट यीनिहरु को मष्ट देवता हुन् । वर्तमान अवश्थामा श्रीपाली बस्न्यातहरु नेपालको राज्यको सबै जसो जिल्लाहरुमा वसोवास गर्दै आएका छन् र सबैले भाद्र शुक्ल पूर्णीमा कै दिन आफ्नो कुल देवताको पूजा गर्ने चलन छ । मुल थलो गोरखामा पनि सोही दिन पूजा हुने भए पनि हरेक चार पाँच बर्षमा विशेष पूजा गर्ने चलन छ । धामी बस्ने व्यक्तीले आफु कामेर बस्दा देउता बकेर उनले जुन बर्ष विशेष पूजा हुन्छ भनि भन्छन् त्यही वर्ष विशेष पुजा हुने गर्दछ ।

यस बर्ष यही असोज ९ गते भाद्र शुक्ल पूर्णिमाको दिन गोरखामा श्रीपाली बस्न्यात समाज गोरखाको प्रमुख अग्रसरतामा पूजा हुने हुनाले सम्पूर्ण श्रीपाली बस्न्यातहरुको गोरखाको रानीस्वरामा सदा झैं जम्मा भई विशेष पूजा हुने भएको छ । यसै गरी काठमाडौंको फर्पिङ, मच्छेगाउँ, र्कितिपुर, आरुबारी तथा बाग्लुङ्ग गुल्मी म्याग्दी आदि स्थानहरुमा पनि स्थानिय रुपमा बसोबास गर्दै आएका बस्न्यातहरुले कुलपुजा गर्ने कार्यक्रम छ । गोरखामा हुर्दै आएको कुलपुजा सेनापति शिवराम सिंह बस्न्यात ले वि.सं. १८०२ देखि सुरु गराएका थिए भन्ने कुरा ईतिहासमा पाइन्छ ।
(लेखक बस्न्यात पूर्व राजदूत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्