सैनिक परेडमा अन्धाधुन्ध गोली चल्यो



तेहरान, (एजेन्सी)
इरानको दक्षिण पश्चिमी शहर अहभाजमा आयोजित एक सैनिक परेडमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा सर्वसाधारणलगायत थुप्रै सैनिकको ज्यान जानुका साथै अन्य कम्तीमा २० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएको छ।

सैनिक पोसाकमै रहेका ती अज्ञात आक्रमणकारीले परेड चलिरहेको नजिकको एउटा पार्कबाट गोली चलाएका थिए। सरकारी सञ्चार निकायले यस घटनामा इस्लामिक स्टेटका लडाकँको हात हुनुपर्ने अनुमान गरेको छ।

इरानका विभिन्न स्थानमा अहिले सन् १९८० देखि १९८८ सम्म इराकसँग भएको युद्धको स्मरणमा वार्षिक सैनिक परेड कार्यक्रम आयोजना गरिरहेको छ। फार्स समाचार निकायका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजे शुरू भएको सो आक्रमणमा ४ जना व्यक्ति संलग्न रहेका छन्। स्थानीय उपगभर्नर अलि होसेन होसेइनजादेहले तीमध्ये २ सुरक्षाकर्मीको जवाफी हमलामा मारिएको र अन्य दुई जनालाई गिरफ्तार गरिएको बताएका छन्।

सैनिक मञ्चलाई लक्षित गरी भएको यस आक्रमणमा ९ सैनिक मारिएको र घाइते हुनेमा एक बालकसमेत रहेको बताइएको छ। करिब १० मिनेटसम्म भएको आक्रमणलाई लिएर अझैसम्म कसैले जिम्मेवारी दाबी गरेको छैन। केही सरकारी अधिकारीहरूले यसमा सुन्नी लडाकँ वा अरब नागरिकको हात हुनुपर्ने बताएका छन्। गत वर्षदेखि अहभाज शहरमा सरकारविरुद्ध विरोध प्रदर्शन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्