अब पालो भँवरा र बारुलाको



आफ्नै बोलीमा अडान नभएका नेता छ्यापछप्ती भएर होला कुनै बेला भनिन्थ्यो–‘बोली होस त ओलीको जस्तो ।’ तर सत्ता उन्माद धेरै भएर होला ओलीपनि अहिले त उही ड्याङका मुला भा छन् । उनको बोलीको ओज घट्या छ, बोलीको ठेगान हुन छोड्या छ ।

प्रतिपक्षीमाथि अरिङ्गाल झैं प्रतिकार गर्न निर्देशन दिएर देश विदेशमा चर्चा कमाएका उनी अहिले रातारात बदलिएका छन् । अरिङ्गाल होइन कर्मी मौरी बनेर देश निर्माणमा लाग्नु प¥यो रे अब । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भने–‘कर्मी मौरीझैं एकजुट भएर काममा लाग्नुस्, सबैको मेहनतले देश निर्माण हुन समय लाग्दैन ।’

हरेक साता उनका तर्क फरक हुन्छन्, अब कुनदिन पार्टी कार्यकर्तालाई भवँरा झैं बन्न उर्दी जारी गर्न बेर छैन । प्रतिपक्षी र विभिन्न शक्तिकेन्द्रको शक्ति बुझ्न भँवरा हुन आवश्यक भएको र त्यसका लागि तत्कालै उड्न जरुरी भएको भन्दै ओलीले उर्दी गर्न बेर छैन । अरिङ्गाल, मौरी, भँवराको चर्चा गरेर मात्रै सरकार सफल होला र, धरहरालाई त विश्वास लाग्दैन, त्यसैले चर्चा बारुला र झिँगाको पनि हुनुपर्छ ।

बारुला, झिँगा र अन्य किरा फट्याङ्ग्राको चर्चा गर्दा सरकारले गति लिन्छ, प्रतिपक्षीले कटाक्ष गर्दैनन् भने त्यसबारेमा पनि बहस खुला हुनु पर्छ । बरु बालुवाटारमा यो सुझाव छिटै पुगोस ।

प्रतिक्रिया दिनुहोस्