गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित सेवा



काठमाडाैं ।
मेगा बैंक नेपालले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ ।

मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुभयो ।

नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौं रकम उपभोग र विलासितामा खर्च भइरहेको बताउँदै मेयर सापकोटाले अब मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न इन्द्रगांैडा र भुवाचिदीबासीलाई सजिलो भएको बताउनुभयो । नगरपालिकाको वडा न. ५ र ६ को वृद्घाभत्ता मेगाको शाखारहित बैंकिङ सेवाबाट हुने उहाँले घोषणा पनि गर्नुभयो ।

वडा न. ५ का वडाध्यक्ष भागीरथ खरेल र वडा नं ६ का वडाध्यक्ष खडगबहादुर खड्काले बैंकहरु विश्वासमा चल्ने संस्था भएकाले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताउनुभयो ।

शाखा प्रबन्धक पन्थीले शाखारहित बैंकिङ प्रतिनिधिसँग भएको मेसिनबाट खाताको रकम झिक्न खातावालाको औंठाछाप अनिवार्य रुपमा राखिने हुँदा खातावालाको रकम सुरक्षित रहने बताउनुभयो । उहाँले ढुक्क भई मेगा बैंकको अत्याधिक बैंकिङ सेवाको रुपमा रहेको शाखारहित बैंकिङ सेवाको सुविधा उपभोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्