कृषि ज्ञान केन्द्र स्थापनापछि किसान उत्साहित



राम धामी,डडेल्धुरा
कृषि विकास कार्यालयलाई ‘कृषि ज्ञान केन्द्र’मा प्रतिस्थापन गरेपछि यसको सेवा प्रवाहले नयाँ स्वरुप लिएको छ भने स्थानीय किसान उत्साहित भएका छन् ।

केन्द्र प्रमुख दिलबहादुर विष्टका अनुसार कृषकलाई आधुनिक तथा वैज्ञानिक सेवा प्रवाह गर्नका लागि कृषि विकास कार्यालयको सट्टा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । ‘अहिले कृषिमा आधुनिक प्रविधि भित्रिएसँगै बालीनालीमा नयाँ÷नयाँ रोग र किराको प्रकोप बढ्दै गएको छ ।

रोग र किराको उपचार तथा त्यसको उचित व्यवस्थापनका लागि विगतका दिनमा प्रवाह हुँदै आएको सेवा पर्याप्त नभएपछि विशेषज्ञ सेवा प्रवाह गर्न केन्द्रको अवधारणा ल्याइएको हो,’ केन्द्र प्रमुख विष्टले भने ।

प्रदेश नम्बर ७ सरकार मातहत रहने केन्द्रलाई कृषि क्षेत्रको विशेषज्ञ सेवा प्रवाह गर्ने भनिएको छ । जिल्लाका स्थानीय तहसँग समन्वय गर्ने केन्द्रको योजना छ । केन्द्रको योजना र सहज सेवा प्रवाहको चाँजोपाँजो मिलाउन केन्द्र जुटेको छ । साविकको जिल्ला कृषि विकास कार्यालयलाई खारेज गरी त्यसको शाखा स्थानीय तहमा राखिएको छ । नागरिक पनि विगतको भन्दा राम्रो सेवा स्थानीय तहबाट पाउने आशा र अपेक्षामा छन् ।

नागरिकको उक्त अपेक्षापँर्तिका लागि स्थानीय तहले कृषि सम्बन्धी सेवा प्रवाह गर्दा विशेषज्ञ सेवा प्रवाह गर्नुपर्ने भएको छ । त्यसैलाई सहयोग पु¥याउन केन्द्रको स्थापना गरिएको केन्द्र प्रमुख विष्टले बताउनुभयो ।

जिल्लामा स्थापना भएको कृषि ज्ञान केन्द्रले छिमेकी डोटी जिल्ला हेर्ने जिम्मेवारी समेत पाएको छ । कृषि विशेषज्ञसहितको जनशक्ति, आवश्यक बजेटको व्यवस्था, उच्च प्रविधि तथा भौतिक पँर्वाधार केन्द्रका लागि चुनौतीपँर्ण एकीकृत विकास समाज डडेल्धुराकी कार्यकारी निर्देशक पदमा गुरुङले बताउनुभयो ।

‘स्थानीय तहमा कृषि शाखा स्थापना त भयो, तर त्यहाँ विशेषज्ञ दक्ष जनशक्ति छैन,’ प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले भन्नुभयो–‘कार्यालयको नाम परिवर्तन गरेर मात्रै पुग्दैन, नयँँ कार्यालय स्थापनाका लक्ष्य र उद्देश्यहरु हासिल हुने गरी तत्काल काम थालनी गरेर व्यावसायिक कृषि उत्पादनमा अग्रणी डडेल्धुरा जिल्लाका किसानलाई आवश्यक सेवा दिन सक्नुपर्छ ।’

कृषि ज्ञान केन्द्रबाट त्यसको परिपँर्ति हुने भएकाले जिल्लामा कृषि सम्बन्धी योजना कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको अमरगढी नगरपालिका कृषि शाखाका प्रमुख टेकबहादुर विष्ट बताउनु हुन्छ । खेती, किसानीमा नयाँ÷नयाँ वैज्ञानिक प्रविधि र कृषियन्त्रको विकासले गति लिँदै गए पनि जिल्लाका ग्रामीण भेगका अधिकांश किसानले अहिले पनि परम्परागत रुपमा खेती गरिरहेका छन् ।

कृषि सम्बन्धी आधुनिक यन्त्रको पहुँच बढाउँदै आधुनिक प्रविधिबाट खेती गर्न कृषकलाई सहयोग गर्ने केन्द्रको उद्देश्य र लक्ष्य छ । कृषकले आधुनिक प्रविधिको ज्ञान हासिल गर्नसक्ने र उन्नत आधुनिक प्रविधिबाट खेती गरी सुधार ल्याउने योजना केन्द्रको छ । कृषि ज्ञान केन्द्रबाट परम्परागत खेतीलाई आधुनिक प्रणालीमा रुपान्तरण गर्न मद्दत पुग्ने विश्वास यहाँका किसानको छ ।

‘कृषि ज्ञान केन्द्रबाट विशेषज्ञ सेवा प्रवाह भएमा यसबाट हामी लाभान्वित हुन्छौँ,’ अमरगढी नगरपालिका–९ ढाँटगाँउका किसान लालबहादुर ढाँटले भन्नुभयो । जिल्लाका ५ गाउँपालिका र दुई नगरपालिका तथा डोटी जिल्लाका १० ओटा स्थानीय तहहरुमा कार्य क्षेत्र रहेको कृषि ज्ञान केन्द्र डडेल्धुरालाई शुरुवाती चरणमा काम गर्न त्यति सहज भने छैन । दुवै पहाडी जिल्लामा वर्षेनी बाढी, डुडुवा, विभिन्न खाले रोग किरा र नदीबाट हुने जग्गा कटानको समस्या किसानले भोग्दै आएका छन् ।

समयमा मल र बीउबिजन नपाउने समस्या कायमै छ । यी समस्याका बाबजुत डडेल्धुरा र डोटी जिल्लामा आधुनिक कृषिको विस्तारमा सम्भावना पनि प्रशस्तै रहेको कृषि क्षेत्रका अगुवाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्