पिकअप भ्यानलाई तह लगाऊ



यातायात व्यवस्था ऐन २०४९ ले व्यक्तिगत तथा सार्वजनिक प्रयोजनका लागि चलाईएका पिकअप भ्यानलाई अनुशासनमा राख्नको लागि कयौं गर्न हुने र नहुने कार्यहरु निर्धारण गरेको छ ।

रातो प्लेट बनाएर व्यक्तिगत तथा व्यावसायीक प्रयोजनका लागि लिईएका र कालो प्लेट बनाएर सार्वजनिक प्रयोजनका लागि लिईएका पिकअप भ्यानहरुले कानुनको पालना गर्नुपर्ने भए पनि सिधा कानुनको उल्लंघन गरेको पाईन्छ । ऐन व्यवस्था भएअनुसार तोकिएकोभन्दा धेरै यात्रु ओसारपसार गर्न नपाईने, भ्यानको छत राखेर सामान राख्न नपाईने लगायतका व्यवस्था भएपनि बागलुङ लगायत आसपासका ग्रामिण सडकमा गुड्ने पिकअप भ्यानले निर्वाध यस्ता बाध्यकारी नियमहरुको उल्लंघन गरिरहेका छन् ।

जिल्लामा सञ्चालनमा रहेका पिकअप भ्यानमध्ये औलामा गन्न मिल्नेले मात्रै छत नराखेको भेटिन्छ । सामान ओसारपसार प्रयोजनको लागि उत्पादकले ढाला सहितको भ्यानको निर्माण गरेको भएपनि पछिल्लो समय पिकअप भ्यानहरु सामान ओसारपसारमा भन्दा सार्वजनिक यातायात जस्तै यात्रु ओसारपसारमा लागेका छन् ।

ऐनमा व्यवस्था भएअनुसार पिकअप भ्यानले मान्छे ओसारपसार गर्न पाउँदैनन् तर पाँच सिट (ड्राइभरसहित) क्षमता रहेका भ्यानहरुले आठ जनासम्म यात्रु बोक्दै आएका छन् । यातायात सम्बन्धि कानुन कार्यान्वयन गराउने निकायसँग मिलेर व्यवसायीहरुले कानुन बिपरितका काम गर्दै आएका हुन् । यातायात व्यवस्था ऐनको कार्यान्वयन गराउने मुख्य जिम्मेबारी भनेको ट्राफिक प्रहरीको हो । यातायात सम्बनिध ऐन कानुनको बिषयमा जानकार रहेको ट्राफिक प्रहरी मुखदर्शक बनेका कारण यातायात क्षेत्रमा यस्ता खालका प्रबृत्तिहरु मौलाउँदै गएका छन् ।

पछिल्लो समय गाउँ गाउँमा पुगेका कच्ची सडकमा अन्य सार्वजनिक यातायातका साधनको पहुँच नहुने र पिकअप भ्यानको पहुँच सहज हुने भएकाले सर्वसाधारणलाई सुबिधा दिने बहानामा कानुनको ठाडो उल्लंघन भैरहेको छ । यातायात व्यवस्था ऐन उलंघन भएको खण्डमा वा ट्राफिक नियम पालना नगरेको खण्डमा त्यस्ता सवारप् साधन र सवारी चालक तथा मालिकहरुलाई कारवाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई हुन्छ । तर आफ्नै आँखा अघिदेखी, ट्राफिक प्रहरीका पोष्टहरुको बाटोहुँदै आठ जना यात्रु बोकेर छतमा सामान राखेका पिकअप भ्यानहरु आवतजावत गर्दा समेत आँखा चिम्लेको ट्राफिक प्रहरीमाथि शंका गर्ने ठाउँहरु उब्जेका छन् ।

आँफुलाई सहज भएको बेलामा सबै कानुनको माया मारेर यस्ता सवारी साधन निर्वाध चल्न दिने र असहज भएको अवस्थामा अथपा त्यस्ता खालका गाडीका चालक तथा मालिकसँग रिस उठेको अवस्थामा फेरी तिनै कानुनका बाध्यकारी व्यवस्थालाई उब्जाएर कार्वाहीका लागि राजस्व लिने प्रबृत्ति प्रहरीले सुधार गर्न आवश्यक छ ।

यातायात व्यवस्था ऐनले व्यवस्था गरेअनुसारको नियम पालना नगर्दा कानुनको उपहास मात्रै भएको छैन् जोखिम पनि बढेको छ । जर्बजस्त राखिएका सिटहरुमा कोचाकोच गरेर चालकले ब्रके परिवर्तन र गियर परिवर्तन समते गर्न नमिल्ने गरी यात्रु राख्दा दुर्घटनाको सम्भावना समेत बढी हुने गरेको छ । यातायात क्षेत्रको एउटा पाटो पिकअप भ्यानमा देखीएको खतरापुर्ण अनियमितताको नियन्त्रण गर्न सरोकारवाला निकायले समयमै ध्यान पु¥याउन जरुरी छ ।
– रमिता केसी, हाल ः काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्