बुद्धको सम्मान गरौं



३७ औँ अन्तराष्टिय शान्ति दिवस विश्वभर मनाउँदा यसका प्रवर्तक महामानव गौतम बुद्धको शान्तिको सन्देश आजपर्यन्त उत्तिकै महत्वपूर्ण मानीन्छ । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान् गरेअनुरूप सन् १९८२ देखि मनाइँदै आएको यो दिवस सन् २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको हो । नेपालमा विसं २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात् गर्दै सशस्त्र द्वन्द्वको विधिवत् अन्त्य भएको खुसीयालीमा २०६५ सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।

यस वर्ष ‘शान्ति, सुरक्षा, सम्मान र स्वाभिमानका लागि सँगसँगै’ भन्ने नारासहित शान्ति दिवस मनाइँदै छ । विश्व समुदायमा शान्तिको कामनासहित यो दिवस मनाइन सुरु गरिए पनि विश्व समुदाय विभिन्न द्वन्द्व र युद्धका कारण आक्रान्त बनिरहेको छ । विश्वयुद्धपश्चात् पनि युद्ध र यसका अवशेषहरुको अन्त्य नभइसकेको परिप्रेक्ष्यमा युद्ध रोकेर शान्ति स्थापना गर्ने मुल ध्येयका साथ विश्व जगतले जति ठूलो धनराशी खर्च गर्दैछ, त्यसको कैयौँँ गुना बढी शस्त्रको होडवाजी, आणविक अस्त्र परीक्षण र युद्धमा खर्च भइरहेको छ ।

नेपालमा सशस्त्र युद्धको समाप्ति भई देश राजनीतिक परिवर्तनपश्चात् नयाँ युगमा प्रवेश गरिसकेको सन्दर्भमा विभिन्न खाले हत्या–हिंसा, बलात्कार, अपहरण, लुटपाट, चन्दा असुलीलगायतका गतिविधिमा बढोत्तरी भइरहेको छ । दुईतिहाइको बहुमतप्राप्त सरकारले पनि हत्या–हिंसा, बेथिति, भ्रष्टाचार, अनियमितता र अराजकता न्यूनीकरण गर्न सकेको छैन । जनताको संविधानसमेत जारी भई कार्यान्वयन भइसक्दासमेत नेपाली जनताले शान्ति, सुरक्षा, सम्मान र स्वाभिमान हासिल गर्न सकिरहेका छैनन् । विश्वमा किन र के कारणले हिंसा बढिरहेको छ ? यसलाई रोक्न भइरहेका प्रयास किन सार्थक हुन सकेका छैनन् ? शान्ति दिवसमा बहस हुनुपर्ने सवाल हो यो ।

शान्ति, अहिंसा, मानव अधिकार र लोकतन्त्र एकअर्कामा परिपूरक हुन्छन् । लोकतन्त्र र मानव अधिकारको जगमा नै शान्ति स्थापना हुन्छ भन्ने सत्यलाई सरकारले आत्मसात् गर्न सकिरहेको छैन । नेपालमा सरकारका गतिविधि नै अशान्ति र हिंसातर्फ उन्मुख भइरहेको प्रतीत हुन्छ । किनभने, न्याय माग्दा सरकारले गोली ठोकेर हिंसा गर्छ । त्यसको दृष्टान्त कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणबाटै पुष्टि भइसकेको छ । गोली र दमनबाट शान्ति स्थापना हुन्छ भन्ने सोच्नु मुर्खतासिवाय केही हुन सक्दैन ।

शान्तिको अधिकार अन्तर्रा्ष्ट्रिय कानुनको अभिन्न अंग मानिन्छ । मानव अधिकार शान्तिपूर्ण अवस्थामा मात्रै उपभोग गर्न सकिन्छ । जनताको शान्तिपूर्ण अधिकारको रक्षा गर्नु राज्यको कर्तव्य हो । जनताले शान्तिको अधिकार प्राप्त गर्नु भनेको कानुनी राज्य स्थापना हुनु पनि हो । र, हरेक विवादको शान्तिपूर्ण तरिकाबाटै समाधान खोज्नु यसको मूल विशेषता हो । नेपालमा दशवर्षे सशस्त्र द्वन्द्वको शान्तिपूर्ण तवरबाटै समाधान भएको थियो । सहमति, सहकार्य र एकताबाट जस्तोसुकै द्वन्द्वलाई शान्तिमा परिणत गर्न सकिँदोरहेछ भन्ने दृष्टान्त हामीले ०६३ को शान्ति सम्झौताबाट लिन सक्छौँ ।

यद्यपि, द्वन्द्वका बाछिटा अझै बाँकी छ । भविष्यमा सशस्त्र द्वन्द्वको अभ्यास नहोस् भन्नाका खातिर गौतमबुद्धको शान्तिको सन्देश झनै औचित्यपूर्ण बन्न पुगेको छ । नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय विषय हुँदाहुँदै पनि गौतमबुद्धकै देशमा अशान्तिका अवशेषहरु रहनु दुर्भाग्य हो । विश्व अहिले हिंसा र शान्तिको दोसाँधमै जकडिएको छ ।

शान्ति चाहने तर व्यवहारमा हिंसा गर्ने प्रवृत्तिले विश्व शान्तिमा चुनौती खडा भएको छ । शान्ति हाम्रो संस्कृति भएकाले हरेकको मनमस्तिष्कबाट हिंसाको अन्त्य गर्न सके समाजमा शान्ति स्थापना गर्न सकिन्छ । समाजमा शान्ति हुन सके शान्ति दिवस मनाउनुको पनि सार्थकता हुने छ ।
– राजाराम कार्की, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्