‘रमेश’ लाई सम्झिँदै मुख्यमन्त्री



हेटौंडा ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढी गाउँपालिका मक्राञ्चुलीमा रहेको जनयुद्धकालिन शहीद रुद्र पाख्रिनको स्मृतिमा निर्मित रुद्रबाटिका अवलोकन गर्नुभएको छ । शान्तिचोकमा निर्मित पाख्रिनको प्रतीमा करिब साढे ६ फिट अग्लो ग्लास फाइबरबाट बनाइएको छ ।

अवलोकनका क्रममा उहाँले बाटिकाको विकास लागि योजना बनाउनुपर्ने बताउनुभयो । योजना बनाएर ल्याए प्रदेश सरकारले पार्कका रुपमा विकास गर्न बजेट विनियोजन गर्नसक्ने उहाँले आश्वस्त पार्नुभयो ।

मुख्यमन्त्री पौडेलले गाउँपालिकासँग समन्वय गरेर अगाडि बढिने भन्दै वाटिकामा पर्यटक आकर्षित हुने गरी संरचना निर्माण गरिनुपर्ने सुझाउनुभयो । जग्गाको क्षेत्रफल यकिन गरेपछि गुरुयोजना बनाएर प्रत्येक वर्ष नयाँ संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले व्यबस्थापन, सामाजिक र साँस्कृतिक पक्षलाई ध्यान दिएर वाटिकाको स्तरीकरण गर्नुपर्ने बताउनुभयो । वाटिका व्यबस्थापन समिति अध्यक्ष मानकुमारी नेपालीले वाटिकाका विषयमा जानकारी दिनुभएको थियो ।

अवलोकनका क्रममा ३ नम्बर प्रदेश सांसद्द्वय कुमारी मोक्तान र प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका नेता बद्री लम्साल, भीम पाख्रिन, मकवानपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीम परियार सहभागी हुनुभएको थियो । वाटिकाको २०६३ सालमा निर्माण सुरु गरिएको थियो ।

२०५४ सालबाट पूर्णभूमिगत भएर राजनीतिक गतिविधि सञ्चालनमा सक्रिय रही २०६९ पुस २८ गते विहान करिब ८ बजे तत्कालीन नेपाली सेना र प्रहरी टोलीबाट हत्या गरिएका रुद्रबहादुर पाख्रिनको सम्मानमा मकवानपुरमा शहीद स्मृति बाटिका निर्माण गरिएको हो ।

हेटौंडाबाट नजिकको पर्यटकीय गन्तव्यका रुपमा क्रमशः विकास गर्दै लैजाने लक्ष्य संस्थाले लिएको छ । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको वाटिकाबाट हटिया, हर्नामाडी, हेटौंडा औद्योगिक क्षेत्र र हेटौंडा बजारका दृष्य स्पष्ट देख्न सकिन्छ ।

उक्त स्थान हेटौंडाबाट करिब पाँच किलोमिटर पूर्वमा पर्दछ । त्यहाँ जिल्ला विकास समितिको २८ लाख ५० हजार रुपियाँसमेत गरी करिब ३३ लाख तीनहजार रुपियाँ लागतमा वाटिका निर्माण गरिएको छ । बाटिकाको स्तरोन्नतिका लागि जिविसले थप चार लाख विनियोजन गरेको थियो ।

२०६३ सालमा गठित शहीद रुद्र पाख्रिन स्मृति बाटिकाका अनुसार पार्टीको निर्देशनबमोजिम मकवानपुरमा जिल्ला जनसरकार गठनका लागि पाख्रिनले नै नेतृत्व गर्नुपर्ने भएपछि उहाँ २०५९ पुसमा उदयपुरबाट मकवानपुर खटिनुभएको थियो ।

मकवानपुरको गोगने–६, कालीखोला बांगेमा जन्मिनुभएका पाख्रिनले आफ्नो जीवनकालमा रिक्सा र ठेला चलाउने, साइकल मर्मत गर्ने, घरघरमा रंग लगाउने र अखबार बेच्नेदेखि भारी बोक्ने कामसमेत गर्नुभएको थियो ।

अरुको कमजोरीप्रति टीकाटिप्पणी गर्नुभन्दा आफ्ना कमजोरीप्रति सजग र सचेत रहने शालीन व्यक्तित्वका रुपमा परिचित पाख्रिन राजनीतिक वृत्तमा ‘रमेश’ नामले परिचित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्