बैतडीका स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन, कामकाजमा समस्या



विनोद सिंह विष्ट, बैतडी ।
सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश संघिय संरचनामा गई स्थानीय सरकार गठन भएको १ बर्ष बढी बितिसक्दासमेत यहाँका ६ गाउँपालिका र ४ नगरपालिका अझै शिक्षा शाखा प्रमुखबिहीन बनेका छन् ।

शिक्षा शाखा प्रमुखबिहीन हुँदा जिल्लाका स्थानीय तहहरुले शिक्षासम्बन्धी कामकाज गर्न असहज भएको जनाएका छन् । नगरपालिकामा उपसचिव १ , शाखा अधिकृत १ र १ जना प्राविधिक सहायक र गाउँपालिकाका १ जना शाखा अधिकृत र १ जना प्राबिधिक सहायकको दरबन्दी रहेको छ ।तर बैतडीका कुनै पनि स्थानीय तहमा त्यो दुबन्दी पदपुर्ती हुन सकेको छैन् । दरबन्दी पदपुर्ती नहुँदा शिक्षासम्बन्धीका कामकाज गर्न समस्या भईरहेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । उनले भने“विकासको मेरुदण्ड मानिएको शिक्षाका कर्मचारी अभावमा कामकाज प्रभावित भएको छ ”
नेपालको संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको भएपनि शिक्षाका दरबन्दी पदपुर्ती नहुँदा समस्या भएको छ ।

संविधानको व्यवस्थासँगै नगरपालिकाको नगर शिक्षा शाखाको प्रमुख र गाउँपालिकामा गाउँ शिक्षा शाखामा शिक्षाका अधिकृतहरू खटाइएका हुन् । तर यहाँका स्थानीय तहमा कर्मचारी पुगेका छैनन् ।

साविकमा विद्यालय निरीक्षकको जिम्मेवारीमा रहेका शिक्षाका अधिकृतहरूलाई नै स्थानीय तहमा शिक्षा शाखा प्रमुखका रूपमा खटाइएको थियो । शिक्षा अधिकारी नहँुदा स्थानीय तहमा शिक्षा कार्यक्रम, नीति नियम निर्माण, विद्यालयको व्यवस्थापन, अनुगमन र निरीक्षणको काम प्रभावित भएको छ ।

शिक्षा प्रमुखको जिम्मेवारी श्रोत व्यक्तीलाई
जिल्लाका कुनै पनि स्थानीय तहमा सरकारी दरबन्दी अनसार कर्मचारी नहुँदा समस्या हुदै आएको छ । यहाँका १० वटै स्थानीय तहमा शिक्षाका निजामती कर्मचारी नभएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । दोगडाकेदार गाँउपालिकामा १ जना प्राबिधिक सहायक बाहेक अन्य स्थानीय तहमा निजामती कर्मचारी नभएको विद्यालय निरीक्षक शंकर दत्त भट्टले बताए ।

श्रोत व्यक्तीले नै हाल जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखा सम्हालिरहेका छन् उनले भने“कर्मचारी पदपुर्ती नहुँदासम्म श्रोत व्यक्तीलाई शिक्षा शाखाको जिम्मेवारी दिईएको छ ” शिक्षकवाट काजमा रहेको श्रोतव्यक्तीले यसअघि विभिन्न क्षेत्रमा खटाईएका थिए । ती श्रोतव्यक्ती नै अहिलेका स्थानीय तहका शाखाका जिम्मा पाएका हुन् ।

शिक्षा शाखा प्रमुख बिहीन स्थानीय तह बन्दा शिक्षा नियमावली बनाउने, विद्यालय मर्ज गर्नुपर्ने काम र शिक्षा बजेट नै खर्च गर्न नसकिने अवस्था रहेको जनाईएको छ ।

संघीय सरकारले शिक्षाका उपसचिवहरूलाई नगरपालिका र गाउँपालिकामा शाखा अधिकृत खटाईने तयारी भएकोले केही स्थानीय तहमा पदपूर्ति हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए । उनले भने“संघिय मन्त्रालय मर्ज हुदाँ भएको अलमलले समस्या आएको छ , समस्या समाधान हुन्छ”

सरकारी दरशन्दी अनुसार बैतडीमा रहेका ६ गाउँपालिका र ३ नगरपालिकामा २४ जनाको कर्मचारी दरबन्दी रहेको छ । तर जिल्लाको दोगडाकेदार गाउँपालिकामा १ जना प्राविधिक सहायक बाहेक अन्य २३ जनाको दरबन्दी हुन सकेको छैन् । नगरपालिकामा उपसचिव १ , शाखा अधिकृत १ र १ जना प्राविधिक सहायक र गाउँपालिकाका १ जना शाखा अधिकृत र १ जना प्राबिधिक सहायकको दरबन्दी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्