अझै पनि स्टेचरकै भर, अस्पताल पुर्याउन नसक्दा ४ महिनाको शिशुको ज्यान गयो



धनवीर दाहाल, रुकुम ।
त्रिबेणी गाँउपालिका ९ का बिरेन्द्र गहतराजले ५ घण्टामा स्टेचरमा बोकेर श्रीमती सिर्जनालाई अस्पताल पुर्याए । सुत्केरी व्यथा लागेपछि श्रीमतीलाई सुरक्षित सुत्केरी गराउन जिल्ला अस्पताल पुर्याउनै पर्ने बाध्यता बिरेन्द्रको थियो । बर्षातका कारण भत्कीएका ग्रामिण सडकहरु पुर्ननिमार्ण नहुँदा बिरामीलाई समयमा अस्पताल पुर्याउन समस्या भएको छ । सुत्केरी भईसकेपछि पनि आमा र बच्चालाई घरसम्म ल्याउन समेत स्टेचरमै राखेर ल्याउनुपरेको भन्दै बिरेन्द्रले दुखेसो गर्नुभयो । “सडक सुचारु भएको भए एम्बुलेन्स वा जीपमै भएपनि सजिलै ल्याउने÷लैजाने हुनेथियो ।’ उहाँले भन्नुभयो,‘स्टेचरमा लिँदा र ल्याउँदा आफ्ना आफन्तहरुको सहयोग लिनुप¥यो ।’ आफन्तहरु नहुनेका लागि स्टेचरमा बिरामी ओसारपसार गर्न निकै समस्या हुने गरेको स्थानीय बताउँछन् ।

रुकुम पश्चिमका विभिन्न ग्रामीण सडकहरुमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा बिरामीले सास्ती खेप्नुपरेको हो । मौसम परिवर्तनको समयमा धेरै विरामी हुने गरेको र उनीहरुलाई अस्पतालसम्म पु¥याउन गाडी नहुँदा डोको र स्टेचरमा राखेर लिनुपर्ने बाध्यता यथावत रहेको छ । जिल्ला सदरमुकाम मुसिकोटदेखि पेउघा, नुवाकोट, खोलागाउँ, लगायतका क्षेत्रमा जाने सडक विग्रिएपछि तीनमहिनादेखि यातायात सेवा अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा समयमै उपचार नपाएर स्थानीय एक स्थानीय बच्चाको मृत्यु समेत भएको छ ।

गत भदौ ३१ गते त्रिवेणी गाउँपालिका –१० का प्रेमप्रकाश खड्काको चारमहिनाको छोरा समयमै उपचार गर्न नपाएपछि मृत्यु भएको स्थानीय शेरमान खड्काले जानकारी दिनुभयो । जण्डिसको समस्या देखिएपछि बोकेरै अस्पताल पु¥याउँदा ढिला भएको भन्दै जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं पठाएको र उतै बच्चाको मृत्यु भएको उहाँले बताउनुभयो । यातायात सुविधा नहुँदा र दिनभरको घाममा सदरमुकाम पुग्दा थप समस्या भएको स्थानीयको भनाई छ । त्यस्तै सामान्य ज्वरो आएपछि स्थानीय मेडिकलमा उपचार गर्दा निको नभएर घरमै थलिएका त्रिवेणी –१० का डिल्लीबहादुर खड्कालाई पनि यस्तै बाध्यता भयो ।
मेडिकलमै सञ्चो हुने आशमा पहिले कतै नलिएको र एक्कासी समस्या बढेपछि स्टेचरमै बोकेर जिल्ला अस्पताला सल्ले लिएर उपचार गरिएको उहाँका बुवा गणेशबहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै सोही निवासी वीरबहादुर बुढालाई जण्डिसको रोगले ग्रसित बनाएपछि उहाँपनि मान्छेकै सहारामा बोकेर अस्पताल पुगेको छोरा घमण्ड बुढाको भनाई छ । उहाँहरुजस्ता थुप्रैले यस्तो समस्या भोग्नुपरेको गुनासो गर्दै आएका छन् । मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिको क्षेत्रभित्र पर्ने यस सडक खण्डमा अब वर्षात सकिएकोले दशैँतिहार अगाडि नै सडक सफा गरिने बताईएको छ । सडक विभाग मार्फत उक्त सडकको स्तरोन्नति गर्ने योजना समेत परेकोले आगामी दिनमा यस्तो समस्या नआउनेमा स्थानीय आशावादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्