म्यानमारको नेपालमाथि गोलको वर्षा



नेपाल समाचारपत्र
काठमाडौं
नेपालमाथि म्यानमारले गोलको वर्षा गरेको छ। एसीसी यु १६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल म्यानमारसँग ११–१ गोलअन्तरले हारेको हो। हल्चोकस्थित मैदानमा शुक्रबार आफनो दोस्रो खेलमा हारेपछि नेपालको अन्तिम चरणमा पुग्ने आस पनि सकियो। पहिलो खेलमा फिलिपिन्ससँग ४–० को हार बेहोरेको नेपालले म्यानमारसँग पहिलो हाफमै १० गोल बेहोरेको थियो।

दोस्रो हाफमा नेपालको तर्फबाट निकिता थोकरले एक गोल फर्काएकी थिइन्। यो नेपालको जारी प्रतियोगितामा पहिलो गोलसमेत थियो। नेपालले आइतबार समूह ई अन्तर्गत अन्तिम खेल मलेसियासँग खेल्नेछ। मलेसियाको पनि दुई हारसँगै अन्तिम चरणमा पुग्ने संभावना सकिएको छ। हिजै भएको खेलमा फिलिपिन्सले मलेसियालाई १–० ले हराएको थियो।

यस समूहबाट म्यानमार र फिलिपिन्स ६÷६ अंकसहित अन्तिम चरणमा पुग्ने पक्का भएको छ। प्रत्येक समूहबाट २÷२ टोलीले थाइल्यान्डमा सन् २०१९ मा हुने एसीसी यु १६ महिला च्याम्पियनसिपमा खेल्न पाउनेछन्। यसका लागि जापान, दक्षिण कोरिया र उत्तर कोरिया छनोट भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्