मनाङ छाडेका अनिल थ्रीस्टारमा पुगे



फिरोज राजोपाध्याय, काठमाडौं

यही असोज १३ गतेदेखि हुने सहिद स्मारक ए डिभिजन लिगमा अनिल गुरुङले खेल्ने पाउने भएका छन्।

करिब ६ महिना फुटबल गतिविधिबाट बाहिरिएका नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान अनिललाई ललितपुरको थ्रीस्टार क्लबले अनुबन्ध गरेको छ। योसँगै अनिलको फुटबल करियरमा नयाँ अध्याय थालनी हुनेछ। मनाङ मस्र्याङदी क्लबसँग खटपट भएपछि खेल्न नै छाडेका अनिलले थ्रीस्टारसँग आबद्ध हुन पाएकोमा खुशी जाहेर गरे। उनले नेपाल समाचारपत्रलाई बताए—मलाई एकदम खुशी लागेको छ। थ्रीस्टारमा आबद्ध हुन पाउँदा मेरो हर्षको सीमा रहेन। मलाई वहाँहरूले विश्वास गरेर क्लबमा ल्याउनुभयो। अब मेरो लक्ष्य भनेको क्लबलाई लिग च्याम्पियन बनाउनेमा ध्यान हुनेछ।

मनाङबाट करिब १३ वर्ष खेलेका अनिलको ६ महिना अगाडि चितवनमा भएको प्रतियोगिता सो क्लबका लागि अन्तिम थियो। सो प्रतियोगितामा मनाङ सेमिफाइनलबाटै बाहिरिएको थियो। तर उनी मनाङमा खेल्न अगाडि थ्रीस्टारमै थिए। सन् २००५ मा थ्रीस्टारबाट खेलेका अनिलले त्यतिबेला लिग र प्रेसिडेन्ट कप खेलेका थिए। उनी लगभग १३ वर्षपछि पुन थ्रीस्टारमै फर्केका छन्।

हाल ३० वर्षमा लागेका अनिलले आफनो करियरको अन्त्य थ्रीस्टारबाटै हुने आस गरेका छन्। एक वर्षका लागि थ्रीस्टारसँग आबद्ध भएका अनिलले कप्तानको भुमिका भन्दा खेलाडीकै भुमिकाबाटै क्लबलाई सहयोग गर्ने पनि बताए। उनले बताए—कप्तान बन्नेमा त्यति मलाई इच्छा पनि छैन। मेरो कप्तानको करियर अरूको जस्तो पनि थिएन। राष्ट्रिय टिमका कप्तान भए मलाई कतिवटा प्रतियोगितामा किनारा लगायो। मनाङका कप्तान हुँदा पनि मलाई त्यति मान दिएन।

चितवनमा भएको प्रतियोगितापछि मनाङबाट खेल्न छाडेका अनिलले क्लबका पदाधिकारीले गरेको व्यवहार असह्य भएको पनि बताए। उनले भने—मलाई अपमान गरियो। यसरी बस्नु भन्दा क्लबै छाड्ने मलाई ठिक लाग्यो। मैले जे निर्णय लिएँ त्यो राम्रै गरेको मलाई लागेको छ। मनाङसँग मेरो तलब समेत लिनु बाँकी छ। म कप्तान भएको नाताले पदाधिकारीले मलाई खबर गर्नु पथ्र्यो। तर गरिएन। अझ मलाई हात समेत हाल्न खोजियो।

उनले थपे—म जस्तो सिनियर खेलाडीसँग रुखो व्यवहार गर्छ भने अरूको त कुरै छाडौ। पहिले त ठिकै थियो त्यहाँ अब चाहि ठिक लागेन। यसैले पनि त्यो मनपर्ने क्लब छाड्न विवस भएँ।

प्रतिक्रिया दिनुहोस्