पतञ्जलि



प्रा.डा. विष्णुराज आत्रेयद्वारा रचित ऐतिहासिक उपन्यास पतञ्जलिको धारावाहिक शृङ्खला– २

भरद्वाजबाट आयुर्विद्या सिकेका महर्षि अत्रि हिमवद्देशमा आयुर्वेदका आदि आचार्य भए। यिनी आयुर्वेद चिकित्साका प्रथम प्रवत्र्तक बन्न पुगे। यिनले पहिलोपल्ट मनुष्यलोकमा आयुर्वेदको जन–जनमा प्रचारप्रसार गरे। स्वर्गलोकको वातावरण अनुकूल पहिलेको आयुर्वेद शास्त्रमा केही थपघट र परिष्कार गरेर त्यसलाई इनले मनुष्यलोकको हावापानी र मौसम अनुकूल बनाए। महर्षि अत्रि गोत्रकार गृहस्थ हुदाँहुँदै पनि यायावर ऋषि भए। यिनी लोकोपकारका लागि यत्रतत्र घुमिरहन्थे। यी साह्रै हक्की र निस्पृह स्वभावका थिए। कोही रिसाओस् कि खुसाओस् ! यिनी आफ्ना ब्रह्मले देखेको र चित्तले ठम्याएको कुरा प्रिय अप्रिय जेसुकै होस्, राजा रङ्क जोसुकै होस्, फटाफट भनिदिन्थे र त्यहाँबाट अन्यत्र हिँडिदिन्थे।

एकपल्ट महर्षि अत्रि खेचरपर्वत परिक्षेत्रमा अवस्थित आफ्नो आश्रम गुफाअगाडि यज्ञ गर्दै थिए। यो कुरा थाहा पाएर असुरहरू उनको यज्ञ विध्वंश गर्न आए। यज्ञ गर्न थालेका बेला यज्ञकर्ताले त्यो यज्ञ समाप्त नहुन्जेलसम्म काम, क्रोध, लोभ, मोहादि आन्तरिक शत्रुलाई जितेर बस्नुपर्दथ्यो। अन्यथा त्यो यज्ञ स्वतः भंग हुन्थ्यो। यो रहस्य थाहा पाएको एउटा असुरले दल–बलसहित आएर होता जापक पाठकहरूलाई चुट्दै, पिट्दै, लघार्दै यज्ञ विध्वंश गरिदियो। यति मात्र होइन, ऋषि अत्रिलाई नै उसले जुरुक्क उचालेर धपधप लप्का निस्कने त्यस यज्ञकुण्डको अग्निज्वालामा होमिदियो।

यज्ञ विध्वंश गरेपछि त्यो असुर दल–बलसहित आफ्नो बाटो लाग्यो। त्यो देखेर त्यहाँ लुकेका, लघारिएका ऋत्विकहरू पुनः यज्ञस्थलमा आए। अत्रिको शरीर आगामा डढेर वक्राङ्ग भैसकेको थियो। धुकधुकी मात्र बाँकी रहेका अत्रि ऋषिलाई देखेर ती ऋत्विकहरूले हस्याङफस्याङ गर्दै उनलाई अग्निकुण्डबाट बाहिर निकाले। अनि नजिकैको गुफामा लगेर राखे।

ती ऋत्विजहरूले तत्कालै देवताका वैद्य अश्विनीकुमारहरूको आराधना गरे। मन्त्रप्रभावले उत्निखेरै अश्विनीकुमार त्यहाँ उपस्थित भए। तिनीहरू अत्रि ऋषिको त्वरित चिकित्सामा जुटे। उनले महर्षि अत्रिका वक्राङ्गको शल्यचिकित्साका साथै उनको पोलेको घाउ र दाग पनि निको पारिदिए। आगोले पोलेर वक्राङ्ग भएका महर्षि अत्रिको शरीर अश्विनीकुमारहरूको चिकित्सापछि वज्राङ्गमा परिणत भयो। अत्रिको चिकित्सा भएको खप्तड परिक्षेत्रको त्यस ठाउँलाई अहिले पनि वज्राङ्ग अर्थात् बझाङ भनिन्छ।
क्रमशः

प्रतिक्रिया दिनुहोस्