धरानका स्रष्टा पालिखे रहेनन्



मोहन दुवाल
धरानमा रहेर साहित्यिक सेवामा निमग्न भई लागिरहेका र साहित्यिक लतलाई छोड्न नसकेका साहित्यकारका रूपमा राष्ट्रमा परिचित बद्री पालिखेको गत २ गते धरानमा निधन भएको समाचार छ। विगत केही समयदेखि विभिन्न रोगले आक्रान्त भए पनि यिनले साहित्यको नाम लिन बिर्सेनन्। शरीरले नसकेपछि केही निष्क्रिययजस्तो देखिए तापनि यिनले साहित्यको लागि आफूले सक्दो गर्न छोडेनन्। २२ वर्षअघि साहित्यिक दौरानमा वरिष्ठ साहित्यकार श्यामप्रसादसँग यिनको घरमा पुगेको र जनमतको एउटा अङ्क ‘बद्री पालिखे साहित्य विशेष’ निकालेर यिनको सम्मानमा अक्षर अभिवादन जनमतका तर्फबाट भइसकेको सम्झना मलाई आइरहन्छ। सुनसरी क्षेत्रकै अग्रज साहित्यकार उनले धरानमा रहेर नै साहित्यमार्फत आफूलाई राष्ट्रमा चिनाउन सफल भएको देखिन्छ। यिनै स्रष्टामा केन्द्रित भएर स्मृतिमा अक्षर–शब्दहरू कोरिरहेछु।

धरान धेरै थोकले प्रसिद्ध छ। बूढासुब्बा आफ्नै गरिमा र इतिहास बोकेर खोपामा सजिएको छ। विजयपुर खोला प्रदूषणले आक्रान्त भए पनि इतिहासमा सजिएको छ। बीपी स्वास्थ्य प्रतिष्ठानको गरिमा आफ्नै ढङ्गले राष्ट्रमा व्याप्त छ। कवि विमल गुरुङको सम्झनामा ‘विमल पुस्तकालय’ सञ्चालित मात्र छैनन् राष्ट्रियस्तरका साहित्यिक कार्यक्रमहरू गरेर आफूलाई चिनाउँदै छन्। भानुचोक व्यस्त देखिन्छ। भानुभक्त सिर्फ नतमस्तक भएर धरान हेर्छन् तर चौघेराभित्र कैद छन्। घोपा क्याम्प अर्कै नेपाल बाँचेजस्तो छ। बाटो भरिभरि बेलायत धाएका, सिङ्गापुर चहारेका, मलेसिया भोगेका, हङकङ घुमेका मङ्गोलियनहरूकै बस्ती अचाक्ली बढेको छ। धरानको भानुचोकछेउमै पुतली लाइनबजार छ। त्यहीँनेर एक साहित्यकार बद्री पालिखेको घर छ। सानो चिटिक्क परेको काठको घरभित्र उनलाई माया गर्ने श्रीमती, ३ छोरीहरू र १ जना बहिनीसँग मन साटेर आफूलाई बाँच्न लगाएका यिनी २०२५ सालदेखि लेखनमा जुटेका देखिन्छन्। २०२७ सालदेखि शिक्षण सेवामा खटेका र २०३८ सालदेखि पुस्तक प्रकाशन गरेर भाषा–साहित्यको सेवा गर्न जाँगर चलाएका पालिखेले थुप्रै पत्रपत्रिकाको सम्पादन गर्नुका साथै थुप्रै संस्थाहरूमा रहेर भाषा–साहित्यको श्रीवृद्धिमा आफ्नो गच्छेअनुसार सक्रियता देखाएर गएको देखिन्छ।

होचो कदको फुस्रो–मुस्रो अनुहार देखिँदा पालिखे साहित्य सेवा गर्न पाएपछि, साहित्यकारहरूको सम्मान गर्न भनेपछि सबै काम छोडेर पनि लाग्ने गर्थे। उनको विशेषता भनेको नै साहित्य मानव सभ्यताको अमूल्य उपलब्धि हो भनेर साहित्य सिर्जना र क्रियाशीलतामा लागिरहनु हो। उनको दृष्टिकोण साहित्यमा प्रगतिशीलता, विचारमा प्रजातान्त्रिकता र अर्थतन्त्रमा समाजवादिता हो। उनलाई मन पराउने स्रष्टाहरूमा गोपालप्रसाद रिमाल, भूपि शेरचन, कालीप्रसाद रिजाल, वासु शशी, क्षेत्रप्रताप अधिकारीहरू नै हुन्।

२०३७ सालमा राष्ट्रिय शिक्षा पुरस्कार र नवरंग साहित्य प्रतिष्ठानबाट २०५२ साल वैशाख ३० गते सम्मान प्राप्त गरिसकेका पालिखेलाई २०५६ मा मोहन रेग्मी स्मृति पुरस्कार, २०५९ मा वासु शशी पुरस्कारलगायत अन्य थुप्रै संघ–संस्थाबाट पुरस्कृत र सम्मानित भइसकेका उनी साहित्यलाई राजनीतिभन्दा महत्वपूर्ण ठान्थे। अर्थोपार्जनका लागि साहित्य सेवा गरिँदैन। अर्थोपार्जनका लागि साहित्यिक सिर्जना रोपिँदैन। साहित्य सेवा र सिर्जनाको अहम् प्रश्नमा लाग्नु भनेको लरतरो कार्य र विषय होइन। यही चिन्तन र दृष्टि बोक्नु यिनको महानतम् कार्य हो।

सुनसरीमा साहित्यिक क्रियाकलापहरू गरेर राष्ट्रिय रूपमा अविछिन्न सेवा पुर्याइरहने हेतुले गठन गरिएको सुनसरी साहित्य प्रतिष्ठानका अध्यक्ष बद्री पालिखेले धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनसँग समझदारी बनाएर साहित्यिक संघसंस्थाहरूको महासंघ बनाउने प्रेस विज्ञप्ति पनि निकालेका थिए। उनले इच्छा राखेअनुसार निजी क्षेत्रबाट देशभरमा सञ्चालित साहित्यिक संघसंस्थाहरूको बीचमा महासंघको गठन हुनुपर्ने र राष्ट्रिय रूपमा ठूल्ठूला कार्यक्रमहरू गर्नुपर्ने सदासयताका राम्रा भावनाहरू उक्त विज्ञप्तिमा उल्लेख गरिएका थिए। साहित्यलाई व्यापारजस्तो पेसा बनाइनुहुँदैन भन्ने विचार व्यक्त गर्दै आएका पालिखे साधारण शिक्षण सेवालाई नै जीविकोपार्जनको माध्यम बनाएर साहित्य सिर्जना र साहित्यिक क्रियाकलापहरूमा आफूलाई समर्पित गर्दै आएका हुन्। त्यसैले त उनी सुनसरी साहित्य प्रतिष्ठान, मोती संस्मरण समिति, साहित्यिक तथा सांस्कृतिक संस्था समन्वय समिति, नेपाल साहित्यकार संघ आदिका साथै लोकतान्त्रिक स्रष्टा मञ्चसम्म संलग्न रहेर भाषा साहित्य उत्थानका लागि आफूलाई क्रियाशील तुल्याउँदै आएका थिए।

धरानले थुप्रै लाहुरेहरू जन्माएका छन्। धरानले अनगिन्ती पङ्क्सहरू हुर्काएका छन्। धरानले अर्काको सिको गरेर गुण्डागर्दी र नकच्चरोपन पनि सिकाएका छन्। धरान छिल्लिन पनि जान्दछ, ढाँटछल गरेर प्रपञ्च बुन्न पनि चतुर छ। यी सबै किसिमका विकृतिहरूलाई तेस्रो आँखा लगाएर धरानमा शालीन ढङ्गले सुकार्य गर्नेहरू पनि अनगिन्ती छन्। तिनै सुन्दर अनुहारमध्ये एउटा सुन्दर अनुहार बद्री पालिखे थिए भन्न सकिन्छ। साहित्यिक पत्रपत्रिकाका सम्पादक, थुप्रै खालका स्मारिका प्रकाशनका संयोजक, अनेकौं साहित्यिक संस्थाका संस्थापक रही सेवा पुर्याउँदै आएका यिनले सादा जीवन उच्च विचारका धनी मान्छेका रूपमा आफूलाई व्याप्त तुल्याएर सेवा पुर्याएका थिए।

धरानका भाषा शिक्षक, परिवारका अभिभावक, समाजका पथप्रदर्शक, सिर्जनाका विम्ब। यस्तै खालका धेरै कार्यले चिनाउँदै आएका पालिखेले कविताका विभिन्न शैलीहरूमा, कथाका भिन्न–भिन्न परिदृश्यहरूमा, समालोचना, निबन्ध, खोज र इतिहासका अक्षरहरूमा आफूलाई स्थापित तुल्याउन सफल छन्। यसको अलावा यिनी कलामार्फत पनि आफूलाई चिनाउन सफल प्रतिभा हुन्। सामाजिक विकृतिका विरोधमा कलम चलाउँदै आएका साहित्यकार पालिखे निरंकुशताको विरोधमा र लोकतन्त्रका पक्षमा खुलेर लागेका सक्रिय स्रष्टा पनि हुन्। जीवनलाई क्रान्तिको मीठो संघर्ष भन्न रुचाउने बद्री पालिखे धेरै खालका सङ्घर्षहरूसँग जुझ्दै ६६ वर्षसम्म मात्र जिउन सफल रहे।

साहित्य परिभाषित हुँदैन। साहित्य बन्धनमा थुनिदैन। साहित्यलाई भौगोलिक सिमानामा कैद गर्नुहुँदैन भन्ने मान्यता बोकेर साहित्यिक पथमा देखा परेका यिनी साहित्यलाई मनोभावको कलात्मक अभिव्यक्ति हो भन्छन्। वि.सं. २००९ जेठ ३० गते पिता सुरतमान पालिखे र माता इन्द्रकुमारीका छोरा भई धरानमा जन्मेका यिनी २०२० सालमा स्थापित साहित्य परिषद् धरानको गतिविधिबाट प्रभावित हुँदै, साहित्यमा मन दिँदै, साहित्यका हरफहरू कोर्दै आएका साहित्यकार हुन्। जीवनमा भौतिक सुख प्राप्त गर्न नसके पनि साहित्यप्रति समर्पित हुन पाएकोमा उनी खुशी व्यक्त गर्थे।

यिनले २०२५ सालदेखि मृत्युपर्यन्तसम्म साहित्य लेखेरै गए। उनले एकठाउँमा आफ्नो सिर्जनाबारे लेखेका छन्– ‘म लेख्नका लागि लेख्दिन। जब कुनै घटना र दृश्यले मेरो मनलाई छुन्छ तब म रातभर सुत्दिन, पटक–पटक त्यही घटना र दृश्यलाई कवितामा उतार्ने कोशिश गर्छु। मेरा लागि कविता लेख्नु मामुली काम होइन, एउटा कविता रच्न म प्रशस्त वेदनाले छटपटिएकी आइमाइजस्तै छटपटिन्छु।’

बद्री पालिखे नेपाली भाषाका साथसाथै नेपालभाषामा पनि लेख्छन्। धरानमा हुने नेपालभाषा साहित्यिक गतिविधिमा यिनको संलग्नता उल्लेखयोग्य नै छ। थुपै्र आयामहरूमा राख्न मिल्ने नाम भइदिएका छन् धरानका बद्री पालिखे। थाक्न नजानेका र आफ्नै गतिमा बढ्न जानेका सिर्जनाका धनी मान्छे पालिखेले बिरामी भएर पनि भाषा र साहित्यको क्षेत्रमा आफूलाई कष्टसाध्य ढङ्गले समर्पित तुल्याइरहे। यिनको सक्रियता र समर्पणलाई साहित्यिक जगत्ले भुल्न सक्दैन। बद्री पालिखेको सम्मान गर्नु भनेको सिर्जनाको सम्मान गर्नु हो। यथार्थको कदर गर्नु हो। स्थापना, सक्रियता र निरन्तरताकै सुन्दर नाम हुन् बद्री पालिखे। म यस्तै अर्थमा राखेर बद्री पालिखेलाई नियालिरहेछु र उनको स्मृतिमा अक्षर–श्रद्धाञ्जलि भनिरहेछु।

प्रतिक्रिया दिनुहोस्