बिदाइको फोटोलाई अवार्ड



काठमाडौं फोटोग्राफर संघले राजधानीमा आयोजना गरेको निकोन केपीए वेडिङ फोटो अवार्ड २०१८ मा काठमाडौंको टेकुका सानुकाजी महर्जन विजयी भएका छन्। महर्जनले विजयी भएबापत पुरस्कारस्वरूप निकोन डी ८१० क्यामेरा प्राप्त गरेका छन्।

छैटौं संस्करणको यो प्रतियोगितामा चितवनका रामजी नेपाल द्वितीय र काठमाडौंका अनिस खड्गी तृतीय भएका छन्। द्वितीय र तृतीय हुने विजेतालई निकोन डी ७२०० र निकोन डी ३४०० क्यामरा पुरस्कार प्रदान गरिएको छ। काठमाडौं उपत्यकामा सबै किसिम र तहका फोटो व्यवसाय गर्ने फोटोग्राफरलाई एउटै सांगठनिक छातामुनि आबद्ध गराई हरेक क्षेत्रमा परस्पर सहयोग, सद्भाव र भाइचाराको भावना विकास गरी पेसागत स्तर माथि उठाउन कोसिस गर्ने उद्देश्यले स्थापित संघले छैटौंपटक वेडिङ फोटोग्राफरका क्षमतालाई खुला प्रतिस्पर्धाका रूपमा उतार्ने प्रयासस्वरूप अवार्ड आयोजना गरिँदै आएको संघका अध्यक्ष भवदेव थापाले जानकारी गराए।

प्रतियोगितामा देशका विभिन्न शहरबाट करिब १ हजार ५ सय फोटा समावेश भएकामध्ये सय उत्कृष्ट फोटो छनोट भएका थिए। ८९ वर्षीय फोटोग्राफर बखतबहादुर चित्रकारको प्रमुख आतिथ्यता तथा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष भवदेव थापाको सभापतित्वमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा अवार्डका संयोजक जीवनाथ काफ्लेले सहभागी फोटोग्राफर र उनीहरूको फोटोका बारेमा संक्षिप्त जानकारी गराएका थिए। उनले एकैप्रकारका धेरै फोटा सहभागी भएको र बिदाइ नै विवाहको मुख्यपाटो हो भन्ने जस्तो देखिएको बताए। कार्यक्रममा संघका अध्यक्ष भवदेव थापाले सहयोगी, प्रायोजक, प्रतियोगी फोटोग्राफर तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया दिनुहोस्