कागजमै सीमित लोकतन्त्र व्यवहारमा देखिएन



                                                                       सन्दर्भ ः लोकतन्त्र मेला

प्रशान्त वली, काठमाडौं
देशभर उपभोग्य वस्तुको कृत्रिम अभाव सृजना भइरहेका बेला राजधानीको वसन्तपुरमा पहिलोपटक लोकतन्त्र मेला लागेको छ। असोज ४ देखि शुरू भएको सो मेला आज शनिबारसम्म चल्नेछ।

संविधान जारी भएको ३ वर्ष बितिसक्दा पनि आम नागरिकले सोचेअनुरूप उपलब्धि प्राप्त हुन सकेको छैन। राजनीतिक दलले लोकतन्त्र संस्थागत हुनुलाई उल्लेखनीय ठाने पनि आम नागरिकमा निराशा जहाँको त्यहीं नै रहेको छ। मेला हेरेर फर्किनुभएका चन्द्र भट्टले भन्नुभयो– ‘के गर्नु आफ्नो दुःख आफैसँग छ। मेला गर्नु भनेको पैसा खर्च गर्ने मेलो हो जस्तो लाग्छ। खोइ हामीले लोकतान्त्रिक सास फेर्न पाएको?’

मेला लागे पनि जीवनस्तरमा परिवर्तन आउने गरी नेताहरूले केही नगरेको भन्दै मेलामा सहभागी हुनुभएका धादिङका केशवप्रसाद पाण्डे नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सर्वसाधारण महँगीको मारमा छन्। मूल्य बढ्या बढ्यै छ। जबसम्म हामी आम जनताको जीवनस्तर उकास्ने गरी व्यावहारिक परिवर्तन आउँदैन। तबसम्म लोकतन्त्र आएको महसुस हुँदैन। कागजमा लोकतन्त्र आएर हुन्छ र?’

लोकतन्त्र स्थापनापछि काठमाडौंमा पहिलोपटक लोकतन्त्र मेला २०७५ शुरू भएको हो। अहिलेसम्म सो मेलामा ५ हजार बढी सर्वसाधारणले अवलोकन गरिसकेको आयोजकले जनाएको छ। राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा आयोजना गरिएको मेला ‘समावेशी लोकतन्त्र ः समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलोपटक मेला लागेको हो।

सो मेलाले बहुदलीय संस्कृतिको विकास र समावेशी लोकतन्त्रलाई थप प्रवद्र्धन गर्ने विश्वास गरिएको छ। मेलाका अवसरमा ‘समावेशी लोकतन्त्र ः राजनीतिमा महिला नेतृत्व’, ‘२१औं शताब्दीमा लोकतन्त्र, उत्कृष्ट संसदीय अभ्यास तथा कानुन निर्माण प्रक्रिया’, ‘२१औं शताब्दीमा संघीय लोकतन्त्र तथा शक्ति विकेन्द्रीकरण’ विषयमा विभिन्न दलका नेताहरूले सम्बोधन गरेका थिए।

लोकतन्त्र मेलामा विभिन्न राजनीतिक दलले आ–आफ्नो स्टल राखेका छन्। स्टलमा राजनीतिक विचारधारा समेटिएका पुस्तक, संविधानका विशेषतालगायतका कृति अवलोकनका लागि राखिएको छ।

मेलामा कांग्रेसका नेता रामशरण महत, पुष्पा भुसाल, नेकपाका नेता भरतमोहन अधिकारी, अष्टलक्ष्मी शाक्यलगायतले अवलोकन गरिसक्नुभएको छ।

मेलाको उद्देश्यमाथि प्रकाश पार्दै नेकपाका केन्द्रीय सदस्य दिलु पन्तले भन्नुभयो– ‘यो नेपालमा पहिलो अभ्यास हो। मेलाले सबै जिल्ला तहमा पनि सन्देश दिनेछ भन्ने आशा गरेका छौं। यो मेलालाई कम्युनिस्ट शासन भएका देशहरूले पनि महत्वपूर्णरूपमा हेरेका छन्।’ अहिलेसम्म डेनमार्क, बेलायत, केन्या, भारत, पाकिस्तान, कोरिया, चीन, फिनल्यान्ड, अफ्रिकी देशका नागरिकले समेत मेलाको अवलोकन गरेको आयोजकले दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्