महानगरलाई दशैंको चटारो, खसीबोकाको स्वास्थ्य परीक्षण गरिने



ईश्वरराज ढकाल, काठमाडौं
नेपालीहरूको महान् चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौंलगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशु–पक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको जनाएको छ।

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी, बोका, राँगा, भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ। महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सोहीअनुरूप खसी, बोका खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कामपाले मासु खाने प्रयोजनका लागि ल्याइएको चौपायको दशैंबाहेक अरू कुनै पनि समयमा स्वाथ्य परीक्षण गर्ने गरेको छैन। धेरै संख्यामा खसीबोकाको खरिदबिक्री हुने भएकाले दशैंमा राजधानी भित्रिने सबै खसी–बोकाको स्वाथ्य परीक्षण गर्ने गरेको छ।

कामपाले गतवर्ष जस्तै यो वर्ष पनि घटस्थापनाको भोलिपल्ट अर्थात् असोज २५ गतेदेखि खसीबोकाको स्वास्थ्य परीक्षण शुरू गर्ने भएको छ। कामपा शहरी स्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले राजधानीको ४ स्थानमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने जानकारी दिनुभयो। भेटेनरी चिकित्सक, कामपा, जिल्ला प्रशासन कार्यालयलगायतको संयोजनमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने जानकारी गराउँदै महाशाखा प्रमुख श्रेष्ठले खसीबोका परीक्षण गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयोे। उहाँले भन्नुभयो– ‘उपमेयरको संयोजकत्वमा निर्देशन समिति र सहसचिवको संयोजकत्वमा कार्यान्वयन समिति निर्माण भएर कार्यान्वयनको चरणमा पुगेका छौं।’
महाशाखाका अनुसार कलंकी, कोटेश्वर, बागबजार र बिजुली बजारस्थित खसीबोका बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने भएको छ। ‘खसीबोकाको स्वास्थ्य परीक्षण गर्छौं, त्यसपछि स्वास्थ भए सिङमा हरियो र अस्वस्थ भए रातो रङ लगाउनेछौं।’ –उहाँले जानकारी दिनुभयो।

उहाँले रोगी खसीबोकाको स्वास्थ्यकर्मीले नै रेखदेख गर्ने जानकारी दिनुभयो। कामपाले खसीबोका व्यवस्थापन समिति, ४ क्षेत्रका व्यापारी र सरोकारवालासँग छलफल गरी बिक्री केन्द्रलाई व्यवस्थित गर्ने भएको छ। यो वर्ष खसीबोकालाई राख्ने स्थान सफा हुनुपर्ने निर्देशन व्यापारीलाई दिएको कामपाले जनाएको छ। उहाँले खसीबोका मात्रै नभई मिष्ठान्न, खाद्यान्न र पेय पदार्थको समेत अनुगमन गरिने जानकारी दिनुभयो। त्यसका लागि वडास्तरमा समिति गठन गरी अनुगमन गर्ने तयारी भइरहेको महानगरपालिकाले जानकारी दिएको छ।

गतवर्ष कामपाले ४ स्थानमा करिब ६० हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरेको थियो। करिब ४ सयको हाराहारीमा अस्वस्थ खसीबोकाको सिङमा रातो रङ लगाइएको थियो। ‘रातो लगाउँदैमा खानै नहुने भन्ने होइन, अस्वस्थ खसीबोका स्वस्थ भएपछि पुनः परीक्षण गर्दा खान योग्य भएमा खान मिल्ने सिफारिस गरिएको थियो।’ –महाशाखा प्रमुख श्रेष्ठले बताउनुभयो। यो वर्ष खसीबोका राजधानी भित्रिने नाका थानकोट, फर्पिङ, भक्तपुर, बालाजुलगायत स्थानबाट खसीबोकाको अनुगमन गर्ने तयारी महानगरले गरेको छ।

‘हामी राजधानीबासीलाई दशैमा स्वस्थ मासु खुवाउन उपत्यका भित्रिने सबै खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेका छौं।’ –श्रेष्ठले भन्नुभयो। कामपाले खसीबोकाको स्वास्थ्य परीक्षण गरे पनि राँगा, कुखुरा, हाँसलगायत मासु खानयोग्य चौपायाको स्वास्थ्य परीक्षण गर्न कुनै चासो देखाएको छैन।

प्रतिक्रिया दिनुहोस्