भाजपा नेता जौलीको विवादास्पद टिप्पणी, त्रिभुवन विमानस्थल खतराको सूचीमा



नेपाल समाचारपत्र
काठमाडौं
भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमार्फत खुलासा गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकारसमेत रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठूला दुर्घटना भएको र यस बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणलाई पटकपटक जानकारी गराउँदासमेत बेवास्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले चिठ्ठी लेखेर काठमाडौं एयरपोर्टको बारेमा जानकारी गराएको भन्दै विवादास्पद विज्ञप्ति सार्वजनिक गरेका छन्।

हिन्दी र अंग्रेजी भाषामा प्रकाशित विज्ञप्तिमा त्रिभुवन विमानस्थलको खराब मैदानका कारण यूएस बांगलाको विमान दुर्घटना भई ४९ जना यात्रु मारिएको र टर्किस एयरलाइन्सको विमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भीर आरोप लगाइएको छ।

जौलीले जारी गरेको विज्ञप्तिमा २०१२ सालमा बनेको विमानस्थल ६३ वर्ष बितिसक्दा एकपटक पनि मर्मत नभएका कारण जुनसुकै बेला जस्तोसुकै दुर्घटना हुने चेतावनी दिँदा पनि नेपालको नागरिक उड्डयन प्राधिकरणको आँखा खुल्न नसकेको आरोपसमेत लगाइएको छ।

नेपालका बारेमा खोज गर्दै आएका दीपेन्द्र कँडेलले आफूलाई भेटेर नेपालको विमानस्थलका बारेमा जानकारी गराएको र ८ अगस्ट २०१८ का दिन ओमानको राजधानी मस्कटबाट काठमाडौं उडेको ओमान एयरको विमान काठमाडौं विमानस्थल अवतरण गर्ने क्रममा धावनमार्ग बिग्रिएको र काठमाडौंको मौसम खराब भएको कुरालाई गुमराहमा राखेका कारण विमानले नेपालको आकाशमा ११ चक्कर लगाउनुपरेको जानकारी आफूलाई गराएको विज्ञप्तिमा उल्लेख छ।

११ चक्कर लगाउँदासमेत विमान अवतरण गर्न नपाई इन्धनमा कमी आएपछि भारतको लखनउ विमानस्थलमा अवतरण गराएको भन्ने खबरले आफूलाई दुखी तुल्याएको पनि नेता जौलीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

विज्ञप्तिमा कँडेलले १३ अगस्ट २०१८ का दिन नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई उक्त घटनाका बारेमा जानकारी गराउँदा उहाँले सन् २०१९ को फेबु्रअरी २८ बाट पुनर्निर्माण शुरू गर्ने घोषणा गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
जौलीले काठमाडौं विमानस्थल अन्तर्राष्ट्रिय विमानको उडानका लागि अयोग्य भएको भन्दै नेपाल सरकारलाई तत्काल कदम चाल्न पनि आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।

‘जौलीको भनाइमा सत्यता छैन’

काठमाडौं, (नेस)
भारतीय जनता पार्टीका नेता विजय जौलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा दिएको अभिव्यक्तिलाई नेपाली अधिकारीहरूले खण्डन गरेका छन्।

नेपाल नागरिक उड्डयन तथा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भारतीय नेता जौलीले ६३ वर्षदेखि त्रिभुवन विमानस्थलमा केही नगरिएको भन्ने कुरामा कुनै सत्यता नभएको र धावनमार्गको नियमित मर्मत सम्भार, विस्तार काम भइरहेको बताउनुभएको छ। उहाँले यस विषयमा अरू थप केही नबोल्ने तथा आफूलाई पत्रको बारेका कुनै किसिमको जानकारी नभएको समेत बताउनुभयो। यस सम्बन्धमा आएका टीकाटिप्णी पढेर मात्र बोल्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्