चार बर्ष देखी बेपत्ता युवतीको खोजी भएन, प्रहरीले नै अपराधीलाइ संरक्षण गरेको आरोप



दुर्गाप्रसाद शर्मा, पर्वत ।
लाहुुरे प्रेमीको बिश्वासमा बिबाहका लागि हिडेकी पर्वतकी एक युवती चार बर्ष देखि बेपत्ता भएपनि प्रहरीले अपराधीलाइ संरक्षण गरेको आरोप परिवारले लगाएका छन ।

पर्वतको फलेबास नगरपालिका वडा नं ९ भंगाराकी सिता क्षेत्री बेपत्ता भएको चार बर्ष सम्म पनि खोजबिन हुन नसेको भन्दै आफन्तले असन्तुष्टि जनाएका हुन । बेपत्ता केसीको खोजविनमा प्रहरीले कम्जोरी गरेको भन्दै बिहीबारको प्रतिनिधीसभा बैठकमा साँसद पदम गिरीले प्रश्न समेत उठाएका छन ।

२०७१ भदौ १५ गते बिबाह गर्न प्रेमीले लिएर हिडेकी क्षेत्री त्यसपछि बेपत्ता छन । सिताले आफ्ना प्रेमी पर्वतकै फलेबास नगरपालिका वडा नं २ थापाठाना का मिलन भन्ने मनबहादुर क्षेत्री संग बिबाह गर्न हिडेको पत्र लेखेर छाडेकी थिइन । त्यसयता प्रेमीले भेटेको नै छैन भनेर बयान दिदै आएका छन भने सितालाई भगाउन घरमा मिलन संगै गएका उनका साथी मेखराज श्रेष्ठले सोही दिन दुई जनालाई नै कार्किनेटा र थापाठानाको सिमानामा छाडेको बयान दिएका थिए ।

घरबाट राती लिएर हिडेका प्रेमी मिलनले भारतमा बिक्री गरेको वा हत्या नै गरेको हुन सक्ने आशंका पिडीतका परिवारले गरेका छन । भारतीय सेनाको ३÷४ गोर्खा राइफल्समा जम्मु कास्मिरमा कार्यरत मिलन त्यसपछि पल्टनमा हाजिर हुन गएका थिए । ‘उनको मृत्यु भएको वा बेचबिखन गरिएको हो भन्ने पत्तो लगाउन नसक्दा चार बर्ष देखि आफन्त रुँदै हिडेका छन’ साँसद पदम गिरीले बैठकमा बिशेष समय लिएर बोल्दै भने ‘प्रहरीले राम्रो संग पिडीतको पक्षमा अनुसन्धान र खोजविन नगर्दा समस्या भएको हो ।’

निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानमा कम्जोरी गर्दा अहिले प्रतिपक्षी कांग्रेसले सँसदमा सरकार असफल भएको, अपराधीको संरक्षण गरेको आरोप लगाइरहेको भन्दै उनले सिता क्षेत्री बेपत्ता भएका बेला नेपाली कांग्रेसका शुसिल कोइराला प्रधानमन्त्री भएकाले कांग्रेसलाई दोष दिन मिल्ने की नमिल्ने भन्ने प्रश्न समेत गरे ।

उनलाई बिहे गर्न भनेर लैजाने प्रेमीलाई प्रहरीले पक्राउ गरेपनि राजनैतिक दबाब र आर्थिक प्रभाबमा परेर पटक पटक छाडेको आरोप आफन्तले लगाउँदै आएकी छन । पिडीतका परिवारले न्यायको खोजी गरेको प्रयास अझै पनि सफल भएको छैन, प्रहरीलाई बेपत्ता बनाउने अपराधीको पहिचान गर्न प्रहरी असफल भएको छ । पर्वत प्रहरीले सिता हराएको स्थान स्याङ्गजाको अर्जुन चौपरी गाउँपालिका पर्ने भएकाले मुद्दा पर्वतमा हेर्न नमिल्ने भन्दै स्याङ्गजा पठाएको थियो । स्याङ्गजा प्रहरीले परिवारका तर्फबाट छोरीलाई बेचबिखन गरेको भन्दै आफन्तले दिएको मानब ओसार प्रसार तथा बेचबिखन सम्बन्धी मुद्दा दर्ता गरेको थिएन ।

लिएर जाने प्रेमी भारतीय सेनाको जागिरे र उनका साथी मेघराज नेपाली कांग्रेसका केन्द्रिय नेताका आफन्त भएकाले त्यस बखत प्रहरीले अनुसन्धान नगरिदिएको सिताका काका होमबहादुर पौडेल क्षेत्रीले बताए । पर्वतमा प्रहरीले अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएका ब्यक्ति समेत स्याङ्गजा प्रहरीले दबाबका भरमा छाडेको आरोप क्षेत्रीले लगाए । त्यसबखत मिलन र मेघराजको परिवारले ठुलो आर्थिक रकम खर्च गरेर अपराधबाट छुटकारा पाएको आशंका पिडीत परिवारको छ । ‘पैसा र दबाबकै भरमा छोरी बेपत्ता बनाउनेहरुलाई प्रहरीले काबार्ही गर्न सकेन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्