अरुलाई हसाउन निकै सजिलो तर आफू हाँस्न गाह्रो: बल्छी ध्रुबे



जीवनमा संघर्ष के हो भनि बुझेका कलाकारिता क्षेत्रमा देश विदेश चिनिन सफल एक हाँस्य कलाकार जो विगत ८ वर्ष देखी ‘मेरी बास्सै’ टेलिसिरियलका एक पात्र ‘बल्छी ध्रुबे’ उपनामले चिनिएका मरिचमान श्रेष्ठसंग प्रदिप विवश भण्डारीले गरेको कुराकानीको सारसंक्षेप

 

कहाँ जन्मनु भयो र बाल्यकाल कस्तो थियो ?
मेरो जन्म २०४५ साल माघ २४ गते गोरखा जिल्ला तापुकोट गाविस वडा नंं. १ मा भएको हो । म एउटा सामान्य गाँउमा जन्मिएको मान्छे त्यसैले मेरो बाल्यकाल पनि अन्य गाँउमा जन्मिएका नेपाली दाजुभाई दिदिबहिनीहरुको जस्तै कुटो कोदालो घाँस दाउरा गरेर नै बित्यो । म सानोमा निकै चन्चले थिए तर उत्तिकै काम गर्नमा अल्छि पनि थिए । घरको कान्छो भएर होला सबैको माया पाएको थिए । एक शब्दमा भन्नुपर्दा मेरो बाल्यकाल रमाईलोसंग नै बित्यो भन्नुपर्छ ।

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि त्यहि ‘मेरी बास्सै’ टेलिसिरियलमा नै व्यस्त छु । स्टेज कार्यक्रमका लागि कहिले नेपालका विभिन्न जिल्ला त कहिले विदेश तिर जाने यस्तै गर्दै दिनचर्या बितिरहेको छ । र अब हामी एउटा फिल्मको स्क्रिप्ट लेखनमा छौ अब चाँडै नै हामी फिल्म बनाउने तयारीमा जुटेका छौ ।


कलाकारिता क्षेत्रमा आउनका लागि के के संघर्ष गर्नुभयो ?
मानिसले हरेक क्षेत्रमा आउनका लागि संघर्ष त गरेकै हुन्छ त्यस्तै मैले पनि संघर्ष धेरै गरेको छु । यदि आफ्नो यसै क्षेत्रमा झुकाब छ भनेपछि संघर्ष गर्दा दुःख लाग्ने तर पछि रमाईलो अनुभुति पनि हुँदो रहेछ । मलाई ‘मेरी बास्सै’ टेलिसिरियलमा ल्याउने केदार घिमिरे (माग्ने बुढा) हुनुहुन्छ । म यहाँसम्म आउनुको श्रेय केदार घिमिरे र सिताराम कट्टेल (धुर्मुस) लाई दिन्छु ।

‘बल्छी ध्रुबे’ पात्रलाई न्याय दिन कतिको सहज छ त ?
यो पात्रलाई न्याय दिनका लागि पहिले त मलाई निकै गाह्रो भयो । मेरो लागि यो पात्र केदार दाईले नै जन्माउनुभएको हो । कहिले काहि बोल्दा मिल्दैन थ्यो त्यतिबेला केदार दाईले मलाई यसो गर भनेर सिकाउनु हुन्थ्यो । हरेकलाई नयाँ कुरा गर्दा गारो त हुन्छ नै तर पछि पछि बानी पर्दै जाँदा आफै मिल्दो रहेछ । तर यसरी आफ्नो आवाज भन्दा बेग्लै आवाज निकाल्दा अलि घाँटीमा भने समस्या आउँदो रहेछ ।

यस क्षेत्रमा आउन चाहाना भएका साथिहरुका लागि के भन्न चाहानुहुन्छ ?
यदि यस क्षेत्रमा होस या अन्य कुनै क्षेत्रमा आउन चाहानुहुन्छ भने रमाईलो मात्र सोचेर नआउनुहोला । यस क्षेत्रमा अरुलाई हसाउन सजिलो छ तर आफू हाँस्न निकै गाह्रो छ । याे  क्षेत्रमा लगणशील रहेर आफूमा आत्मविश्वास छ भने तपाई यस क्षेत्रमा अवस्य सफल हुनुहुनेछ । तपाईले सोचेको आँटेको पुग्नेछ । आफ्नो गन्तव्य के हो भन्ने बुझेर आउनुभयो भने र आफुले केहि सिप सिकेर आउनुभयो भने तपाइलार्ई अझ सहज हुन्छ । मेरो तर्फबाट राम्रो गर्छु भन्दै आउने कलाकारहरुलाई स्वागत छ ।


अन्तिममा के भन्न चाहानुहुन्छ ?
नेपाली कलाकारलाई माया गरिदिनुहोला । कहि कतै गल्ती भए सच्याउनका लागि हामीलाई सल्लाह सुझब दिनुहोला । तपाईहरुको सल्लाह सुझाबले नै हामी अगाडि बढ्ने हो । जुन दिन तपाई सल्लाह दिन छाड्नु हुन्छ माया गर्न छाड्नु हुन्छ त्यो दिन हाम्रो कला पनि मर्नेछ । त्यसैले हामीलाई सधै माया गरिदिनुहोस भन्छु । जय ‘मेरी बास्सै’

प्रतिक्रिया दिनुहोस्