रक्सौल डिपोबाट ढुवानी ठप्प हुँदा देशभर इन्धनको हाहाकार



कृष्णउदास खनाल, वीरगन्ज ।
यातायात मजदूरले अनिश्चितकालीन हड्ताल गरेसँगै वीरगन्जको सीमावर्ती रक्सौलस्थित इन्धन डिपोबाट सोमबारदेखि पेट्रोलियम इन्धनको आयात ठप्प हुँदा नेपालमा इन्धनको अभाव भएको छ ।

नेपाल राष्ट्रिय यातायात मजदूर संघर्ष समितिमार्फत आन्दोलनमा उत्रिएका यातायात मजदूरले मंगलबारदेखि सार्वजनिक यातायातसँगै इन्धन ढुवानीसमेत ठप्प पारेका हुन् । सोमबार विश्वकर्मा पूजा भएकाले अधिकांश मजदूरले गाडी थन्काएका थिए। लगत्तै मंगलबारदेखि संघर्ष समितिले अनिश्चितकालीन हडताल आव्हान गरेपछि राजमार्गमा सार्वजनिक सवारी साधनसमेत ठप्प भएका हुन्।

चाडपर्व नजिकिँदै गर्दा यातायात मजदूरले ढुवानी ठप्प पारेपछि देशैभर पेट्रोलियम इन्धनको अभाव चर्किने भएको छ। साथै, खाना पकाउने ग्यास ढुवानीमा एकाधिकार कायम राखेका भारतीय ढुवानीकर्ताले इन्धन ढुवानी भाडा वृद्धि नगरे कुनै पनि बेला ग्यास आपूर्ति ठप्प पार्ने चेतावनी यसअघि नै दिइसकेका छन् । कूल आयातीत इन्धनको ७० प्रतिशत वीरगन्ज नाकाबाटै भित्रिने भएकाले यो नाकाबाट आयात ठप्प हुँदा देशैभर इन्धन आपूर्ति प्रभावित हुने गरेको छ।
आयल निगमसँग सीमित इन्धन भण्डारण क्षमता रहेकाले सरकारले यातायात मजदूरको हड्ताल तत्काल फिर्ता गराउन नसके देशैभर इन्धनको हाहाकार हुने भन्दै चिन्ता व्यक्त गरिएको छ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवले सोमबारबाटै भारतीय आयल निगम (आईओसी)को रक्सौल डिप्पोबाट ट्यांकर चालक मजदूरले इन्धन ढुवानी ठप्प बनाएको र शुक्रबार सम्म पनि ढुवानी हुन नसकेको बताए । बिहारको बरौनीमा रहेका ६० वटा ट्यांकर इन्धन भरेर फर्किएपछि बुधबार एकीकृत जाँच चौकी (आईसीपी)बाट सुरक्षा पहराबीच अमलेखगञ्ज पु¥याइएको छ। बरौनी डिपोबाट इन्धन बोक्ने ट्यांकर २० हजार लिटर क्षमताको हुन्छ। बरौनी डिपो वीरगन्जबाट दुई सय ३५ किलोमिटर दूरीमा पर्छ।

सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०४९ को खारेजीसँगै १ भदौबाट कार्यान्वयनमा ल्याइएको मुलुकी अपराध संहितामा यातायातसम्बन्धी ऐनको दफा १६१ को उपदफा १ मा ज्यान मार्ने मनसाय लिई दुर्घटना भएको प्रमाणित भएमा चालकलाई जन्मकैद हुने व्यवस्था गरिएपछि यातायात मजदूरले विरोध जनाउँदै आएका छन् । नेपाल राष्ट्रिय यातायात मजदूर संघर्ष समिति अध्यक्ष वसन्त शर्माले नयाँ ऐनको व्यवस्था खारेजीलगायत १३ बुँदे माग पूरा नभएसम्म हडताल जारी राख्ने बताए। नेपाल आयल निगमले इन्धन ढुवानी नगर्ने ट्यांकरलाई कारवाहीको चेतावनी दिएपनि शुक्रबार समेत वीरगन्ज नाकाबाट इन्धन ढुवानी हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्