स्वर्गद्धारी संकटमा, आश्रमलाई भेटीको सहारा



सलिम अन्सारी, प्युठान ।
अचेल गाउँमा गाई देखिन छाडे । तर, सयौँ गाई छन् । स्वर्गद्धारी आश्रममा अझै गाईको हुल नै देख्न पाइन्छ । स्वर्गद्धारी आश्रम नियमित संचालन गर्न बार्षिक ३ करोड रुपैयां खर्च लाग्छ। १ सय ५० को हाराहारीमा कर्मचारी कार्यरत छन।त्यस्तै एक सयजना विद्यार्थी (बटुक) अध्ययनरत छन् । जहाँ संस्कृत विषयको पढाई हुन्छ । गौशालामा ४ सय बढी गाई पालिएका छन। गौ सेवा, अतिथि सेवामा खटिने कर्मचारी छन् । मासिक तलब दिनुपर्छ ।

बिद्यार्थी,आश्रममा साधुसन्त, ब्राहमण गरी दैनिक कम्तीमा २ सय ५० जनाको लागि खाना बन्छ ।आश्रममा सञ्चालन गरिएको वेद पाठशालामा बटुक तथा शिक्षकलाई खाना, आवास र तलबमा पनि वर्षेनी खर्च हुन्छ।यी सम्पूर्ण खर्च आश्रमले व्यहोर्नुपर्छ । ती सवैको लागि स्वर्गद्धारी आश्रमको दैनिक खर्च ६० हजार रुपैयाँ भन्दा माथी छ।नियमीत श्रोत नहुंदा आर्थिक संकटमा परेको स्वर्गद्धारी आश्रमका लागि अहिले भक्तजनको दानदक्षिणा एकमात्र श्रोत हो। सरकारी सहयोगले होइन दर्शनार्थीको भेटीले आश्रम चलिरहेको छ ।

पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी आश्रम भेटीकै भरमा चलिरहेको हो। आश्रमको स्वामित्वमा विभिन्न ठाउँमा रहेका गुठी जग्गा उपभोग गर्न नपाउँदा नियमित आश्रम सञ्चालनमा समस्या देखिएको हो ।

आश्रममा विभिन्न निकायबाट प्रचारप्रसारका लागि रकम आउँछ तर सञ्चालनका लागि कतैबाट आउँदैन। दाङस्थित १ हजार १२ बिघा खेत तत्कालीन माओवादी द्वन्द्वपछि आश्रमले उपभोग गर्न पाएको छैन। युद्ध सुरु हुनु पूर्वजमीनको भोगचलन गर्नेहरूले आश्रमलाई केही रकम बुझाउने गर्दथे । द्वन्द्वका बेला तत्कालीन बिद्रोही माओवादीले आफूहरुले कब्जामा लिएको घोषणा गरेसँगै आश्रमको प्रमुख आयस्रोत बन्द भयो।
आश्रमका अनुसार त्यहाँ रहेको गुठीबाट १ हजार ७ सय ९३ क्विन्टल धान, करिब ४ सय ४० क्विन्टल तोरी र ५ क्विन्टलजति मकै वार्षिक आम्दानी हुनेमा एक दशकदेखि किसानले कुतवाली दिन छाडेको आश्रमका लेखापाल वासु भट्टराई बताउँछन्। आम्दानीको स्रोत यकिन नभए पनि गत आर्थिक वर्षमा स्वर्गद्वारी आश्रममा वार्षिक सरदर १ करोड ७० लाख रुपैयाँ भेटी संकलन भएको थियो। यो रकम सबै आश्रम सञ्चालनमै खर्च हुने भट्टराईले बताए।“अन्य आम्दानीको स्रोत नहुँदा भेटीबाटै आश्रम चलाउनु परिरहेको छ,”उनले भने, “भक्तजन नआए आश्रम सञ्चालन गर्न समस्या हुने अवस्था छ ।”
आश्रममा आउने भक्तजन, भेटी र दानपत्रबाट आम्दानी हुने गरे पनि आम्दानीका अन्य स्रोत नहुँदा सबै वस्तु किनेर काम चलाउनुपरेको जनाउँदै लेखापाल भट्टराईले आन्तरिक रुपमा आश्रम सञ्चालनमा समस्या रहेको गुनासो गरे। आश्रममा सञ्चालन गरिएको क्यान्टिनबाट करिब १० लाख र धर्मशालाबाट करिब ९ लाख रुपैयाँ आयस्रोत जम्मा हुन्छ। नियमित भक्तजन नआउने हो भने आश्रम ६ महिनासम्म सञ्चालन गर्नै समस्या हुने उनले सुनाए।
आश्रममा तेलमा मात्र करिब ७०र८० लाख रुपैयाँ वार्षिक खर्च हुने गरेको छ। हाल गाईका लागि मासिक ३ लाखभन्दा बढी खर्च हुने गरेको छ। दाना खरिद, घाँस काट्ने, गाई चराउने ग्वालाका लागि उक्त रकम खर्च हुन्छ। गाईका लागि मासिक ५ क्विन्टल दाना किन्नुपर्छ। दैनिक अढाईदेखि तीन क्विन्टल चामल खाना तथा अक्षतामा खर्च हुने गरेको छ।
भेटीबाट अनुमानित ५०र६० लाख उठ्ने गरे पनि ७०र८० लाख तलबमै खर्च हुने गरेको छ। यहाँ १ सय ५० कर्मचारीलाई ज्याला दिइन्छ भने २४ जना ब्राह्मणलाई नियमित तलब दिनुपर्ने उनले जनाए। आश्रममा दानापानी, ढुवानी, इन्धन, फर्निचर, ज्याला, टेलिफोन, विद्युत, औषधि, खाद्यान्न, पोसाक, छपाइ, पत्रपत्रिका, राजस्व, चन्दा, कृषिलगायत शीर्षकमा नियमित खर्च हुन्छ।द्वन्द्वका कारण आफ्नो जग्गाको आयस्ता प्रयोग हुन नपाएको भर्न्द आश्रमले २०६० सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले २०६२ चैत १४ गते आश्रम स्वामित्वको निजी गुठी आफंैले प्रयोग गर्न पाउने र हाल बसेका उनीहरुले मोहियानीसमेत नपाउने फैसला गरे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।प्युठान, कोचिवाङमा रहेको १ सय ४० रोपनी खेत पनि द्वन्द्वका बेला माओवादीले कब्जा गरेकामा केही बर्ष पहिले मात्र फिर्ता गरिएको थियो ।यहाँ उठ्ने भेटी व्यवस्थित गराउन स्वर्गद्वारी विकास समिति गठन गर्नुपर्ने आवाज उठिरहेको छ। भेटी सदुपयोग गर्न विकास समिति बनाउनुपर्ने जिल्लाबासी बताउछन। ’आश्रमका नाममा रहेका जग्गाको आम्दानी व्यवस्थित गरिए अर्बाैंको सम्पत्ति रहेकाले स्वर्गद्वारीलाई अरुको भर पर्न नपर्ने नागरिक समाजका अगुवाहरुको धारणा छ।

प्रतिक्रिया दिनुहोस्