स्यार्पु महोत्सवको तयारी अन्तिम चरणमा



धनवीर दाहाल, रुकुम ।
आगामी असोज ११ देखी १५ सम्म आयोजना हुन गइरहेको दोस्रो स्यार्पु पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्यार्पु पर्यटन महोत्सव सफल बनाउनका लागी गठित बिभिन्न उपसमितीहरुले आफ्नो कामलाई तिब्रता दिएको आयोजक समितीका सचिव एवं बाँफिकोट गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो ।

बाँफिकोट गाँउपालिका अन्र्तगतका बर्षातमा भत्कीएका बिभिन्न सडकलाई पुर्ननिमार्ण गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । बाँफिकोट गाँउपालिका अन्र्तगत वडा नं १ र २ को सडकलाई डोजर लगाएर सफा गर्ने कार्य सम्पन्न भएको र अन्य ठाँउमा पनि शनिबार सम्म सम्पन्न हुने बताइएको छ । यसै गरी मुसिकोट देखी बाँफिकोट सम्मको सडकलाई पनि सफा गर्नका लागी मुसिकोट नगरपालिकाले शुक्रबारदेखी काम थालेको छ ।

मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले काम थालिएको र १÷२ दिनमा सम्पन्न गर्ने बताउनुभयो । यस्तै बाँफिकोट गाँउपालिकाले गर्न थालेको सो स्यार्पु पर्यटन महोत्सवका लागी बिभिन्न ठाँउबाट जाने व्यापारीहरुको लागी स्टलहरु निशुल्क रुपमा आयोजकले राखिदिने भएको छ ।

स्टलको शुल्क तिर्ने अन्य महोत्सवहरुको परम्परालाई तोड्दै निशुल्क रुपमा स्टलको व्यवस्था आयोजकले नै व्यवस्था गरेको हो । “जल जंगल जडिबुटि, कृषि, कला संस्कृति हाम्रा उत्सव” “बाँफिकोट समृद्धिको लागी दोस्रो स्र्यापु पर्यटन महोत्सव” भन्ने मुख्य नारा सहित रुकुम पश्चिमको बाँफिकोटमा दोस्रो पर्यटन महोत्सव आयोजना हुन लागेको हो । रुकुमको पहिचानको रुपमा रहेको स्यार्पु ताललाई राष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा चिनाउने मुख्य उद्धेश्यका साथ स्थानीय सरकारले पर्यटन महोत्सवको आयोजना गर्न लागेको गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्