राजधानीमा एक सातालाई पुग्ने इन्धन मौज्दात



काठमाडौं, (नेस)
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले गरेको हड्तालका कारण पेट्रोलियम ढुवानी ठप्प भएको छ। मुलुककी संहिताको विरोध गर्दै देशभरका चालकले हड्ताल गर्दा सार्वजनिक सेवा तथा अतिआवश्यकीय पेट्रोलियम पर्दाथको समेत ढुवानी अवरुद्ध हुँदा राजधानीको इन्धन आपूर्तिमा समस्या भएको छ।
मुलुकी संहितामा दुर्घटना भएमा सवारी चालकलाई तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार जरिवाना हुने व्यवस्थाको विरोध स्वरूपनै चालकले हड्ताल गरेको पेट्रोलियम डिलर एसोसिएसन बाग्मतीका अध्यक्ष अचुतबहादुर खड्काले बताउनुभयो।

नेपाल आयल निगमले सूचना गर्दै ट्याकंर चालकलाई सहज आपूर्ति सुचारु गर्न कडा निर्देशन दिएको छ। निर्देशन अवज्ञा गरी पेट्रोलियम पदार्थ ढुवानी नगर्ने चालकलाई हटाउने चेतावनी दिएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताउनुभयो।

निगमको थानकोट डिपोका प्रमुख भरत रेग्मीका अनुसार करिब एक सातालाई उपत्यकाको माग धान्न इन्धनको मौज्दात रहेको छ। उपत्यकाको माग पेट्रोलको ६ लाख किलोलिटर रहेको छ। रेग्मीले बिहीबार साढे पाँच लाख पेट्रोल बजारमा पठाइएको जानकारी दिँदै भन्नुभयो–‘उपझोताले बन्द हुने त्रासका कारण आवश्यकताभन्दा बढी भण्डारण गरेका कारण पम्पमा लाइन लामो भएको रेग्मीको भनाइ छ। भोलिदेखि कम हुने रेग्मीले भन्दै अनावश्यक तेल मौज्दात राख्ने गरी तेल नभर्न समेत आग्रह गर्नुभयोे।

बजारको मागलाई सहज होस् भनेर थानकोट डिपोले साझा पम्पका ट्यांकर मगाएर २ लाख किलोलिटर र सशस्त्र प्रहरीका ट्यांकरमार्फत पेट्रोल बिहान साढे ८ बजेबाट नै उपत्यकामा इन्धन आपूर्ति गरेको रेग्मीले बताउनुभयो। पूर्वी र मध्य तराईमा सवारी साधन सहज नभएपछि थानकोट डिपोले १ लाख किलोलिटर पेट्रोल नेपालगन्ज नाकाबाट मगाएको छ।

प्रतिक्रिया दिनुहोस्