दधिचिले जिउँदै हाड दान गर्दा हामीले मृत्युपछि आँखा दान किन नगर्ने ?



नेपालमा प्रतिहजारमा एकजना दृष्टिविहीन रहेको सरकारी तथ्यांक छ। सरकारद्वारा गरिएको अन्धोपन सर्वेक्षणले प्रस्तुत गरेको सो तथ्यसँगै विश्वमा प्रतिसेकेन्ड एकजनाले दृष्टि गुमाइरहेको प्रतिवेदन पनि सार्वजनिक भएको छ। मानवअंगहरू सबैका आ–आफ्नै विशेषता छन्, तिनले आ–आफ्नो जिम्माको काम निरन्तर गरिरहन्छन्। एकले अर्काको काममा बाधा नपुर्याउने भएका कारण मानवजीवन प्राकृतिकरूपमा मृत्युपर्यन्त एकनाश चलिरहन्छ। सबै अंगको आ–आफ्नै भूमिका रहँदारहँदा पनि आँखालाई सर्वाधिक महत्वको मानिन्छ, किनकि यसकै माध्यमबाट संसार देख्न सकिन्छ।

आँखाको दृष्टि गुणलाई अनुभूत गर्दै व्यक्तिको दृष्टिविहीनताका कारण भएको फरक क्षमता भएकालाई अरूसरह बनाउन सामूहिक आँखा दान कार्यक्रम विभिन्न ठाउँमा आयोजना हुन जरुरी छ। मरणोपरान्त शरीरका विभिन्न अंगहरू दान गर्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ। तर दान गरिएका अंग ग्रहण गर्नुपर्ने संस्था र प्रविधिको अनुपस्थितिले दाताले दान गरेको अंगले अपेक्षित काम गर्न पाएको छैन। निधनपछि मात्र आँखा निकालिने भएकाले व्यक्तिले जीवितावस्थामै आँखा दानको इच्छापत्र फाराम भर्नुपर्नेछ। त्यस्तो इच्छापत्र गर्नुअघि सम्बन्धित दाताले आफ्नो परिवारको सहमति र स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था हुन्छ।

मानवजीवन महत्वपूर्ण छ। वैदिक सनातन धर्ममा चौरासी लाख जुनीमा एकपटक मात्र मानवजीवन पाइने मान्यता रहेको छ। लोकोपकारका लागि जीवित अवस्थामै आफ्नो शरीरको हड्डी दान गर्ने दधिचि ऋषिको कथा पढेका, सुनेका र त्यही दर्शनका अनुचरहरूले पुण्य कहाँबाट पाइन्छ भन्ने कुरा बुझाउन जरुरी देखिन्छ। यस्तो अभियानमा हेपाटाइटिस, एचआईभी, क्षयरोग, आँखा पाक्ने र क्यान्सरलगायतका रोगीहरूबाहेकले सहभागिता जनाउन सक्ने भएकाले मृत्युपछि प्रदान गरिने आँखाले नयाँशरीरमा प्रवेश गरेर फेरि संसार देख्न पाउने सुखद अवस्था नै हुनेछ। सबैले यस्तो पुण्यको काम गर्न पछि नहटौं।
– सुनिता पहाडी।
नारायण नगरपालिकाको

सकारात्मक काम

नारायण नगरपालिका दैलेखले यो वर्षबाट नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक वस्तुहरूको खोजी गर्ने र इतिहास लेखन कार्यलाई पूर्णता दिने अभियान थालेपछि दैलेखभित्र लुकेर रहेका ऐतिहासिक वस्तुहरूको थप खोजी कार्य शुरू गरिएको छ। यति मात्र हैन, विगतमा दैलेख जिल्लाभित्र रहेका तर विशेष कारण देखाउँदै जिल्लाबाहिर लगिएका ऐतिहासिक वस्तुहरूको खोजी कार्य पनि शुरू गरिएको छ।

दैलेखका विभिन्न पुराना सम्पदाहरू चोरीसमेत भएका छन्। कतिपयको इतिहासलाई फेरबदल गरेर आफू अनुकूल व्याख्या र विश्लेषण गर्ने कार्यहरू शुरू भएपछि इतिहाससमेत ओझेलमा पर्ने खतरा पनि उत्तिकै देखिएको छ। यस्ता सबै विषयहरूलाई मध्यनजर गर्दै नारायण नगरपालिकाले नयाँअभियानको शुरूवात गर्नुपर्ने देखिएको छ। दैलेखको ऐतिहासिक कोतगडीभित्र ३ वटा घरहरू रहेका थिए, घरभित्रको बारेमा कसैले पनि जानकारी पाउन सकेका छैनन्। कोतगडीकै वास्तवकि इतिहास पनि अहिलेसम्म बाहिर आउन सकेको छैन। धेरैले २२ से र २४ से राजा रजौटाको पालामा भन्ने गरेका छन् भने कसैले पाण्डवहरू वनबासका बेलामा लुकेको स्थान दैलेख भएकोले धेरै एतिहासिक वस्तुहरू ढुंगाबाट बनेको कथन सुनाएका छन्। कोतगडीभित्रै रहेका तामा र पितलका अर्ना र सुन्दरी नामका तोपहरू अब दैलेख ल्याउनुपर्ने अहिलेको आवश्यकता हो। किनकि कोतगडीको ऐतिहासिक महत्व दुईवटा तोपसँग जोडिएको छ। यसका लागि प्रदेश सरकार र केन्द्र सरकारले पनि तत्काल सुर्खेतमा राखिएका तोपहरू दैलेख ल्याउनेबारे चासो बढाउनुपर्ने देखिएको छ।

जनताले अधिकार सम्पन्न निर्वाचित गराएको स्थानीय सरकारले यसबारे ठोस निर्णय गर्दै कार्यान्वयनतर्फ लाग्नुपर्ने अहिलेको आवश्यकता हो। यस विषयमा सबै चनाखो हुनुपर्ने देखिन्छ।

– शरद पोख्रेल, दैलेख।
प्रचण्ड सचेत बन
नेपाली राजनीतिमा खेलिरहन बानी परेको भारतले प्रचण्डलाई भारत बोलाएर ललिपप खुवाउन खोजेको प्रस्ट भएको छ। नेकपाभित्र विकल्पको रूपमा उभ्याउने प्रयास गरेको देखिएको छ। योसँगै तत्कालीन एमालेभित्र प्रयोग गर्दा सफल नभएको सूत्रलाई दिल्लीले नवगठित नेकपाभित्र कार्यान्वयन गर्ने कोशिश पनि गरेको छ। उता दाहालका लागि पनि आफ्ना पछाडि बलियो साथ छ भनेर देखाउने अवसर बनेको छ भ्रमण।

दिल्लीसँग प्रचण्डको सम्बन्ध विगतदेखि नै रहस्यमय र उतारचढावयुक्त छ। भारतमा बसेर नेपालमा हिंसात्मक युद्ध निर्देशन गरिरहँदा होस् वा पहिलोपटक प्रधानमन्त्री हुँदा र बाहिरिंदा, दोस्रोपटक प्रधानमन्त्री हुँदा होस् वा एमालेसँग एकता गर्दा उनको दिल्लीसँगको सम्बन्ध भिन्दाभिन्दै आयाममा प्रकट भएको छ।

आगामी दुई वर्षभित्र पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद लिने र त्यसका आडमा अर्को पद पनि हत्याउने योजनामा रहेका दाहालले वर्तमान सरकारको बढ्दो अलोकप्रियता, सरकारप्रति छिमेकीको अरूचि र पूर्वएमालेभित्रको अन्तरविरोधलाई उपयोग गर्न सक्दा आफू अनुकूल वातावरण बन्ने आँकलन गरेका हुनसक्छन्।

नत्र केन्द्रमा एकताको घोषणा भए पनि देशभर पार्टी एकतालाई असरल्ल छाडेर र एकीकृत पार्टीभित्रको आन्तरिक समीकरणको पूर्ण चित्र नआइपुग्दै दिल्ली दर्शनका लागि उनी हतारिने थिएनन्। दाहालको दिल्ली भ्रमणले प्रधानमन्त्री ओलीलाई त झस्काएको हुनुपर्छ नै, अरू नेताहरूलाई पनि एकठाउँमा उभिएर सोच्न बाध्य बनाएको हुनुपर्छ।

– हरि कार्की, काठमाडौं।

हावातालमा निर्णय नगरौं

भरतपुर महानगरपालिकाले नगरक्षेत्रमा बन्ने भनेको सिटी हल भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको गेस्ट हाउस चौरमा बनाउने भनेर निर्णय गरेको छ। यसअगाडि भरतपुर–७ मा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउने निर्णय गरेको थियो। नेपाली कांग्रेसको लगातारको विरोधपछि महानगरपालिकाले क्यान्सरको जग्गामा सिटी हल बनाउने निर्णयबारे पछाडि हट्न बाध्य भयो।

क्यान्सरको जस्तो धेरै क्षेत्रफल भएको जग्गामा सिटी हल बनाउन नमिल्ने कुरा गर्ने, फेरि शहरको बीचमा सिटी हल बनाउन उपयुक्त हुन्छ ? जुँगाको लागि लडाइँगर्नुभन्दा बरु विकासका लागि सहकार्य गरेर अगाडि बढ्नु उपयुक्त हुन्छ यहाँका राजनीतिक दलहरूको। गेस्ट हाउस चौरको अगाडि जिल्ला प्रहरी कार्यालय छ। शहीद मञ्च बनाउने भनेर लागिएको ठाउँलाई रातारात किन सिटी बनाउने निर्णय गरियो ?

बजारको बीचभागमा खालि ठाउँचाहिन्छ भन्ने हेक्का नभएको हो महानगर र यहाँका राजनीतिक दलहरूलाई ? विपद्को बेलामा खुला ठाउँआवश्यक पर्छ भन्ने कुरा त २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पनि चेत खुलेको हुनुपर्ने हो। फेरि किन खुला ठाउँमासेर सिटी हल बनाउने निर्णय गरिँदै छ ?

सिटी भनेको कुनै केटाकेटीको खेल होइन। पाँच हजार मानिस अटाउने सिटी बनाउनका लागि त्यसै अनुसारको संरचना पनि आवश्यक छ। कम्तीमा पनि सयवटा ठूला सवारी, चार–पाँच सयको संख्यामा हलुका सवारी साधन र एक हजारभन्दा बढीको संख्यामा मोटरसाइकल अटाउने गरी पार्किङ क्षेत्र बनाउनुपर्छ।

विभिन्न कार्यक्रम भइरहेको ठाउँलाई मासेर सिटी बनाउन खोज्नु भनेको हतारको काम लतार मात्रै हुन सक्छ। निकाशा भएको ५० करोड रुपियाँफ्रिज हुने डरले जस्तोसुकै निर्णय पनि लिने ? सिटी हल भनेको दीर्घकालीन सोच राखेर बनाउनुपर्छ। नगरको बीच भागमा सिटी हल निर्माण गर्ने सहमतिबाट पछि हट्दै अन्य ठाउँमा ठूलो क्षेत्रफलमा सिटी हल बनाउने निर्णय गर्नु दीर्घकालिन र उपयुक्त हुन्छ।

– सुदन संसार, चितवन।

प्रतिक्रिया दिनुहोस्