पहिलोपटक रेलिगेसनविहीन लिग



पहिलोपटक रेलिगेसनविहीन लिग

कविरस शर्मा
यसपटक रेलिगेसन नहुने गरी सञ्चालन गर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज १३ देखि पौष ३० गतेसम्म हुने भएको छ। लिगअगाडि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट एन्फाले सहिद स्मारकको ट्रफी टुरसमेत शुरू गरिसकेको छ। केही दिनपछि शुरू हुने लिगका खेलहरू राउन्ड रोविन लिग प्रणालीअनुसार खेलाइनेछ। आलोचना र समर्थनका बीच असोज १३ बाट लिग शुरू हुनेछ।

विभिन्न कारणले २०७० सालपछि पहिलोपटक हुन लागेको ‘ए’ डिभिजन लिगको ६४ वर्ष लामो यात्राले यसपाली नयाँमोड लिँदै छ। लिगको ४२औं संस्करणमा घटुवा अर्थात् रेलिगेसन प्रणालीलाई हटाइएको छ। लिगमा यस्तो व्यवस्था पहिलोपटक लागू गर्न लागिएको हो। यसमा एन्फाका पदाधिकारीहरूले अहिले रेलिगेसन हुने लिग सञ्चालन गर्न नसकिने स्पष्ट पारिरहेका छन्।

विगत ४ वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिगले बल्ल निकास पाएको छ। त्यस अन्तरालमा विभिन्न मितिमा गर्ने भनिए पनि अखिल नेपाल फुटबल संघको आन्तरिक किचलोका कारण लिगले गति पाउन सकेको थिएन। पछिल्लोपटक २०७० मा ‘ए’ डिभिजन लिगको ४१औं संस्करण सम्पन्न भएको थियो। यसअघि थुप्रैपटक आयोजनाको मिति तोकिए पनि हुन नसकेको लिगलाई पुनर्जीवन दिने निर्णय गर्दा एन्फा नेतृत्व आफैंले उठाएका मुद्दामा चुकेको थियो।

एन्फाको तत्कालीन नेतृत्वले २०७१ मा राष्ट्रिय लिगको अवधारणा ल्याएको थियो। मोफसलका चार क्लबसमेत समावेश गरिएको राष्ट्रिय लिग चल्दै गर्दा २०७२ मा भूकम्प गएपछि २ वर्ष लगाएर त्यो प्रतियोगिता सम्पन्न गरिएको थियो। त्यसपछि एन्फाले ‘ए’ डिभिजनको लिग गर्न सकेको थिएन। तर अहिले कर्मा छिरिङ शेर्पाको नेतृत्वमा नयाँकार्यसमिति चयन भएपछि एन्फाले असोजमा लिग गर्ने घोषणा गरेको हो।

यसबीच केही प्रतिभावान खेलाडीसमेत पलायन भए। तर ती सबै कुरालाई चिर्दै अन्ततः शेर्पाको अध्यक्षतामा चयन भएको एन्फाको नयाँकार्यसमितिले लिगको आयोजनाको अन्तिम टुंगो लगाउन सफल भएको छ।

यसपटक भने लिगको स्वरूपमा केही फेरबदल भएको छ। सधै हुँदै आएको घटुवा र बढुवा प्रणाली हटाइएको छ। अमेरिकाको मेजर लिग सकरलाई अनुसरण गरेर हो कि, एन्फाले पनि नेपालमा रेलिगेसन प्रणाली हटाएको छ। जसका कारण लामो समयपछि हुन लागेको लिगलाई क्लबहरूले गम्भीरतापूर्वक लिन नसकेको देखिएको छ। जसका कारण झारो टराइमा क्लबले तयारीलाई अघि बढाएका छन्। प्रायः जस्तो क्लबहरूले यसपाली घटुवा भइएला कि भन्ने सबैभन्दा ठूलो भयबाट मुक्ति पाएका छन्।

सके उपाधि नसके ‘बी’ डिभिजनमा घटुवा नहुने निश्चित भएपछि क्लबहरू अहिले तनावमुक्त भएका छन्। रेलिगेसन नहुने भएपछि ‘ए’ डिभिजनको हैसियत जोगाउनेमात्र लक्ष्य बोकेका अधिकांश क्लबलाई आफ्नो टिम बलियो बनाउन लगानी गर्नुपर्ने दबाबबाट समेत राहत मिलेको छ। तर यस्तो प्रणालीले नेपाली फुटबलको स्तरलाई माथि उकास्न के कति सहयोग पुग्ला भन्ने विषयमा भने प्रश्न चिह्न खडा भएको छ।

जसरी एसएलसीमा अनुत्तीर्ण हुने प्रणालीलाई हटाएर ग्रेड व्यवस्था लागू गरियो, त्यसैको सिको अहिले नेपाली घरेलु फुटबल लिगले पनि गरेको छ। शैच्छिक क्षेत्रमा नियम परिवर्तन गरिएजस्तै ‘ए’ डिभिजन लिगको पुछारमा रहने टोलीको ग्रेड घटेर ‘बी’ डिभिजनमा नझर्ने भएपछि फुटबलको स्तर गिर्ने शंका उत्पन्न भएको हो। रेलिगेसनबिनाको प्रतियोगिताले लिगको औचित्य समाप्त गर्ने प्रश्न उठिरहेका बेला एन्फाले गतमहिना पुरानो निर्णयमा केही परिमार्जन गर्यो।

त्यसअनुसार लिगको पुछारमा रहने तीन टोलीले अर्को सिजन लिगमा तिर्नुपर्ने गरी क्रमशः ३, २ र १ अंक खोस्ने निर्णय गरेको थियो। तर एन्फाको पछिल्लो निर्णयअनुसार अब पुछारका दुई टोलीले मात्र कमजोर प्रदर्शनको मूल्य चुकाउनुपर्ने नियम अघि सारेको छ।

१४ टोलीले सहभागिता जनाउने यस लिगमा १३औं र १४औं स्थानमा रहेका टोलीका लागि घाटा हुनेछ। रेलिगेसनबिना सञ्चालन हुने लिगको १३औं स्थानमा रहेने टोलीको अर्को वर्ष १ अंक घटाइनेछ। सो टोलीलाई दिइने सहयोग रकममा २ लाख पनि काटिनेछ। त्यस्तै अन्तिम स्थान प्राप्त गर्ने टोलीको अर्को वर्ष २ अंक घटाइनेछ र ३ लाख सहयोग रकम पनि कट्टा गरिनेछ। तर फेयर प्ले घोषित टोलीलाई १ लाख नगद पुरस्कारले सम्मानित गरिने परिपाटीलाई भने कायमै राखेको छ।

घटुवा प्रणाली रोकिएसँगै ‘बी’, ‘सी’ र ‘डी’ डिभिजनका फुटबल क्लबको औचित्य पनि एन्फाले स्पष्ट पार्न सकेको छैन। यदि कुनै पनि क्लबको घटुवा र बढुवा हुँदैन भने ‘बी’ बाट ‘ए’, ‘सी’ बाट ‘बी’ र ‘डी’ बाट ‘सी’ डिभिजनमा पुग्नका लागि खेल्ने क्लबको अस्तित्वको विषयमा एन्फाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्दछ। एन्फाले यसरी फुटबलको दायरा खुम्च्याउनाले मोफसल तथा अन्य स्तरका खेलाडीसमेत अन्यायमा पर्ने देखिन्छ।

यसअघि रेलिगेसन प्रणाली भएकै कारण अहिलेका थुप्रै क्लबहरूले ‘ए’ डिभिजनमा सफलताको तहल्का मच्चाउने अवसर पाएका छन्। जसमध्ये लिगको सर्वाधिक उपाधि विजेता मनाङ मस्र्याङ्दी क्लबको उत्कृष्टता यसको राम्रो उदाहरण हो। यस्तै आरसीटीजस्ता अन्य केही चर्चित क्लबलाई भने रेलिगेसनविहीन अहिलेको लिग प्रणालीले चोट दिने काम गरेको छ। रेलिगेसन नहुने प्रणालीले यी क्लबको ‘ए’ डिभिजन भविष्य अनिश्चित बनेको छ।

विभागीय टोली बढी सक्रिय

लिगमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका १४ क्लबमध्ये ३ विभागीय क्लबमात्र नियमित अभ्यासमा छन्। बाँकी तयारी शुरू गर्ने कोसिसमा छन्। लिग शुरू हुन एक हप्तामात्र बाँकी रहँदा पनि लिग हुने काठमाडौंको माहौल फुटबलमय बन्न सकेको छैन। एन्फाको तयारी जोडतोडले चलिरहे पनि क्लबको तयारी भने सुस्त छ।
कतिपयले तयारी थालेको केही समयमात्र भएको छ भने कतिपयले भर्खरै मात्र शुरू गरेका छन्। केहीले विदेशी खेलाडी भिœयाउने प्रयास गर्दैछन् भने केहीको नेपाली खेलाडी अनुबन्ध हुने क्रम शुरू भइसकेको छ। हतारको तयारीले लिग खेल्ने सबै टोलीको तयारीमा प्रतिकूलता छाएको छ। जसमध्ये केही सफल र विभागीय टोलीहरू पनि अछुतो छैनन्।

सर्वाधिक ७ पटक लिगको उपाधि उचालेको मनाङ मस्र्याङ्दी क्लबले लिग शुरू हुन दुई साताअघिबाट मात्र प्रशिक्षण शुरू गरेको छ। विदेशी प्रशिक्षक र ३ विदेशी खेलाडी भिœयाएको मनाङले भदौ ३१ गतेबाट मात्र तयारी थालेको हो। सानो गौचरण मैदानमा मनाङ टोलीले तयारी गरिरहेको छ। मोफसलमा हुने गोल्डकप प्रतियोगितामा पनि सर्वाधिक उपाधि उचाल्ने मनाङ २०७० सालको लिग विजेता पनि हो।

यस्तै अर्को प्रभावशाली टोली थ्रीस्टार क्लबले दुई साताअघिबाट मात्र प्रशिक्षण शुरू गरेको छ। सातोदोबाटोस्थित चर्च ग्राउन्डमा मेघराज केसीले टोलीलाई प्रशिक्षण दिइरहेका छन्। दुई विदेशी खेलाडी मार्टिन र पिटर पहिलेदेखि टिममा रहेका छन्। गत संस्करणको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले ४ पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको छ।

एन्फाको लापरबाहीका कारण एएफसी क्लब च्याम्पियनसिपको दोस्रो चरणमा सहभागिता जनाउन नपाएको थ्रीस्टार झन्डै १ वर्ष फुटबल गतिविधिबाट टाढिएको थियो। एन्फालाई चेतावनी दिँदै फुटबलबाहिर बसेको थ्रीस्टारले क्षतिपूर्ति पाएपछि पुनः खेलमा फर्कियो र उपाधिहरू पनि भियायो।
तीनपटक लगातार सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि जितेको नेपाल पुलिस क्लबले भने यसपालीका लागि विशेष तयारी थालेको छ। पछिल्लो समय केही सुस्ताएझैं देखिएको पुलिस क्लब फेरि पुरानो लय समात्ने रणनीतिका साथ तयारीमा जुटेको हो। विभागीय क्लबको नियमित प्रशिक्षण हुने भए पनि पुलिसले लिग केन्द्रित गर्दै विशेष तयारी थालेको छ। यो वर्ष मोफसलमा भएका प्रतियोगितामा ७ पटक फाइनल पुगेर तीन उपाधि उचाल्दै लयमा फर्किएको संकेत गरेको पुलिसले लिग च्याम्पियन बन्ने दाबी गरेको छ।

नियमित प्रशिक्षणमा रहने विभागीय क्लब एपीएफले पनि तयारी तीव्र बनाएको जनाएको छ। पहिलोपटक लिगमा उपाधि जित्ने लक्ष्यका साथ तयारी थालेको छ। त्रिभुवन आर्मी क्लब पनि नियमित अभ्यासमा रहने टिम हो। तथापि टोलीले पछिल्लो समय नियमित अभ्यासलाई लिगको विशेष तयारीमा रूपान्तरण गरेको छ।

नेपालमा राणा शासनको अन्त्य भएको ४ वर्षपछि नै सहिद स्मारक नामबाट लिगको थालनी गरिएको हो। २०११ बाट शुरू भएको लिगको स्वरूपमा घटुवा र बढुवा प्रणाली हटाइएको यो पहिलोपटक हो। विगतमा दुईपटक राष्ट्रिय लिगको प्रयोग पनि भयो तर रेलिगेसनबिना निरन्तरता खोजेको भने यो नै पहिलोपटक हो।

यसअघि एकल, दोहोरो, सुपर लिगका साथै सुपर सिक्स, प्लेअफजस्ता विभिन्न ढाँचा अपनाए पनि पुछारको टोली ‘ए’ डिभिजनमा नै रहिरहने नियम भने थिएन। जसका कारण ‘ए’ डिभिजनको पुछारमा रहने कम्तिमा पनि एक टोली ‘बी’ डिभिजनमा घटुवा हुने प्रावधान रहँदै आएको थियो। यस्तै ‘बी’ डिभिजनमा शीर्ष स्थान हासिल गर्ने कम्तिमा पनि एक टोलीले ‘ए’ डिभिजन खेल्ने अवसर पाउँथ्यो। तर अहिले सामान्य भाषामा न घटुवा न बढुवा हुने लिग आयोजनाको निर्णय सर्वत्र आलोचनाको विषय बनेको छ।

पुरस्कार राशीमा कटौती

२०७० सालमा उपाधि विजेता टोलीले ७५ लाख नगद पुरस्कार प्राप्त गरेको थियो। यसपटक भने विजेता बन्ने टोलीले २५ लाख कम अर्थात् ५० लाख नगद पुरस्कारमै चित्त बुझाउनुपर्ने भएको छ। तर दोस्रोदेखि छैटौं स्थानका लागि भने पहिलेकै रकम पुरस्कार दिइनेछ।

दोस्रो हुने टोलीलाई ३५ लाख र तेस्रो हुने टोलीलाई २५ लाख नगद प्रदान गरिनेछ। यसै गरी चौथोदेखि छैटौं स्थानसम्म रहने टोलीले क्रमशः १५ लाख, ७ लाख र ५ लाख नगद हासिल गर्नेछन्। व्यक्तिगत पुरस्कारमा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, रक्षक, गोलकिपर र प्रशिक्षकले जनही एक थान मोटरसाइकल पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्