वरिष्ठ न्यायाधीश जोशीमाथि महाअभियोग तयारी



काठमाडौं, (नेस)
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने तयारी थालिएको छ। वरिष्ठ न्यायाधीश जोशीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै संसद्मा महाअभियोग लगाउने तयारी थालिएको संसदीय सुनुवाइ समितिका सदस्य शिवकुमार मण्डलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।
संविधानको धारा १३१ (ग) मा धारा १०१ बमोजिमको महाअभियोगको प्रस्ताव पारित भएमा अदालतका न्यायाधीश पदमुक्त हुने व्यवस्था छ। धारा १०१ मा प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले सर्वाेच्च अदालतका न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव पेस गर्न सक्ने उल्लेख छ।

यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने व्यवस्था पनि सो धारामा गरिएको छ। सदस्य मण्डलले भन्नुभयो– ‘अस्वीकृत भएको व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिनुपथ्र्यो। नियत राम्रो देखिएन। त्यही भएर हामीले कानुनी आधारमा महाअभियोग लगाउने तयारी गरेका हौं।’

प्रधानन्यायाधीशमा जोशीको नाम संवैधानिक परिषद्ले सिफारिस गरे पनि संसदीय सुनुवाइ समितीको बहुमतले गत साउन १८ गते अस्वीकृत गरेको थियो। जोशीले अध्ययन गरेको संस्थाबाट प्राप्त गरेको शैक्षिक प्रमाणपत्रहरू विवादित र जन्ममितिसमेत फरक–फरक प्रकृतिको रहेको भन्दै समितिले अस्वीकृत गरेको थियो।

नयाँ प्रधानन्यायाधीशका रूपमा ओमप्रकाश मिश्र आएसँगै पुनः ४१ दिनपछि भदौ २५ गते जोशी सर्वोच्चमा हाजीरी हुनुभएको थियो। सोहि दिन जोशीको पेशी नतोकिए पनि प्रधानन्यायाधीश मिश्रले २६ भदौदेखि तोक्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्