सिंहदरबारमा सुरक्षा थ्रेट, पश्चिम गेट सर्वसाधारणका लागि बन्द



मधुसूदन रायमाझी
काठमाडौं
सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणका लागि बन्द गरिएको छ।

सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर (नेपाली सेना)को गेट निजामती कर्मचारीले मात्र प्रवेश पाउने गरी बन्द गरिएको छ।

सुरक्षाकर्मी र कार्यालय समयमा निजामती कर्मचारीले मात्र प्रयोग गर्ने गरी पश्चिम उत्तरतर्फको गेट बन्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले सिंहदरबारभित्र प्रवेश गर्न सहज बनाउनका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो।

सिंहदरबार सुरक्षा समन्वय समितिले सूचना अधिकारीको संयोजकत्वमा सिंहदरबारस्थित नेपाली सेनाको सेनानी र महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका प्रहरी निरीक्षक रहेको तीन सदस्यीय समिति गठन गरेको छ। समितिले पेस गर्ने प्रतिवेदनका आधारमा केही समयभित्र नै सिंहदरबारमा सवारी र झोला चेक गर्न दक्षिण गेटमा एक्सरे मेसिन जडान गर्ने तयारी गरेको छ।

सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र सर्वसाधारणका लागि सञ्चालमा रहेको छ। दक्षिण गेटबाट प्रवेश गरेर पश्चिम उत्तर (नेपाली सेना)को गेटबाट सर्वसाधारण बाहिर निस्कने गरेका थिए।

उक्त गेट बन्द भएसँगै दक्षिण गेटमा हाल ट्राफिक जाम अत्यधिक हुने गरेको छ। प्रवेश गर्ने र बाहिरिने दक्षिण गेटबाट मात्र हुँदा चेकचाँजमा समस्या हुने गरेको बताइएको छ।

महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले दक्षिणबाट प्रवेश गरेपछि पूर्वी गेटबाट बाहिरिने व्यवस्था गर्दा राम्रो हुने बताएको छ। एक प्रहरी अधिकृतले भने– ‘एउटै गेटबाट आउने/जाने गर्दा चेकजाँचमा समस्या भएको छ, सकेसम्म पूर्वी गेटबाट बाहिरिने व्यवस्था भए सुरक्षाको दृष्टिकोणले पनि राम्रो हुन्छ।’

सिंहदरबार सुरक्षा समन्वय समितिका अनुसार बिहान ९ देखि ११ र दिउँसो ४ देखि ६ बजेसम्मका लागि परिचयपत्रको आधारमा मात्र कर्मचारीलाई प्रवेश दिइने भएको छ। समितिले दक्षिणतर्फको तीन नम्बर गेट प्रयोग गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्