खेलसँग सम्बद्ध सबैलाई बाँच्ने आधार बनाउँछौंः एन्फा केन्द्रीय अध्यक्ष शेर्पा



अमृत अर्याल, स्याङजा ।
अखिल नेपाल फुटवल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडी, प्रशिक्षक र रेफ्रीलाई बाँच्ने आधार निर्माण गर्ने बताउनुभएको छ । बिहीबार स्याङ्जाको वालिङमा वालिङ नगरपालिका र जिल्ला फुटवल संघ स्याङ्जाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले एन्फाको अबको चार वर्षको मुख्य काम भनेको खेलकुदको क्षेत्रमा संलग्नलाई बाँच्ने आधार निर्माण गर्ने बताउनुभएको हो । “हामीले अब नयाँ नयाँ खेलाडीहरु उत्पादन मात्रै गर्दैनौं” अध्यक्ष शेर्पाले भन्नुभयो, “उनीहरुलाई खेल क्षेत्रमा लागेर बाँच्ने आधार पनि सिर्जना हुने गरी योजना बनाएका छौं ।”

विगतमा सञ्चालन भएर रोकिएका प्रतियोगिताहरु सञ्चालन गर्ने, प्रत्येक जिल्लामा ग्रासरुट तहका फुटवल प्रतियोगिताहरु सञ्चालन गर्ने, जिल्ला÷जिल्लामा क्लबहरुलाई सशक्त बनाई उनीहरुबीच प्रतियोगिताहरु सञ्चालन गर्ने जसले गर्दा खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरु सक्रिय भईराख्ने र एन्फाले पनि सहयोग गरी उनीहरुलाई खेलेरै बाँच्ने आधार निर्माण गर्ने योजनाका साथ अघि बढेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

“हामीले जबसम्म प्रतिभा भएका खेलाडीहरुलाई मैदानमा उतार्न सक्दैनौं तबसम्म उपलब्धी देखिंदैन” अध्यक्ष शेर्पाले भन्नुभयो, “हामीले आधारभूत तहदेखि नै खेलाडीहरु उत्पादन गर्नका लागि ४५ जिल्लामा ग्रासरुट तहको फुटवल प्रशिक्षणको थालनी गरेका छौं ।”

स्याङ्जाको वालिङमा उत्पादन भएका पुरुष तथा महिला खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा राम्रो खेल प्रस्तुत गरेको र यहाँको फुटवलको विकासका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउने साथै वालिङलाई ट्रेनिङ सेन्टरको रुपमा विकास गर्न सकिने विषयमा छलफल गर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहनप्रसाद रेग्मीले फुटवलमा देखिएको विकृति विसंगतिलाई तोड्दै एन्फाको गरिमालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनु आवश्यक रहेको बताउँदै आधारभूत तहदेखि नै फुटवलमा गरिएको लगानीले भविष्य उज्वल भएर जाने धारणा राख्नुभयो । स्वागत कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाले खेलकुदको विकासका लागि एक करोड रुपैयाँ विनियोजन गरेको बताउँदै यसको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले खेलकुदमा विनियोजन गरिएको रकम खर्च नभई लगानी भएको र यसले भविष्यमा प्रतिफल दिने बताउनुभयो ।

“खेल खेलेर केही हुँदैन भन्ने जुन भ्रम छ त्यसलाई चिर्दै वालिङमा उत्पादन भएका खेलाडीहरुले प्रस्तुत गरेको उत्कृष्ट खेलले उनीहरुको योगदानले खेलेर पनि केही गर्न सकिन्छ भन्ने प्रमाणित गरिसकेको छ” नगर प्रमुख खाँणको भनाई थियो । नगर स्तरीय खेलकुद विकास समितिका सदस्य एवम् एन्फा स्याङ्जाका उपाध्यक्ष ताराबहादुर गुरुङ (शम्शेर) को सभापतित्वमा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रममा एन्फा स्याङ्जाका उपाध्यक्ष एवम् ग्रासरुट ग्राण्ड रिहर्सल कार्यक्रमका संयोजक मधुसुदन आचार्यले स्वागत र एन्फा स्याङ्जाका महासचिव भिमप्रसाद पंगेनीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्