विर्तामोडमा गोदाम राखेर अवैध कारोबार



भद्रपुर ।
कारोबारीले झापाको विर्तामोडलाइ अवैध रुपमा निकासी तथा पैठारी गर्ने मुख्य केन्द्रको रुपमा प्रयोग गर्ने गरेको खुलसा भएको छ । सशस्त्र प्रहरीले विर्तामोडको एउटा गोदाममा छापा मारेर करिव २६ लाखको लत्ताकपडा बरामद गरेपछि घटना सतहमा आएको हो ।

विर्तामोडमा भण्डारण गरी झापासहित मोरङ् ,सुनसरी लगायतका जिल्लामा कारोबार गर्न सहज हुने भएकोले भारतबाट भन्सार छलेर गोदाम नै भाडामा लिएर सामग्री राख्ने गरेको घटनाले देखाएको छ ।

भन्सार छलेर ल्याएको लत्ताकपडा झापाको बिर्तामोड नगरपालिका– ५ स्थित त्रिवेणी चोकमा भण्डार गरी राखिएको गोदाममा सशस्त्र प्रहरीले मङ्गलबार बेलुका छापा मारेपछि विर्तामोडमा सनसनी मच्चिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल, राजश्व अनुसंन्धान गुल्म इटहरीका सशस्त्र प्रहरीका डिएसपी रामकुमार सिंहको नेतृत्वमा आएको टोलीले विशेष सूचनाको आधारमा राजिव जैनले भाडामा दिएको गोदाम घरमा छापा मारेको सशस्त्र प्रहरी बल नेपाल झापा गण नम्बर २ ले जनाएको छ ।

राजश्व अनुसंन्धान कार्यालय इटहरी, सशस्त्र प्रहरी राजश्व अनुसंन्धान गुल्म इटहरी, झापा गण नम्बर २, शनिश्चरे र काकँडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले गोदाममा छापा मारेर २६ पोका कपडा बरामद गरेको जनाएको छ । बरामद गरिएको लत्ताकपडाको आवश्यक भन्सार कागजात नभेटाएपछि सामान आवश्यक कारबाहीका लागि लगेको डिएसपी सिंहले जानकारी दिए । गोदाममा सटिङ–सुटिङ, कुर्ता सुरुवाल,सुती साडी लगायत वहुमूल्य सामान रहेको जनाइएको छ ।

घरधनि जैनलाई नियन्त्रणमा लिएपछि इलामको पशुपतीनगरबाट भन्सार छलेर नेपाल भित्राइएको २६ पोका कपडा विगत केही महिनादेखि गोदाममा रहेको घटना सार्वजानिक भएको थियो । सामान इलामको पशुपतीनगर नाकाबाट ल्याएर भण्डार गरिएको घटनास्थलमा उठाइएको मुचुल्कामा घरधनी जैनले हस्ताक्षर गरेको सशस्त्र प्रहरी जनाएको छ ।

गोदाम भद्रपुरका चन्दन कामतीले भाडामा लिएको घरधनीले वयान दिएको राजस्व अनुसन्धान अधिकृत रमेश रेग्मीले जनाए । घटनास्थलमा बिल बिजक फेला नपरेकोले अनुसन्धानको लागि इटहरी ल्याइएको अधिकृत रेग्मीको भनाइ छ । केही दिन पछि कार्यालय प्रमुख आएपश्चात अनुसन्धान अघि बढ्ने उनले जनाए । हालसम्म कसैलेपनि सामानको जिम्मा लिन नआएको उनको भनाइ छ । सामान को प्रमाण नपुर्याएमा धनीले बिगोको २ सय प्रतिशत जरिवाना लाग्ने उनले बताए । सम्पर्कमा कोही नआएमा लिलाम बिक्री हुने जनाइएको छ ।

इटहरीबाट आएको टोलीले झापाका सशस्त्र प्रहरीको सहयोगमा छापा मारेको सशस्त्र प्रहरी बल नेपाल झापा गण नम्बर २ का एसपी रेशमकुमार थक्सूले बताए । झापामा यति ठुलो परिमाणको सामान फेला परेको पहिलो पटक भएको एसपी थाक्सूले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्