बढाइदिने भनेको बृद्धभत्ता पाइन्छ कि पाँइदैन वडा अध्यक्ष ज्यू ?



गंगा बराल, काठमाडौं ।
हिजो निर्वाचनमा जाँदा बृद्धभत्ता बढाइन्छ भनिएको थियो, होला भनियो तर अहिलेसम्म दिने टुंगो छैन, के बढेको बृद्धभत्ता पाइन्छ कि पाइँदैन वडा अध्यक्ष ज्यू , सरकारको नीति जे भएपनि वडामा चाँहि थप गर्न मिल्छ कि ?

बुधबार गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा आयोजित आर्थिक वर्ष २०७४÷०७५ को बजेटको समीक्षा तथा शान्ति, सुरक्षा, बिकास निर्माण तथा सेवा प्रवाहीकरण विषयक सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुमा नै स्थानीय उदय सापकोटाले यस्तो प्रश्न गर्नुभयो । उहाँले जनताले तिर्न नसक्ने गरी करको दर बढेकामा पनि स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो । सापकोटाले मात्र होइन अरुले पनि विशेष गरी कर बढेको, जनताका सामान्य आवश्यकता पूरा गर्न वडाले नसकेको, सडक नालाहरु अलपत्र परेको भन्दै वडाध्यक्षसँग गुनासो गरेका थिए ।

नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष हुनुभएका मनोज ढुंगानाले अहिलेसम्म भएका बिकासका काम र भावी योजनाबारे सुरुमा नै प्रकाश पारेपछि सिधा प्रश्न र जवाफ भएको थियो । स्थानीय टोलका यूवाहरु कुलतमा लागेको, रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्न वडाले नसकेको, धारामा पानी नआएको, वातावरण स्वच्छ राख्न कुनै पहल नगरेको भन्दै स्थानीयले वडाध्यक्षको जवाफ मागेका थिए ।

एकपटकमा ५ जनाको प्रश्न लिएपछि वडाध्यक्षले जवाफ दिनुभएको थियो । सुरुमा स्थानीयले प्रश्न गर्न त्यति उत्साह नदेखाएपनि अन्तिम चरणमा भने प्रश्नको ओइरो लागेको थियो । वडाध्यक्ष ढुंगानाले कर बढाउने र घटाउने विषय आफूले चाहँदैमा मात्र नहुने भन्दै बढी कर नलिएको दावी गर्नुभयो । अनावश्यक कर उठाएर वडा चलाउनुपर्छ भन्ने आफ्नो सोच नभएको भन्दै उहाँले नागरिकबाट तिरिएको करको सदुपयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

कानुन व्यवसायीसमेत रहनुभएका स्थानीय केशव दाहालले पानीको शुल्क तिर्दा पटकैपिच्छे ढलको शुल्कका नाममा थप ५० प्रतिशत रकम तिर्नुपर्ने व्यवस्थाबारे प्रश्न गर्नुभयो । वडाध्यक्षले एकपटक शुल्क तिनुपर्ने व्यवस्था भएपनि पटकपटक तिर्नुपर्ने विषयमा आफूलाई जानकारी नभएको र के व्यवस्था रहेछ बुझ्ने बताउनुभयो । सम्बन्धित नगरका प्रमुख, क्षेत्रका सांसदहरुको समेत उपस्थिति गराइएको भए केन्द्रीय आयोजनाको विषयमा पनि जानकारी पाइने भएकाले त्यो अवसर गुमेको भन्दै आगामी दिनमा त्यसतर्फ ध्यान दिन कार्यक्रमका आयोजकलाई वडाबासीले आग्रह गरेका छन् ।

फोहरमैलाले वडामात्र नभएर नगर नै दुर्गन्धित भएको भन्दै स्थानीयले वडाले फोहर जिम्मा लिएर त्यसबापत पैसा दिनुपर्ने बताए । ‘कहिले कसको बन्द त कहिले के के हुन्छ त्यो हामीलाई मतलब छैन तर यस्तो अवस्थामा फोहर व्यवस्थापनको अन्य बिकल्प पनि खोजिनुप¥यो’ स्थानीयले भने । वडाबासीले मन बहलाउने पार्क, क्रियापुत्री कक्षका साथै, जेष्ठ नागरिक भवन बनाउनका लागि वडालाई पहल गर्न आग्रह गरेका छन् ।

जया पल्टिपल क्याम्पसको प्रांगणमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख भवानीप्रसाद पौडेलले वडामा जनताका गुनासा बढ्दै गएकाले जनप्रतिनिधि र जनताबीचको दुरीलाई छोट्याउन यो कार्यक्रम गर्न पहल गरेको बताउनुभयो । ‘वास्तवमा जनताको भनाई के रहेछ र त्यसलाई प्रतिनिधिले कसरी लिएका रहेछन् भन्ने सुन्नु र सुनाउनु आवश्यक थियो त्यसैको लागि सहजीकरण गरेका हौं’ क्याम्पस प्रमुख पौडेलले भन्नुभयो ‘ यो अभियनबाट अन्य स्थानीय तहलाई पनि जनताप्रति उत्तरदायी हुनका लागि प्रेरण प्रदान होला भन्ने सोचेका छौं ।’

वडाध्यक्षले मात्र जवाफ दिएको र वडा सदस्यहरुको सम्बन्धमा प्रश्न पनि नआएको हुँदा वडा सदस्यहरुले आफूप्रति वेवास्ता भएको गुनासो गरेका थिए । क्याम्पस प्रमुख पौडेल, पत्रकार मुकुन्द ढुंगाना र देवी घिमिरेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

यो वडामा अध्यक्ष र १ सदस्य नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका छन् । नगरपालिकामा रहेका ९ वटा वडामा ६ वटामा कांग्रेसका, २ वटामा तत्कालीन नेकपा एमालेका र एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वडाध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्