संविधानको सफल कार्यान्वयन मात्र पंगेनीप्रति सच्चा श्रद्धाञ्जली



नेपाल समाचारपत्र, काठमाडौँ ।

संविधानको सफल कार्यान्वयन भएमा मात्र स्वर्गीय कमल प्रसाद पंगेनी प्रति सच्चा श्रद्धाञ्जली हुने काँग्रेस नेताहरुले जनाएका छन् ।

नेपाली काँग्रेस स्याङ्जाका पार्टी सभापति एवं संविधानसभा सदस्य स्व पंगेनीको ४५ औँ पुण्यतिथिका अवसरमा काङ्ग्रेस स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा काँग्रेसका नेताहरुले संविधान निर्माणमा पनि पंगेनीको ठूलो योगदान र पसिना बगेको भन्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले स्व पंगेनीले काँग्रेस स्याङ्जाको सङ्गठनलाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै पंगेनीको अभावमा पनि स्याङ्जा काँग्रेस पङ्गेनीले चाहेजस्तै हुनुपर्नेमा जोड दिएका थिए ।

पंगेनी बिकासप्रेमी नेता भएको बताउँदै महामन्त्री कोइरालाले उहाँ आफ्नो क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र स्थानीयका लागि उत्तिकै काममा मन्त्रालय धाउने गरेको उल्लेख गरे । “बिपी कोइरालाले भनेजस्तै काङ्ग्रेस हेर्न स्याङ्जा जानुहोस् भन्ने सङ्गठन निर्माण गर्न तपाईंहरु लाग्नुहोस”, महामन्त्री कोइरालाले भन्नुभयो ।

काँग्रेस नेता प्रकाशमान सिंहले पार्टी रुपान्तरणका लागि अहोरात्र खट्ने नेता स्व पंगेनीको निधनले आफू निकै भावुक र स्तब्ध भएको भन्दै उहाँ जनताप्रेमी नेता भएको भन्दै प्रशंसा गर्नुभएको थियो । अर्का नेता गोपालमान श्रेष्ठले बिपी कोइरालाको संविधानसभाबाट संविधान निर्माण गर्ने सपना पुरा भएको र बताउँदै संविधान कार्यान्वयन भए पंगेनीको सपना पूरा हुने बताउनु भएको थियो ।

काग्रेस नेता श्रेष्ठले भन्नुभयो “पङ्गेनीको नाममा स्याङ्जामा हृदयरोग केन्द्र स्थापना गर्नुपर्छ, जहाँ बेलाबेलामा मुटुको चेकजाच गर्न सकियोस् जसका कारण यस्तो अप्रत्यासित निधनलाई रोक्न सकियोस ।’’ आफू पंगेनीको सहयात्री भएकोले पंगेनीको सपना साकार पार्न सदैव लाग्ने प्रतिवद्धता पनि उहाले जनाउनु भएको थियो । सो अवसरमा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले स्याङ्जा काँग्रेसको सङ्गठन बलियो भए मात्र पङ्गेनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनु भएको थियो ।

कार्यक्रममा काङ्ग्रेस नेता धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, संविधान सभा सदस्य तथा पूर्वसांसद राजु थापा, मोहन पाण्डे, सम्पर्क समितिका सभापति देवीप्रसाद अर्याल, काँग्रेस स्याङ्जाका सचिव कुमार राना लगायतले पंगेनीको निधनप्रति गहिरो दुख व्यक्त गर्दै स्याङ्जामा रहेको गुट उपगुटको अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पंगेनीको सम्झनामा स्थापना गरिएको ‘स्वर्गीय कमल पंगेनी स्मृती प्रतिष्ठानमा’ पूर्व सांसद राजु थापा र मोहन पाण्डेले १ लाख ५१ हजार, नेपाली काग्रेस सम्पर्क समितिले १ लाख सहित अन्य विभिन्न व्यक्तिहरुले पनि सहयोग घोषणा गरेका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित र २ कार्यकाल जिल्ला सभापति भईसकेका पंगेनीको साउन २० गते स्याङ्जामा हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्