मेसीको च्याम्पियन्स लिगमा आठौं ह्याट्रिक



लन्डन, (एजेन्सी)
लियोनेल मेसीले ह्याट्रिक गर्दा च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले विजयी सुरुआत गरेको छ।

योसँगै च्याम्पियन्स लिगमा मेसीले आठौं ह्याट्रिक गर्दै नयाँ कीर्तिमानसमेत बनाए। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले डच क्लब पीएसभीलाई ४–० गोल अन्तरले हराएको थियो। समूह ‘बी’ मा रहेको बार्सिलोनालाई जिताउने क्रममा अर्जेन्टिनी स्टारले तीन गोल र ओस्माने डेम्बेलेले थप एक गोल गरेका थिए।

खेलको ३१औं मिनेटमा मेसीले फ्रि किकमार्फत दर्शनीय गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफमा भने बार्सिलोनाले थप ३ गोल गर्यो। ७४औं मिनेटमा फिलिपे कौटिन्होको पासमा डेम्बेलेले उत्कृष्ट गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो।

त्यसको तीन मिनेटपछि इभान राकिटिचको पासमा मेसीले गोल गर्दा बार्सिलोनाको अग्रता तेब्बर बन्यो। तर ७९ औं मिनेटमा उम्टीटीले दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो। एक खेलाडी कम भए पनि टोलीमा यसको असर भएन। मेसीले ८७औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

यसै समूहको अर्को खेलमा भने इटालियन क्लब इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामलाई पराजित गर्यो। घरेलु मैदानमा भएको खेलमा इन्टरले टोटनह्यामलाई २–१ गोलले हराएको हो। इन्टरले १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै जित हात पारेको हो।

खेलको ५३औं मिनेटमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सनले गोल गर्दै अग्रता दिलाएका थिए। तर ८५औं मिनेटमा इन्टरका माउरो इकार्डिले बराबरी गोल फर्काए। इन्जुरी समयमा माटिस भेकिनोले गोल गरेपछि इन्टर विजयी भयो। जितसँगै इन्टरले समेत तीन अंक जोडेको छ।

ह्याट्रिकमा मेसी अगाडि

पीएसभीविरुद्ध ह्याट्रिक गर्नुअगाडि मेसी र क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा ७÷७ ह्याट्रिक गरेका थिए। यो ह्याट्रिकपछि मेसीले रोनाल्डोलाई पछि पारेका छन्। मेसीले पहिलो ह्याट्रिक ८ वर्षअघि आर्सेनलविरुद्ध गरेका थिए। रोनाल्डोले भने २०१२ मा पहिलो च्याम्पियन्स लिग ह्याट्रिक आयक्सविरुद्ध गरेका थिए।

लिभरपुलसँग हार्यो पीएसजी

यूईएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ। समूह ‘सी’ अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पीएसजीलाई ३–२ गोलले हराएको हो। लिभरपुलको जितमा ड्यानियल स्टुरिज, जेम्स मिल्नर र रोबर्टो फर्मिनोले गोल गरेका थिए। पीएसजीका लागि मुनिर र क्लियन एम्बाप्पेले गोल गरेका थिए। खेलको ३०औं मिनेटमा स्टुरिजले गोल गर्दै लिभरपुलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि लिभरपुलले पाएको पेनाल्टीको अवसरलाई मिल्नरले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए। तर त्यसको चार मिनेटपछि नै पीएसजीका मुनिरले गोल गर्दै अग्रता २–१ मा झारे।

खेलको ८३औं मिनेटमा नेयमारको पासमा क्लियन एम्बाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर इन्जुरी टाइममा भान डाइकको पासमा फर्मिनोले गोल गरेपछि लिभरपुल विजयी भयो। घरेलु मैदानका फाइदा उठाउँदै लिभरपुलले तीन अंक जोड्न सफल भयो। यसै समूहको अर्को खेलमा रेड स्टार र नेपोलीले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे।

यसै गरी समूह ‘डी’ मा गालाटासरेले लोकोमोटिभ मस्कोलाई ३–० ले हराउँदै विजयी सुरुआत गर्यो। टर्किस टोलीको जितमा ग्यारी रोड्रीग्वेस, एरेन डर्डीयोक र सेल्चुक इनानले गोल गरेका थिए। अर्को खेलमा एफसी साल्का र एफसी पोर्टोले १–१ को बराबरी खेले। साल्काले ब्रिल एम्बोलोको गोलमा अग्रता लिए पनि पोर्टोका ओताभियोले खेल बराबरीमा ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्