नेपाल पहिलो खेलमै हार्यो



नेपाल समाचारपत्र
काठमाडौं
थाइल्यान्डमा खेल्ने लक्ष्य लिएको नेपाली यू–१६ महिला राष्ट्रिय टोलीले पहिलो खेलमै हार बेहोरेको छ।

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत बुधबार भएको खेलमा आयोजक नेपाल फिलिपिन्ससँग ४–० ले हारेको हो। पहिलो खेलमै हारेपछि नेपालका लागि अन्तिम चरणमा पुग्ने सम्भावना कमजोर पनि बनेको छ। हल्चोकस्थित एपीएफको मैदानमा भएको खेलमा नेपाली चेलीहरु फिलिपिन्सका खेलाडीसँग खेलभरि नै बलका लागि संघर्ष गरेका थिए।

फिलिपिन्सको जितमा टोली कप्तान मारिया लाजोले २ गोल गरिन्। मारियाले दुवै गोल पहिलो हाफमा गरेकी थिइन्। उनले ४२औं मिनेटमा र पहिलो हाफ सकिन लाग्दा गोल गर्दै नेपाललाई पछि पारेकी थिइन्। दोस्रो हाफमा पनि २ गोल नेपालले आत्मसात गर्न पुग्यो। जसमा सिमोनसले ७५औं मिनेटमा र मिकाइला भिलासिनले ८५औं मिनेटमा गोल गरे।

यसअघि बिहान भएको खेलमा म्यानमारले मलेसियालाई ३–० ले हराएको थियो। टोलीको जितमा म्याट नोइ खिनले ह्याट्रिक गरेकी थिइन्। समूह ‘ई’ का खेल नेपालले आयोजना गरिरहेको छ। यो समूहबाट दुई टोली अन्तिम चरणमा पुग्नेछन्। यसैले पनि नेपालले शुक्रबार हुने खेलमा म्यानमारलाई पराजित गर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्