४९ करोडमा सकियो औद्योगिक क्षेत्रको डीपीआर



नेपाल समाचारपत्र
हेटौंडा
उद्योगको चाप र स्थानको माग बढ्दै गएपछि हेटौडा–१३ र १४ को मयुरधापमा स्थापना गर्न लागिएको औद्योगिक क्षेत्रको डीपीआर सकिएको छ। हेटौंडा औद्योगिक क्षेत्र नजिक २ सय १० बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो।

पूर्वमा मयुरधाप बस्ती, पश्चिममा कालापानी, उत्तरमा १६ नम्बर वडा र दक्षिणमा उत्तरपानी पर्ने चार किल्लाभित्र रहेको चुरे खहरेको उकास जमिनमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो। औद्योगिक क्षेत्रका लागि ऐलानी जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एक वर्षअघि पाइसकेको छ।

नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारी निर्णयसँगै उक्त स्थानमा करिब ४९ करोड लागतमा डीपीआर काम सम्पन्न भएको भन्दै वन मन्त्रालयको वातावरण शाखाबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भइरहेको औद्योगिक क्षेत्र व्यबस्थापनका महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताउनुभयो।

राजमार्गसँग जोड्न सडक पुर्याउन समस्या नहुने र बिजुली पनि सहजढंगले पुर्याउन सकिने भएकाले औद्योगिक क्षेत्र स्थापना गर्न उपयुक्त थलो रहेको हो। अनुत्पादक जग्गा उपयोगमा आउने र औद्योगिक क्षेत्रलाई आवश्यक पूर्वाधार उक्त स्थानमा निर्माण गर्न सहज छ। हेटौंडा औद्योगिक क्षेत्रनजिक रहेकाले पनि उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्न सहज भएको हो।

उक्त स्थान हेटौंडा मुख्य बजार क्षेत्रबाट करिब ७ किलोमिटर टाढा छ भने हेटौंडा–पथलैया सडकको हेटौंडा–९, पशुपतिनगरबाट करिब ३ किमीमात्र पश्चिममा पर्दछ।

२०७७ सम्ममा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको बस्नेतले बताउनुभयो। औद्योगिक क्षेत्रमा उत्पादनमूलक उद्योगलाई बढी प्राथमिकता दिइने उहाँको भनाइ छ। ठूला उद्योगका लागि ६२ वटा प्लट छुट्याइएको छ।

औद्योगिक क्षेत्रका उद्योगको रेखदेख, नियन्त्रण र मर्मतसम्भारको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लिएको छ। सबै क्षेत्रमा समानुपातिकरूपमा औद्योगिक क्षेत्र विकासले रोजगारी वृद्धि गर्ने, उत्पादन बढाउने र देशलाई औद्योगिकीकरणको दिशातर्फ लैजाने तयारीसाथ हेटौंडामा नयाँ औद्योगिक क्षेत्र स्थापना थालिएको औद्योगिक क्षेत्र व्यवस्थापन महाप्रबन्धक बस्नेत बताउनुहुन्छ।

उहाँका अनुसार असोजसम्म औद्योगिक क्षेत्रको कार्यालय खडा हुनेछ। प्रतिवेदन पास भएपछि औद्योगिक क्षेत्र वरिपर तार लगाउने, जग्गा सम्याउने र बिजुली सुविधालगायत प्रारम्भिक कार्य अगाडि बढ्नेछ।

सरकारले ५ वर्षभित्र १७ औद्योगिक क्षेत्र बनाउने भएको हो। सातै प्रदेशमा उद्योग विकास गर्ने उद्धेश्यले थप औद्योगिक क्षेत्र बनाउने तयारी सरकारले गरेको हो। उद्योग मन्त्रालयले तयार पारेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुसार ५ वर्ष अवधिमा प्रदेश नम्बर–३ मा २ वटा औद्योगिक क्षेत्र निर्माण गरिनेछ।

उक्त औद्योगिक क्षेत्र सञ्चालनमा आएपश्चात् प्रत्यक्षरूपमा करिब ७ हजारले रोजगारी पाउने अनुमान छ। हेटौंडामा २०२० सालमा अमेरिकी सरकारको सहयोगमा स्थापना भएको हेटौंडा औद्योगिक क्षेत्रले नयाँ उद्योगको माग थेग्न नसकेपछि सरकार नयाँ आद्यौगिक क्षेत्रको खोजीमा लागेको हो।

मयुरधापमा स्थापना हुने औद्योगिक क्षेत्रले हेटौंडाको महत्व अझ बढाउने मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष÷महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले बताउनुभयो। सरकारले संघीयताको नयाँ सीमांकनअनुसार विभाजन गरिएका सातै प्रदेशमा एक÷एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको हो।

नयाँ औद्योगिक क्षेत्र स्थापनापछि करिब ३० हजारले रोजगारी पाउने बताइएको छ। ‘औद्योगिकीकरणबिना मुलुक समृद्ध हुन सक्दैन,’ न्यौपानेले भन्नुभयो–‘औद्योगिक क्षेत्रको विस्तार नै औद्योगिकीकरणको शुरूवात हो। सरकारले हेटौंडा कपडा उद्योगको जमिनमा पनि नयाँ औद्योगिक क्षेत्र विस्तार गरेको छ।’

‘औद्योगिक गतिविधिका माध्यमबाट स्थानीयस्तरमा सन्तुलित आर्थिक विकास गर्ने तथा स्थानीय स्रोतसाधन र सीपलाई उद्योगधन्दातर्फ प्रवाहित गर्न सकिन्छ,’ केन्द्रीय सदस्य न्यौपानेले उद्योगमा सरकारले बिजुली, पानी, मोटरबाटो, शौचालय, बाल गृहजस्ता अत्यावश्यक सेवा सहुलियतरूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्