७ लाखको हाराहारीमा पर्यटकले नेपाल घुमे



नेपाल समाचारपत्र
काठमाडौैें
गत जनवरीदेखि अगस्ट महिनासम्म नेपाल आउने पर्यटकको संख्या ६ लाख ८० हजार ९ सय ९६ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ।अघिल्लो वर्षको सोही अवधिभन्दा १८ दशमलव २ प्रतिशले वृद्धि भएको हो।

पर्यटन बोर्डका अनुसार जुलाई महिनाको तुलनमामा अगस्टमा पर्यटकको संख्यामा वृद्धि भएको छ। १८ दशमलव ८ प्रतिशतले पर्यटकको संख्या वृद्धि भएको छ भने अगस्टमा ८७ हजार ६७९ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अघिल्लो महिना ६६ हजार ५ सय ३७ पर्यटक नेपाल आउका थिए।

बोर्डले अगस्टमा भारतबाट आउने पर्यटकको संख्यामा ३७ दशमलव ३ प्रतिशतको वृद्धि भएको जनाएको छ भने श्रीलंकाबाट आउने पर्यटकको संख्यामा ७४ दशमलव ५ प्रतिशतले वृद्धि भएको जनाएको छ।

बोर्डले दक्षिण एसिया एसियाली सहयोग संगठन (सार्क) बाट आउने पर्यटको संख्यामा भने उल्ल्ेख्य वृद्धि भएको छ जुन ४८ दशमलव ३ प्रतिशतले पर्यटको नेपाल आगमनमा वृद्धि भएको हो। चीनबाट आउने पर्यटकको संख्यामा पनि ६३ दशमलव ३९ प्रतिशलले वृद्धि भएको छ। यता नेपालको हवाई क्षेत्रको सीधा उडान हुन नसक्दा युरोपवाट आउने पर्यटकको संख्या उल्लेख्य मात्रमा वृद्धि हुन सकेको छैन्। युरोपबाट आउने पर्यटकको संख्यामा २१ दशमलव ३ प्रतिशत वृद्धि भएको छ भने अमेरिकाबाट नेपाल भित्रिने पर्यटकको संख्या वृद्धि दर भने १५ प्रतिशतमा रहेको छ।

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको छ। सोही वर्षलाई नेपाल भ्रमण वर्ष समेत घोषणा गरेको छ। सन् २०१७ मा हालसम्मकै धेरै ९ लाख ४० हजार २ सय २८ पर्यटक नेपाल भित्रिएका थिए। बोर्डले नेपालमा पर्यटक भित्र्याउनको लागि विभिन्न देशमा हुने पर्यटन प्रवद्धन गर्ने मेलामा सहभागीता जनाउँदै आएको छ।

यस्ता मेलामा सहभागी हुँदा नेपालको प्रचार प्रसार हुनुका साथै नेपालमा भित्रिने पर्यटककले गति लिने विश्वास नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुनील शर्माले बताउनुभयो। उहाँका अनुसार यस्ता मेलामा बोर्डले सहभागिता जनाउँदा तुरुन्तै प्रतिफल प्राप्त नभए पनि कालान्तरमा देशमा पर्यटक भित्र्याउन टेवा पुग्ने शर्माको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्